कांग्रेसको महाधिवेशन अनिश्चयको दिशामा

कांग्रेसको महाधिवेशन अनिश्चयको दिशामा

 काठमाडौं । विधानद्वारा निर्धारित समयावधिभित्र पार्टीको १४औं महानिबेशन गराउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असफल भएका छन् । नेपाली कांग्रेसको विधान अनुसार एउटा महाधिबेशनद्वारा  चुनिएका प्रतिनिधिहरुको कार्यकाल चार वर्षको हुन्छ । नेपाली कांग्रेसको १३औं महाधिबेशन २०७२ फागुनमा सम्पन्न भएको हो । यस हिसावले आगामी फागुनभित्र १४औं महाधिबेशन गरिसक्नु पर्ने हुन्छ । तर,   महाधिबेशन टार्दै आफ्नो पद लम्व्याउने सभापति देउवाको रणनीतिका कारण  आगामी फागुनभित्र १४औं महाधिबेशन असम्भव देखिएको छ । 

 यही असार २२ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सभापति देउवाले निर्धारित समयभित्र महाधिबेशन सम्पन्न हुन नसक्ने भन्दै एक वर्ष कार्यकाल थप्ने प्रस्ताव राखेका छन् । काबु बाहिरको परिस्थितिका कारण महाधिबेशन हुन सकेन भने एक वर्ष म्याद थप गर्न सकिने प्रावधान पार्टी विधानको वाधा अड्काउ फुकाउने धारामा छ । यही धारा प्रयोग गरी म्याद थप्ने प्रस्ताव सभापति देउवाले केन्द्रीय समितिको जारी बैठकमा दर्ज गराएका हुन् । तर, थपिएको एक वर्षको म्यादभित्र सभापति देउवाले  १४औं महाधिबेशन गराउलान भन्ने कुरामा भने संस्थापन इतर पक्ष  सशंकित छ । इतर पक्षका एक नेताले भने– ‘सभापति देउवा जुन रणनीति अनुसार अघि बढेका छन्, त्यसलाई विश्लेषण गर्ने हो भने एक वर्ष मात्रै होइन तीन वर्ष म्याद थपे पनि महाधिबेशन हुँदैन ।’ 

कसरी पर्छ संकटमा ?

 इतर पक्षका नेता डा. शेखर कोइरालाले आफ्ना निकटस्थहरुसँग बताए अनुसार अबको एक वर्षभित्र १४  औं महाधिबेशन भएन भने चार वर्ष पछि धकेलिन्छ । २०७८ मंसीरमा स्थानीय निर्वाचन, २०७९ बैशाखमा प्रदेश सभा निर्वाचन र २०७९ मंसीरमा प्रतिनिधिसभाको निर्वाचन हुन्छ ।  २०७७ भित्र नेपाली कांग्रेसले १४औं महाधिबेशन गर्न सकेन भने  स्थानीय निर्वाचनको पूर्व तयारीका लागि समय पुग्दैन, साथै स्थानीय निर्वाचनको मुखमा पार्टीको महाधिबेशन गर्ने हो भने घात अन्तर्घात बढ्छ, त्यसैले  २०८० साल बैशाखमा मात्रै १४औं महाधिबेशन गर्नुपर्ने हुन्छ । 

 डा. शेखर कोइरालाले भनेझै  १४औं महाधिबेशनको मिति चार वर्षपछि धकेल्ने र आगामी तीन वटै ठूला निर्वाचनमा आफैले टिकट बाँड्ने रणनीतिमा सभापति देउवा छन् भन्ने विश्लेषणमा नेपाली कांग्रेसका अधिकांश विश्लेषकहरु छन् । देउवामाथि शंका गर्नुपर्ने चार कारण रहेको उनीहरु बताउँछन् ।

 पहिलो कारणः  आरजु देउवाद्वारा अभिलेख गायव । २०४८ सालदेखि नेपाली कांग्रेसले क्रियाशील सदस्य तथा  सबै समितिहरुको अभिलेख केन्द्रीय कार्यालयमा दुरुस्त राख्ने गरेको थियो । तर १३औं महाधिबेशनद्वारा देउवा सभापति बनेपछि त्यो अभिलेख एकाएक गायव भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत देउवा पत्नी आरजु राणाले उक्त अभिलेखहरु कम्पुटराइज गर्ने भन्दै आफ्नो निवास बुढानिलकण्ठ लगेकी थिइन् । तर ती अभिलेख उनले गायव बनाएकी छिन् । पुराना अभिलेख गायव भएपछि क्रियाशिल सदस्यता नवीकरणमा ठूलो विवाद हुने निश्चित छ । यो विवादले महाधिबेशनको मिति पछि धकेलिने पनि निश्चित छ ।  

 पार्टी केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता अभिलेख मात्रै पार्टीका बुथ प्रतिनिधि, वडा समिति, गाविस तथा नगर समितिको सूचि पनि छैन । जसको कारण कांग्रेसको संशोधित विधानको दफा ७२ को उपदफा (४) को प्रावधान बमोजिम संघ, प्रदेश निर्वाचन क्षेत्रीय समितिदेखि स्थानीय तह र वडासम्म अन्तरिम कार्यसमिति गठनको मुख्य आधार अहिलेसम्म पार्टीले पाउन सकेको छैन । पार्टीको १३औं महाधिवेशनमा सहभागी पार्टीका वडा, गाउँ, नगरपालिका र क्षेत्रीय प्रतिनिधिहरुको नामावलीको सूचि अहिलेसम्म पार्टीको कुनै निकायमा नभेटिएपछि पार्टीको अन्तरिम कार्यसमिति कसरी चयन गर्ने भन्ने सकस उत्पन्न भएको हो ।

