नेकपाको एकता प्रकृया आज टुंगिदै, पूर्व माओवादीले स्कूलविभाग नछाड्ने

नेकपाको एकता प्रकृया आज टुंगिदै, पूर्व माओवादीले स्कूलविभाग नछाड्ने

काठमाडौं, ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक दउँसो १ बजेका लागि बोलाइएको हो । बैठकले एकता प्रकृयाका बाँकी काम टुंग्याउने एक सचिवालय सदस्य झिल्कोलाई बताए । 

पार्टी एकताका बाँकी काम टुंग्याउने गरी आज सचिवालय बैठक बस्न लागेको हो । पार्टी एकता प्रक्रियामा टुंगो लगाउनु पर्ने जिल्ला इन्चार्जहरु, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्चलगायतका विषयमा आजै सचिवालयले टुंगो लगाउने तयारी छ ।

सचिवालय बैठक बस्नुअघि आज बिहानदेखि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ को निवास खुलमटारमा पूर्वमाआवादी केन्द्रका नेताहरुबीच छलफल भएको थियो । सचिवालय बैठकअघि विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ (प्रकाश) र रामबहादुर थापा (बादल)बीच छलफल भएको हो ।

खुमलटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले स्कुल विभागबारे सहमति भइनसकेको ब्रिफिङ गरेका थिए । स्रोतले भन्यो, ‘स्कुल विभागमा अडान नछाड्ने सहमति भएको छ ।’स्कुल विभागमा तत्कालीन एमालेले रक्षामन्त्री ईश्वर पोखरेलको नाम अगाडि सारेको छ । तत्कालीन माओवादीमा नारायणकाजी श्रेष्ठ प्रकाशको दाबी छ ।

पूर्व माओवादीको भागमा परेका अरु १४ विभागमा भने मन्त्रीहरुलाई सम्बन्धित विभागको जिम्मेवारी दिने सहमति भएको छ ।

पूर्वएमालेले भने जिम्मेवारी बाँडफाँड गरिसकेको छ ।

३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने गरी भागवण्डाको सहमति भइसकेको छ । पूर्वमाओवादीले पाएका विभागमा जिम्मेवारी तोक्न सकेको छैन ।