भारतसँग कूटनीतिक पहल गरी नदीहरुमा बाँध बनाउनुपर्छ : सभापति देउवा

भारतसँग कूटनीतिक पहल गरी नदीहरुमा बाँध बनाउनुपर्छ : सभापति देउवा

सिरहा, ३ साउन । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग ठोस कूटनीतिक पहल गरी वर्षेनी डुबानमा पर्दै आएका नदीहरुको नियन्त्रण गर्नुपर्ने बताएका छन् ।


कमला नदीको बाढी प्रभाबित सिरहाको बिभिन्न स्थानका पीडितहरुको अवस्था अवलोकनपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले तराई मधेश भएर बग्ने नदीको कुनै न कुनै रुपमा कनेक्सन छिमेकी मुलुक भारतसँग रहेकाले कूटनीतिक पहल गरी त्यस्ता नदीहरुको नियन्त्रणका लागि बाँध निर्माण गर्नुपर्ने बताए । 


वर्षाको बेला गाउँवस्ती बगाउने यहाँको नदीले भारतका गाउँहरु पनि डुबाउने गरेको हामीले सुनेकै छौ देउवाले भने –“दुवै देशले एकले अर्कालाई अफ्ठ्यारो नपार्ने गरी बाँध निर्माण गर्नुमा नै दुवै देशको भलो हुन्छ ।”

कमला नदी नियन्त्रणका लागि बनाइएका बाँधहरु कमजोर र निकै पुराना भएकाले यस्तो विपद् आइपरेको कारण बाँध निर्माणका सवालमा सरकार गम्भीर हुनुपर्ने धारणा उनले राखे ।


बाँधहरु निर्माणका क्रममा कुनै न कुनै रुपमा भ्रष्टाचार र कमिशनको खेल चलेकोले बाँध निकै कमजोर देखिएकाले यसका लागि छानवीन गर्न एउटा छुट्टै आयोग गठन गर्नुपर्ने बताए । 


उनले बाढीपीडितहरुलाई चाहिने राहत र उद्धारमा राज्यतर्फबाट कमी आएको उल्लेख गर्दै राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न सरकारसमक्ष आग्रह गरे ।

बाढीपीडितको राहतको लागि नेपाली काँग्रेसले संघीय संसद तथा प्रदेशसभाका सबै सांसद तथा सदस्यहरुबाट पाँच दिनको तलब राहत स्वरुप बाढीपीडितहरुलाई प्रदान गरिने जानकारी दिए ।

उनले बाढीपीडितहरुको सहयोगको लागि नेपाली काङ्ग्रेसका गाउँदेखि जिल्ला तहसम्मका नेता कार्यकर्ताहरुलाई खट्न निर्देशन दिइसकेको बताए ।

बाढीपीडितहरुको अवलोकन गर्ने क्रममा धनुषाबाट सिरहा आएका पूर्व प्रधानमन्त्री देउवाले कमला नदीको मूल बाँधका साथै सिरहा, कर्जन्हा र कल्याणपुर नगरपालिका तथा सुखीपुर नगरपालिकाका बाढीग्रस्त क्षेत्रहरुको अवलोकन निरीक्षण गरेका थिए ।