डिजिटल अर्थतन्त्रको नेपाली झुकाव
संविधान घोषणा भएर सम्पन्न भएका तीन तहको निर्वाचनपश्चात् बनेको संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको पहिलो सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा तय गरेको छ ।
भाषा जेसुकै हुन सक्छ तर अब आउने हरेक सरकारले ल्याउने नाराको चुरो योभन्दा अलग होला भन्न सकिंदैन ।
भलै यो उद्देश्य र बाटो आउने सरकारहरूले अलि फरक प्रकारले बनाउन सक्ने मात्र होला । नेपाल गरिब देशहरूको श्रेणीमा रहेकोले यसबाट उकासिनु भनेको समृद्धिको बाटोमा लानु नै भएकाले आउने सबै सरकारले बोल्ने भाषा फरक होला तर नारा भनेको समृद्ध नेपाल र सुखी नेपाली नै हुनेछ ।
यसको लागि आर्थिक कारोबारको विस्तार हुनुपर्छ । त्यो भनेको अर्थतन्त्रको विस्तार हो । अर्थतन्त्रको विस्तार गरिरहँदा हाम्रो अर्थतन्त्रको मौलिकता कृषि, पर्यटन र जलसम्पदाका आधारलाई बिर्सिन हुँदैन ।
तर यसका अतिरिक्त बिर्सिनै नहुने गरी विश्वमा विकास भइरहेको विषय प्रविधि (टेक्नोलोजी) हो ।
गरिब भएर मात्रै टेक्नलोजीको विकासमा बाधा पर्ने भए चीनले प्रविधिको क्षेत्रमा विकास गर्न सक्ने थिएन ।
प्रविधिको विकास भएको र सबैभन्दा शक्तिशाली देशको रूपमा स्थापित अमेरिकाले चीनको प्रविधिको विकासप्रति चकित र इष्र्यालु भएको छ ।
अहिले अर्थतन्त्र डिजिटलमा आधारित अर्थतन्त्रको रूपमा विकास भइरहेको छ । तर यसलाई कसरी विकास गर्ने विषयको सोचाइ महत्वपूर्ण रहेको छ ।
यसका लागि छिमेकी चीनका दृष्टान्तलाई मनन गर्नुपर्ने आवश्यकता नेपालका लागि रहेको छ । नेपालको विशाल छिमेकी भारतले चीनका दृष्टान्तलाई पछ्याउन थालेका बेला त्यसबारे सोच्नु अस्वाभाविक भने हुने छैन । गरिबी समाप्त पार्नुपर्ने नेपालको अर्थतन्त्रको चुनौती रहेझै चीनको चुनौती पनि गरिबी समाप्त पार्नु रहेको छ । यसका लागि चीनले एक मोबाइल गेमको निर्माण गर्ने भएको छ । अर्थतन्त्रको यो उद्देश्य प्राप्त गर्न चीनले डिजिटल अर्थतन्त्रको उपयोग गर्न खोजेको छ ।
चिनियाँ सरकारले सन् २०२० सम्म गरिबी हटाउन एक मोबाइल गेमको नवप्रवर्तन (इनोभेशन) अन्तर्गत निर्माण गरेको छ ।
यो मोबाइल गेमले मनोरञ्जनका साथै गरिबी हटाउने उपायको समेत काम गर्ने भएको छ । यो खेलले देशको ठूलो हिस्सालाई आकर्षित गर्नेछ । यो गेम खेल्नेहरूलाई क्रेडिटको सुविधा प्राप्त हुनेछ । यो क्रेडिट सुविधाबाट चिनियाँ किसानले उत्पादन गरेका वस्तु खरीद गर्न पाइन्छ । यो गेम बनाउन त्यहाँको गरिबी निवारण कार्यालयले म्यासेजिङ च्याट एप वी च्याटसँग मोबाइल गेम बनाउने सम्झौता गरेको छ ।