यो अभिलेख जबसम्म फेला पर्दैन तबसम्म विधानको अन्तरिक प्रावधान बमोजम वडा समिति र पालिका समिति गठन सम्भव छैन । जबसम्म वडा तथा पालिका समितिहरु गठन हुँदैनन् तबसम्म क्रियाशील सदस्यता नवप्करण तथा वितरणको काम अघि बढ्दैन । महाधिबेशन हुनुभन्दा कम्तिमा एक वर्ष अघि क्रियाशील सदस्यता नविकरण तथा वितरणको काम सम्पन्न गरिसक्नु पर्ने विधानमा व्यवस्था छ । 

 दोस्रो कारणः  अभिलेख हराएको छ महिना वितिसकेको रहेछ । यसको जानकारी हुँदा पनि सभापति देउवा चुप लागेर बसे । विकल्प खोज्नेतिर लागेनन् । किनकि अभिलेख खोज्ने विकल्प पनि छ । वडा र क्षेत्रीय बुथ प्रतिनिधिहरुको नामावलीको अभिलेख सम्बन्धित जिल्ला कार्यसमितिमा पनि हुन्छ । त्यहाँबाट केन्द्रलाई उपलब्ध गराउन सभापति देउवाले निर्देशन दिन सक्थे तर दिएका छैनन् । महाधिबेशन टार्ने नियतकै कारण देउवाले मुख्य सचिव पौडेल र पत्नी राणालाई प्रयोग गरेर अभिलेख गायव बनाइदिएको आशंका इतर पक्षले गरेको छ ।

तेस्रो कारणः केन्द्रीय समितिको बैठक आसार २२ गते १ घण्टा बसेर ५ दिनका लागि अर्थात २७ गते सम्मका लागि स्थगित भयो । २७ गते केही घण्टा बसेर १० दिनका लागि अर्थात आगामी साउन ७ गतेसम्मका लागि स्थगित भयो । महाधिबेशनको मिति निर्धारण गर्ने तथा म्याद थप गर्ने जस्तो गम्भीर अजेण्डामाथि छलफल हुन गइरहेको बैठक सभापति देउवाले यसरी पर सार्दै लैजानुको मुख्य कारण १४औं महाधिबेशन चार वर्षपछि धकेल्ने नियत हो कि भन्ने आशंका धेरैले गरेका छन् ।

 चौथो कारण ः सभापति देउवाले यसै साता राष्ट्रिय जनता पार्टी नेपालका नेता महन्थ ठाकुरलाई आफ्नो निवास बोलाएर करिव तीन घण्टा भलाकुसारी गरे । यो भलाकुसारीपछि इतर पक्षका नेता डा. मीनेन्द्र रिजालले एक सार्वजनिक कार्यक्रममा बोल्दै भने– ‘सत्तारुढ नेकपामा  संकट उत्पन्न गराउने र उक्त पार्टी विभाजन भएपछि सत्तामा जाने रणनीतिमा नेपाली कांग्रेस रहेको हल्ला फिँजाइएको छ, तर जनताले पाँच वर्षका लागि प्रतिपक्षमा बस्ने म्याण्डेट दिएका छन्, यो म्याण्डेट उल्लंघन गर्ने पार्टीले पूरा पाँच वर्ष सरकार चलाउन सक्दैन, त्यसैले नेपाली कांग्रेस बरु मध्यावधि निर्वाचन चाहन्छ तर यसबीचमा सत्तामा जाँदैन ।’ 

देउवा र ठाकुरबीचको  भलाकुसारीपछि केही संकेत पाएर नै डा. रिजालले यस्तो अभिव्यक्ति दिएको चर्चा नेपाली कांग्रेसमा छ । समाचारस्रोतका अनुसार उक्त भेटघाटमा  देउवाले ठाकुरलाई भनेका थिए– ‘उपेन्द्र यादव र बाबुराम भट्टराईको पार्टीसँग राजपाको एकीकरण गरिहल्नोस्, सत्ता समिकरण परिवर्तन हुने संकेत देखेको छु ।’ 

यो तीन वर्षको अवधिमा एक पटक प्रधानमन्त्री बन्ने ग्यारेन्टी आफूलाई ज्योतिषीले समेत गरेको कुरा सभापति देउवाले बताउँदै आएका छन् ।  ज्योतिषीको सल्लाह अनुसार प्रधानमन्त्री बन्नका लागि हालै देउवाले  आफ्नो निवासमा सप्ताह, महायज्ञ समेत लगाएका छन् । त्यसकारण पनि महाधिबेशनको मिति चार वर्षपछि धकेल्ने रणनीतिमा देउवा रहेको विश्लेषण गरिएको छ । समयबद्ध साप्ताहिकबाट, ५ साउन, २०७६