अनुसन्धानको घेरा फराकिलो पार्न संशोधनको तयारी गर्दै अख्तियार

अनुसन्धानको घेरा फराकिलो पार्न संशोधनको तयारी गर्दै अख्तियार

काठमाडौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी अनुसन्धानको घेरा फराकिलो पार्न अख्यिार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८को संशोधन विधेयक र भ्रष्टाचार निवारण ऐन २०५९को संशोधन विधेयकको तयारी गरिरहेको छ ।

प्रस्तावित संशोधित विधेयकमा  अन्तर्राष्ट्रिय नियोग, वित्तीय कार्यालय र करपोरेट हाउसका कर्मचारीहरू समेतलाई अख्तियारको अनुसन्धानको दायरामा ल्याउन खोजिएको छ ।

अख्तियारको प्रस्तावित विधेयक पारित भएमा यस्ता क्षेत्रमा कार्यरत कर्मचारी भ्रष्टाचारमा संलग्न भएको आंशका भए उनीहरू विरूद्धको अनुसन्धान अगाडि बढाउन सक्ने क्षेत्राधिकार अख्तियारलाई प्राप्त हुने छ ।

यसो भएमा ठूला ठूला जलविद्युत परियोजना र बैंकका कर्मचारीहरू पनि अख्तियारको अनुसन्धानको दायरामा आउने अख्तियार स्रोतले जनाएको छ ।

यसका साथै विदेशी नागरिक र विदेशी संघसंस्था र तिनका सहयोगी संघसंस्थामा कार्यरत कर्मचारीहरू विरूद्ध भ्रष्टाचारको अनुसन्धान गर्न पाउने अधिकार यो प्रस्तावित विधेयकले दिने भएको छ ।

प्रस्तावित विधेयक संयुक्त राष्ट्रसंघको भ्रष्टाचार विरूद्धको सम्मेलनले लिएको लाइनसँग मेल खाने भएको अख्तियार स्रोतको भनाइ छ ।

राष्ट्रसंघको यो सम्मेलन २००३मा नेपाल पक्ष भएको थियो भने यो सन्धीलाई सन् २०११मा संसदले अनुमोदन गरेको थियो ।