सहकारी समृद्धि कि शोषणको साधन ?

सहकारी समृद्धि कि शोषणको साधन ?

काठमाडौं । सरकारले तीनखम्बे अर्थनीति अवलम्बन गरेपछि सहकारीप्रतिको आकर्षण थप बृद्धि भएको थियो । सहकारीमा आबद्ध लाखौं मानिस उत्साहित देखिएका थिए । सरकारले पनि सहकारीमार्फत् विकास र समृद्धिलाई अगाडि बढाउन सकिने विश्वाससहित नीतिगत विस्तार गर्दै गएको हो । कूल जनसङ्ख्याको ४५ प्रतिशतभन्दा बढी जनसङ्ख्याका लागि बैंक अनुकूल हुन नसकेकाले सहकारीको स्थान जनसमक्ष महत्वपूर्ण रहेको हो ं। त्यसले गर्दा पनि सहकारीका लागि आर्थिक क्रियाकलाप गर्ने धरातल पनि प्रशस्तै छ । गाउँगाउँमा सहकारीको सङ्ख्या र सदस्य पनि उल्लेख्य बृद्धि भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) केन्द्रीय संघमा नेपालका ७६ जिल्लाबाट प्रतिनिधित्व गर्ने करिब दुई हजार नौ बचत तथा ऋण सहकारी संस्थाहरू, ६३ वटा जिल्ला बचत तथा ऋण सहकारी संस्थाहरू आबद्ध छन् भने करिब २४ लाख व्यक्तिगत सदस्यहरू रहेका छन् । विगत करिब तीन दशकदेखि बचत तथा ऋण सहकारी अभियानमार्फत् समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर उकास्ने भन्दै क्रियाशील बचत तथा ऋण सहकारी संस्था र संघहरूको राष्ट्रव्यापी प्रतिनिधित्व गर्ने संस्था नै खडा भएको छ ।

सहकारी विभागका अनुसार राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंकका साथै २० वटा विषयगत केन्द्रीय सहकारी संघ दर्ता भएका छन् । यसैगरी जिल्ला संघ र विषयगतका जिल्ला संघहरू गरी तीन सय छन् । २० वटा केन्द्रीय संघमध्ये १३ वटामात्र कृषिसँग सम्बद्ध छन् । जसमध्ये दुग्ध, कृषि, तरकारी, फलफूल, चिया, कफी, उखु, मौरीपालन, जुनार, जडिबुटी, माछापालन र पशुपंक्षी पालन, बिऊविजन, सुपारी संघ छन् । सात वटा मात्र अरू विषयका छन् ।

नेपालमा सहकारी क्षेत्रले कूल गार्हस्थ उत्पादनमा करिब पाँच प्रतिशत र कूल वित्तीय क्षेत्रको २० प्रतिशत अंश ओगटेको मानिएको छ । ६३ लाख सदस्य सङ्ख्या रहेको बताइन्छ । तर, यो अत्यन्त अव्यवस्थित र मनोमानी ढङ्गले चलेको छ । २०७५ साल साउन १ गतेबाट सहकारी संस्थाको नियमन कार्य स्थानीय सरकारले समेत गर्ने भनिए पनि त्यो प्रभावकारी हुन सकेको छैन ।

सहकारी नेपालको परापूर्वकालदेखिको सामाजिक मूल्य र संस्कृति हो । यसलाई औपचारिक रूपमा तेस्रो आवधिक योजनादेखि व्यवस्थित बनाउने प्रयास थालियो । सहकारीको उद्देश्य आर्थिक दृष्टिबाट निर्बल व्यक्तिलाई आर्थिक गतिविधिमा जोडेर माथि उठाउनु हुन्छ । सहकारी सामाजिक संगठनको प्रणाली हो । यो एकता, मितव्ययिता, लोकतन्त्र, न्याय एवम् स्वतन्त्रतामाथि आधारित हुनुपर्छ । यसले समाजलाई व्यक्तिगत स्वार्थबाट सार्वजनिक सेवातर्फ लैजान्छ । अस्वस्थ प्रतिस्पर्धा, व्यक्तिगत स्वार्थबाट माथि उठेर एकापसको सहयोगबाट सदस्यहरूको आर्थिक क्रियाकलापलाई सञ्चालन गर्नु यसको मूल विशेषता हो । तर, नेपालमा यस्तो भइरहेको छ त ?