यो प्लेटफार्मबाट गेम खेल्नेहरूलाई प्राप्त हुने क्रेडिट सुविधा डिस्काउन्ट कुपनको रूपमा गरिनेछ । यस्ता कुपनको प्रयोग गरी इ–कमर्श प्लेटफर्मबाट स्थानीय किसानले उत्पादन गरेका चामल र फलफूल खरीद गर्न सकिनेछ । यसबाट किसानको आम्दानीमा बृद्धि हुनेछ ।
यसको परीक्षण योजना युनान प्रान्तको योङशेङ, हुनानको पिङजियाङ र साङसीको फेङसी काउन्टीमा गरिने भएको छ । चीन सरकारले देशबाट गरिबी हटाउन निरन्तर प्रयास गरिरहेको छ ।
२०१९ मा चीनको ग्रामीण क्षेत्रबाट १ करोड ३८ लाख मानिस गरिबीबाट मुक्त भइसकेका छन् । २०१२ मा ९ करोड ८९ लाख गरिब रहेका थिए । चिनियाँ सरकारले सन् २०२० सम्म गरिबी समाप्त गर्ने लक्ष्य लिएको छ ।
चीनका लागि यो त्यसै भएको भने होइन ।
सन् २००० को दशकमा चीनमा साँस्कृतिक तथा राजनीतिक घरानियाँहरू सक्रिय भएको देखियो । उनीहरूले ‘सफ्ट पावर’को अवधारणालाई अगाडि बढाउने उपायबारे बहस गरे र अगाडि बढाए ।
सफ्ट पावर भन्नुको अर्थ आफूप्रति अरूलाई तान्नु हो वा आफ्नो प्रभावमा अरूलाई पार्ने क्षमताको विकास गर्नु हो । सन् २०१०मा त्यहाँको साँंस्कृतिक सफ्ट पावरलाई सहयोग गर्न वैकल्पिक शक्तिको रूपमा चिनियाँ मुद्रा बलियो भयो । त्यसपछि घरानियाँहरूबीच ‘बलियो साँंस्कृतिक शक्ति’को अवधारणाबारे छलफल हुन थाल्यो ।
यसले परमाणु हतियार, पनडुब्बी, कूल गार्हस्थ्य उत्पादन र आर्थिक बृद्धिको मापन गर्ने विधिको विकासको बाटोमा चीनलाई डो¥यायो । अनि मात्रै विश्व चीनतर्फ आकर्षित हुन थाल्यो । चीनमा ‘सफ्ट पावर’को विकास त्यसै भएको होइन । यसका लागि त्यहाँका स्थानीय नीतिहरू र नीतिकारहरू तथा विभिन्न प्रतिष्ठानहरूको योगदान त्यस्तै छ । कन्फ्युसियस प्रतिष्ठान, सिन्ह्वा र द चाइना ग्लोबल टेलिभिजनजस्ता भूमण्डलीकृत सरकारी सञ्चार माध्यम, खेलकुद, फिल्म, शिक्षा तथा सांँस्कृतिक क्षेत्रका उद्योगहरूको महत्वपूर्ण योगदान छ ।
यी उद्योगहरूमा अधिकांश सरकारको स्वामित्व रहेको छ । चीनको निजी क्षेत्र पनि द्रूत गतिमा अगाडि बढ्यो । विशेषगरी डिजिटल र हाइ टेक कम्पनीहरूमा उनीहरूको संलग्नता बढ्यो ।
चिनियाँ परिदृश्यहरूलाई विश्वमा चिनाउने काम र चीनको छवि सकारात्मकरूपमा पु¥याउने काम यस्ता कम्पनीहरूले गरेका थिए ।
उनीहरूले सामाजिक आमसञ्चार र सामाजिक बाणिज्यको क्षेत्रमा व्यापक बजार निर्माण गरे ।
यसक्षेत्रमा कूटनीतिक पहलको अगुवाइ गर्ने चिनियाँ टेक कम्पनीहरूमा बाइडु, अलिबाबा र टेन्सेन्टजस्ता मुख्य छन् । टिकटोक र टोउटियाओजस्ता बाइटडान्स, आइकियी, मेइतुआन, दिदी चुक्सिङ र पिनडुओदुजस्ता टेक कम्पनीहरूको भूमिका पनि महत्वपूर्ण छ ।
