प्रदेश नम्बर २ : संघीय सरकारको टोलीले अनुगमन गर्दै भने– अब पुनःनिर्माणको कार्य हुने

प्रदेश नम्बर २ : संघीय सरकारको टोलीले अनुगमन गर्दै भने– अब पुनःनिर्माणको कार्य हुने

 

किरणकुमार कर्ण

जनकपुर, साउन १ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले तराई मधेशमा बाढीको प्रमुख कारण चुरे क्षेत्रको संरक्षण अभाव भएको बताएका छन् ।

प्रदेश नम्बर २ को ८ जिल्लामा अविरल वर्षाका कारण आएको बाढी अनुगमनको क्रममा उपप्रधानमन्त्री यादवले बाढीको स्थायी समाधान चुरे संरक्षण भएको बताए । 

उनले चुरे संरक्षण नहुँदा प्रत्येक वर्ष बाढीमा तराई त्राहिमाम हुने गरेको बताउँदै चुरे बचाउनुको विकल्प नरहेको जिकिर गरे । चुरे क्षेत्रमा बस्ती बसाउनु तथा सडक निर्माण गर्न पूर्ण प्रतिबन्ध लगाउनु नै बाढीको स्थायी समाधान रहेको उनको भनाई थियो । उनले प्रदेश २ को बाढी प्रभावित क्षेत्रका लागि तीन स्थानमा स्वास्थ्य शिविरको आयोजना गरिएको समेत बताए ।

प्रदेश नम्बर २ का प्रमुख सचिव दीपक सुवेदीसँग बाढीको प्रादेशिक अवस्था बुझ्दै गृहमन्त्री रामबहादुर थापा बादलले बाढीबाट भएको क्षतिको एकिन बिवरण आएपछि सरकारले राहत तथा पुनःस्थापनामा सघाउने बताए । सरकारले बाढी प्रभावित क्षेत्रमा छिट्टै पुनर्निर्माण कार्य सुरु गर्ने समेत उनले बताए । उनले चुरे पहाड क्षेत्र बिनासका कारण तराई मरुभूमिमा परिणत हुने अवस्थामा पुगेको बताए । उनले तराई मधेशको समस्यालाई नीतिगत रुपमा दीर्घकालीन सुधारका लागि सरकारले विपद् प्राधिकरणको थालनी गरिसकेको बताए । उनी चुरे पहाड क्षेत्रको अवस्थाप्रति निकै चिन्तित देखिए ।

गृहमन्त्रीको जवाफमा प्रतिपक्षी दल राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक अनिल झाले राहतमा सरकारले राजनीति गरेको आरोप लगाए । उनले सरकारलाई पटक पटक तराई मधेशको बास्तविक बाढी पीडितलाई ख वर्ग र अवास्तविकलाई क वर्गको राहत वितरण गरेको आरोप लगाए ।


बाढी प्रभावित प्रदेश २ को रौतहट, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा लगायतको निरिक्षण गर्न उपप्रधानमन्त्री यादवका साथमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, संसदको विकास समितिका सभापति कल्याणी खड्का, संघीय सांसद प्रभु साह, राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झा, कृषि राज्यमन्त्री रामकुमारी चौधरी लगायतको टोलीले बाढीले क्षति पुर्याएको अवस्था तथा राहत एवं उद्धार कार्यको अवलोकन गरे ।