केन्या पुर्याइएका एक दर्जन नेपाली महिलाको उद्धार

केन्या पुर्याइएका  एक दर्जन नेपाली महिलाको उद्धार

काठमाडौ । केन्या डान्स बारबाट गएको  अप्रिलमा उद्धार गरिएका १२ नेपाली महिलालाई नेपाल ल्याइएको छ ।

अप्रिल १३ तारिखका दिन केन्याका अधिकारीहरूले न्यू रंगीला बार एन्ड रेस्टरन्टमा बिहान ४ बजे छापा मारेको थियो ।

केन्याको राजधानी नौरोबीबाट ४८५ किलोमिटर टाढा रहेको यो बारमा नेपाली महिलाले त्यहाँ जानेहरूलाई मनोरञ्जन गराउन राखेकी थिइन् ।

अवैध मानव ओसारको आंशकामा यो छापा गरिएको थियो । क्यानेडियाली नागरिक असिफ अमिराली अलिभाइ जेठाले यो बार सञ्चालन गरेका थिए ।

उनलाई पनि पक्राउ गरिएको थियो ।

उनीहरूलाई कतार एयरवेजबाट नेपाल ल्याइएको हो । नैरोबीबाट दोहा हुँदै उनीहरूलाई काठमाडौ ल्याइयो ।

त्रिभुवन विमानस्थलमा मानव ओसार पसारको विषयलाई हेर्ने नेपाल प्रहरीका अधिकारीहरूलाई उद्धार गरी नेपाल ल्याइएका महिला जिम्म लगाइएको थियो । महिलाहरू सबैले अनुहार छोपेर आएकी थिइन् ।

परिवारलाई जिम्मा लगाउन अघि उनीहरूसँग आवश्यक सोधपुछ गरिनेछ । उद्धार गरिएकाहरूमा सबैभन्दा बढी उमेरकी ३७ वर्षकी रहेकी छिन् भने कम उमेरकी १९ वर्षकी छिन् ।

नेपाल आउन अघि केन्याको प्रहरीले अनुसन्धान गरेको थियो । बार मालिक जेठा विरूद्ध मानव ओसार पसारको अवैध कारोबार गरेको अभियोग लगाइएको छ ।