कांग्रेस नेता मोहनबहादुर बस्नेतको खातामा सम्पत्ति शुद्धीकरण विभागले भेट्टायो ६१ करोडको 'कालो धन' 

कांग्रेस नेता मोहनबहादुर बस्नेतको खातामा सम्पत्ति शुद्धीकरण विभागले भेट्टायो ६१ करोडको 'कालो धन' 

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ बराबरको ‘कालो धन’ फेला परेको छ ।

बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पति प्रणामी बचत तथा ऋण सहकारी संस्थामा रहेको फेला परेपछि सम्पत्ति शुद्धीकरण विभागले छानबिन थालेको हो ।

सहकारीले पूर्वमन्त्री बस्नेतका नाममा रहेको सो निक्षेपको स्रोत नदेखिएपछि नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी एकाइमा पठाएको थियो ।

वित्तीय जानकारी एकाइले सम्पत्ति शुद्धीकरण विभागमा सो जानकारी पठाएर अनुसन्धानका लागि आग्रह गरेपछि विभागले अनुसन्धान थालेको हो ।

पछिल्लो समयमा सहकारीमा पनि कालो धन हुनसक्ने भन्दै सहकारी विभागले २०७४ मा माघ १५ गते सम्पत्ति शुद्धीकरण निर्देकिा लागू गरेको थियो । सो निर्देशिकाबमोजिम एकैपटक ३० लाखभन्दा बढी रकम कोही कसैले राखेको पाइएमा वित्तीय जानकारी एकाइमा सूचना दिनुपर्ने हुन्छ ।