वास्तवमा सहकारीमा पारदर्शिता र जवाफदेहिता खस्किएको छ । दलाल र कमिशनखोरका कारण सदस्यको नाममा विकृत धन्दा चलाउने काम भएको छ । सहकारी अपारदर्शी भएर नै केही सञ्चालकले अनुचित लाभ लिइरहेका छन् । सहकारीले आफनो हिसाब पारदर्शी ढङ्गले नराख्ने र शेयर तथा घरजग्गामा लगानी गर्ने कार्य बढ्दै गएको छ । यसले गर्दा सहकारीको मर्म तथा आधारभूत सिद्धान्तलाई बन्ध्याकरण गरेको छ ।

सहकारीमा संस्थागत निर्णयभन्दा पनि व्यक्तिको निर्णय हाबी भएकाले निहित व्यक्तिले सहकारीलाई कम्पनीजस्तो गरी चलाएकाले सहकारीको बद्नाम भएको छ । आफनो अनुकूल संस्था चलाउने परिपाटीले सहकारीमा समस्या बल्झिंदै गएको छ । समृद्धिको खम्बाका रूपमा विश्वास गरिएको सहकारीबाट जनताले लाभ लिन सक्ने अवस्था छैन ।

संस्थागत नैतिकताबाट सहकारीलाई विचलन गराएर सदस्यमैत्री हुनुभन्दा पनि गैरसदस्य कारोबारलाई जोड दिने गरिएको छ । पछिल्ला दिनमा सदस्यसँगको कारोबारभन्दा पनि मध्यस्थकर्ताको माध्यमबाट ब्याजको लोभ देखाई निक्षेप सङ्कलन गर्ने परिपाटी सहकारी क्षेत्रमा विकास भएको छ । यसले गर्दा सहकारी क्षेत्रकै बद्नाम मात्र भएको छैन, पूरै अर्थतन्त्रमा विष भर्ने काम भइरहेको छ ।

सहकारीभित्र देखिएको महारोग भनेको हचुवाको भरमा ब्याज दर निर्धारण हो । सहकारीले लिने र दिनेको ब्याज दरमा पनि आकाशपाताल छ । स्पष्ट मापदण्ड नबनाई ब्याजको आकर्षक प्रलोभन देखाई अरूबाटै निक्षेप लिने र आफना सदस्यको ढाडै सेक्ने कार्य सहकारीले गर्दै आएका छन् । सहकारीको सिद्धान्त विपरीत भएका कर्मका कारण पनि यो क्षेत्र बद्नाम भएको छ ।

विगतमा धेरै सहकारी धरापमा परेका छन् । आगामी दिनमा पनि ठूलो जोखिम भनेको बिनाधितो कर्जा प्रवाह हो । यो क्रम बढ्दो छ । यसले आगामी दिनमा सहकारीमा ऋण व्यवस्थापनको जोखिम हुने देखिएको छ । कतिपय सञ्चालक आफैले एवम् नातेदार या नक्कली ऋणी खडा गरी ऋण दिने गरेकाले पनि कर्जा सुरक्षा हुन सक्ने अवस्था छैन । अर्कोतर्फ सहकारीले निक्षेपका रूपमा सङ्कलित रकमलाई आफूखुुशी चलाउने परिपाटी छ । निजी सम्पत्तिजस्तो गरी निक्षेप व्यक्तिगत व्यवसायमा प्रयोग गर्दा सहकारी जोखिममा परेको देखिन्छ ।

अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्ने परिपाटीका कारण सहकारी क्षेत्रमा थप जोखिम आउने देखिएको छ । घरजग्गा लगायतका अनुत्पादक क्षेत्रमा लगानी गर्ने, ऋण व्यावसायिक प्रयोजनभन्दा पनि व्यक्तिगत प्रयोजनमा प्रयोग हुन थालेपछि सहकारीमा समस्या बढ्दै गएका उदाहरण प्रशस्तै छन् । त्यसैगरी सहकारीमा देखिएको अर्को रोग असमानता पनि हो । अधिक र न्यून तरलता पनि चुनौतीको रूपमा सहकारीमा छ । कतै लगानी गर्ने ठाउँ नपाई पैसा थुप्रिएको हुन्छ भने कतै माग अनुसार लगानी हुन सकिरहेको छैन ।

सहकारीको गैरबैंकिङ सम्पत्तिमा बृद्धि हुने परिपाटी छ । बैंकिङ च्यानलभन्दा पनि गैरबैंकिङ च्यानलबाट कारोबार हुने भएकाले सहकारी क्रोनिक रोगले ग्रस्त हुँदै गएको छ । सहकारीका सञ्चालक, व्यवस्थापक तथा कर्मचारीमा वित्तीय जानकारी नभएकाले पनि थप समस्यामा पैदा हुँदै गएको देखिन्छ । 

पारस्परिक सहयोग, त्याग, आत्मनिर्भरता, पारदर्शिता र मितव्ययिता आदि गुणले भरिपूर्ण हुनुपर्ने सहकारी संस्थामा सबैतिरबाट रोगले गाँजेपछि समस्या झनै बढ्दै जाने पक्का छ । पुँजीवादी र समाजवादी दुबै व्यवस्था सहकारीमाथि आधारित हुन्छन् । यसमा व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्दै आर्थिक समृद्धि तथा समाज कल्याणको लक्ष्य प्राप्त गरिन्छ भन्ने आधारलाई ध्यानमा राख्न सकियो भने यो क्षेत्र दिगो हुन सक्छ अन्यथा सहकारी पीडादायी, विकृतिको झुण्ड बन्न जान्छ ।

सहकारीको उच्चतम् अभ्यासबाट समाजवाद स्थापना गर्न सकिन्छ भन्ने विश्वास गरिन्छ । कर्तव्यनिष्ठ सदस्य र सिद्धान्तनिष्ठ सहकारी गतिविधि आर्थिक क्रियाकलापका लागि महत्वपूर्ण हुन्छ । यहींबाट समता, आत्मविश्वास, व्यावहारिक एवम् नैतिक गुणहरूको विकास हुन सक्छ । यसले गर्दा सहकारी समाज र राष्ट्रको समृद्धिका लागि आवश्यक छ ।

सहकारी संगठन लाभको भन्दा पनि सेवाको भावनाबाट उत्प्रेरित हुनुपर्छ । यो नैतिक उत्थान, इमान्दारिता, सहयोगी भावनाका साथ सामाजिक तथा आर्थिक आन्दोलन हुनुपर्छ । यसमा सामाजिक सम्पत्तिको बाँडफाँड एक निश्चित न्यायपूर्ण प्रणालीमा आधारित हुनुपर्छ । अनिमात्र सहकारीको अस्तित्व रहन्छ र समाज समृद्ध हुन्छ । होइन भने यसले धेरै ठूलो असमानता र विकृति निम्त्याउँछ । 

हामीकहाँ सहकारी क्षेत्रमा तमाम समस्या देखिएका छन् । सहकारीको क्षेत्रबाट हुनसक्ने ठूलो दुर्घटनाबाट बचाउनका लागि निकै कडाइपूर्वक नियमनको खाँचो छ । जनताको पैसाको ठीक ढङ्गले सदुपयोग भयो कि भएन भन्ने जाँचपडताल अहिलेदेखि नै गर्नुपर्छ । वित्तीयभन्दा पनि उत्पादन सहकारीमा जोड दिएमा सदस्यले प्रत्यक्ष लाभ लिन सक्नेछन् । समयबद्ध साप्ताहिकबाट