मदुरो संवादको प्रयास गर्दा ट्रम्प सेना पठाउने तयारीमा

 मदुरो संवादको प्रयास गर्दा ट्रम्प सेना पठाउने तयारीमा

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले विद्यमान संकटको समाधान वार्ता र संवादबाट खोज्न प्रतिपक्षी नेता जुआन गुआइदोलाई आग्रह गरिरहेकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिक कारबाहीबारे तयारी गरिरहेको बताएका छन् ।

सीबीएसको फेस द नेशन कार्यक्रममा ट्रम्पले दिएको एक अन्तर्वार्तामा ल्याटिन अमेरिकी संकटको समाधानको विकल्प सैनिक कारबाही भएको बताए ।

मदुरोले ट्रम्पलाई पनि यसको समाधानबारे संवादबाट खोज्न आग्रह गरेको विषयमा कुनै प्रतिक्रिया नआएको भनिरहँदा ट्रम्पले सेना पठाउने जनाएका हुन् ।

मदुरोले केही महिना अघि वार्ताका लागि प्रस्ताव गरेको बताउँदै ट्रम्पले त्यो अस्वीकार गरिएको जनाए । भेनेजुएलाका निर्वाचित राष्ट्रपतिसँग कुनै बिन्दुमा कुराकानी हुनै नसक्ने बताउँदै ट्रम्पले भने “हामी यो वार्ता प्रक्रियाभन्दा धेरै टाढा पुगेका छौं । देशमा भयानक स्थिति बनेको छ । गरिबी, पीडा र अपराध जस्ता भयानक स्थित बनेको छ ।”

भेनेजुएलाको राष्ट्रिय सभामा प्रतिपक्षीहरूको बर्चस्व छ । त्यसको नेता गुआइदोले दुई साता अघि आफूलाई ‘अन्तरिम सरकार’को राष्ट्रपति घोषणा गरेका थिए । यो घोषणा भएपछि अमेरिकाले गुआइदोप्रति तत्कालै समर्थन जनायो । अमेरिकाको समर्थनपछि उसका ल्याटिन अमेरिकी र युरोपेली देशहरूले पनि भेनेजुएलाका स्वघोषित राष्ट्रपति गुआइदोप्रति समर्थन दिए ।

रूस, मेक्सिको र टर्की लगायत धेरै देशले यो समस्याको समाधान वार्ताबाट खोज्न आग्रह गरे । यो विषय भेनेजुएलाको आन्तरिक मामिला भएको बताउँदै ती देशले वार्ताबाट हल गर्न आग्रह गरेका थिए ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय कानुनका अधिकांश आधारभूत मूल्य र मान्यताहरूको समग्ररूपमा उल्लंघन गर्ने गरी ध्वंसात्मक बाह्य हस्तक्षेपको कारण भेनेजुएलामा राजनीतिक संकट उपस्थित भएको बताए ।

गत साता अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले कोलम्बियामा पाँच हजार सैनिक रहेको प्रतिक्रिया दिएपछि अमेरिका सैनिक तयारीमा रहेको देखिएको थियो ।

यसका साथै अमेरिकाले गुआइदोको फक्रिन लागेको सरकारलाई मानवीय सहयोग अन्तर्गत २करोड अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको थियो ।

भेनेजुएलामा उच्च मुद्रास्फितिको अवस्था गत वर्षदेखि बढदै गएको छ । तेलको मूल्यमा गिरावटले त्यहाँको अर्थतन्त्रमा संकलन हुन राजस्व घटेको छ ।