चीनको भूमिकालाई समुद्रपारीका देशहरूमा चीनबाहिर बस्ने चिनियाँहरूले चिनियाँ सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् ।
विश्व पुँजी बजार र शेयर बजारमा त्यस्ता सामाजिक सञ्जालका माध्यमबाट जोडिएका चिनियाँहरू राजनीतिक र सांस्कृतिकरूपमा जोडिएका छन् । राजनीतिक र सांस्कृतिकरूपमा ती चिनियाँहरूको व्यवहार रङ्गहीन र गन्धहीन हुन्छ । सामाजिक आयाममा चीनलाई सफ्ट पावरमा विकास गर्ने बाटो पहिचान गर्नु उनीहरूको सक्रियता हुन्छ ।
इन्टरनेट र मोबाइल फोनको बजारको आधारमा सबैभन्दा ठूलो चीनको बजार मात्रै नभएर सोसल मिडिया र सोसल कमर्शको क्षेत्रमा पनि चीन सबैभन्दा ठूलो छ ।
८० करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्तामध्ये ९८ प्रतिशत सोसल मिडिया र सोसल कमर्श मार्केटमा जोडिएका छन् । सोसल मिडियाको यो आधारले चीनका लागि विविध, समृद्ध र ठोस आधार तय गरेको छ । चीनको सोसल मिडियाको यो अवस्था विश्वमै अद्वितीय प्रकारको रहेको छ । चीनमा फेसबुक, इन्स्टाग्राम, युटयुब र ट्वीटर निषेध गरिएको छ ।
तर पनि चीनको सामाजिक सञ्चारका दुई खम्बाहरूमा वीच्याट र वेइबो रहेका छन् । सन्देश पठाउने प्लेटफर्मको रूपमा वी च्याट छ, जसको मासिक सक्रिय उपयोगकर्ता एक अर्बभन्दा बढी छन् ।
वेइबो माइक्रोब्लगिङ प्लेटफर्ममा ६० करोड उपयोगकर्ता छन् ।
यस्तै चिनियाँ इ–कमर्बका दुई ठूला कम्पनीको रूपमा अलिबाबा र जेडी डटकमका अतिरिक्त यस क्षेत्रमा यहाँ सयौं कम्पनीहरू छन् ।
चीनको डिजिटल अर्थतन्त्रमा जोडिएकाहरूको करिब ९० प्रतिशत वित्तीय कारोबार चीनका दुई ठूला डिजिटल पेमेन्ट प्लेटफर्महरूले गर्छन् । जसले गर्दा समाजलाई नगदहीन समाज (क्यासलेस सोसाइटी)को रूपमा विकास गरेको छ ।
राजनीतिक र सामरिकरूपमा बहुध्रुबीय हुन गइरहेको विश्वमा नेपाल र नेपालीको उपस्थिति महत्वपूर्ण हुन्छ । हामीले पनि मध्यम आयको देशमा फड्को मार्ने लक्ष्य लिएका छौं । यस्तोमा डिजिटल अर्थतन्त्रलाई बेवास्ता गरी अगाडि बढ्न सकिँदैन । यसको प्रयोग गरिबी निवारणका लागि आफ्नै प्रकारको साक्षरता बढाउने गरी शैक्षिक गुणस्तर बढाउने खालका गेमहरूको विकास गरी डिजिटल अर्थतन्त्रको अंगीकार गर्नुपर्छ ।
साथै डिजिटल अर्थतन्त्रले उत्पादन गर्ने प्रतिफलको वितरणलाई पनि पूर्वानुमान गरी ठोस गर्ने खालका उन्नत प्रविधिको विकास गर्न आफ्ना प्राविधिज्ञहरूलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता हुन्छ । नेपालको अर्थतन्त्रको डिजिटलीकरण कृषि, पर्यटन र जलस्रोतको आधारमा गर्नुपर्ने आवश्यकता बोध नै दुई उदीयमान अर्थतन्त्रबीचको तरूल अर्थतन्त्रको विकासको बोध गरेको ठहर्छ । समयबद्ध साप्ताहिकबाट
प्रतिक्रिया