संसदीय टोलीप्रति बाढी पीडितहरुको आक्रोश 

संसदीय टोलीप्रति बाढी पीडितहरुको आक्रोश 

जनकपुर, ५ साउन । प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समितिकोे संसदीय टोलीले प्रदेश २ र प्रदेश १ को बाढी प्रभाबित जिल्लाहरुको स्थलगत निरीक्षण शुरु गरेको छ । 

   समितिको छुट्टाछुटै २ वटा संसदीय समितिमध्ये सुशासन समितिका सदस्य तथा सांसद दिलेन्द्र प्रसाद बडु लगायतको टोलीले जनकपुर पूर्वका जिल्लाहरुको निरीक्षण गरिरहेको छ भने सांसद राजेन्द्र महतो लगायतको टोलीले जनकपुर पश्चिमका जिल्लाहरुको निरीक्षण गरिरहेका छन् ।  
      
संसदीय टोली बाढी पीडित बस्तीमा कतिपय स्थानका बाढी पीडितहरु टोलीप्रति आक्रोशित हुँदै लखेट्ने प्रयास गरेका छन् भने कतिपय स्थानमा टोलीले सहज रुपमै आफ्नो काम गरेका छन् । 
     
 निरीक्षण गर्न जनकपुर उपमहागरपालिका १ धर्मवान टोल पुगेको संसदीय टोलीप्रति स्थानीय बाढी पीडितहरु खनिएका छन् । राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहनुभएका सांसद राजेन्द्र महतोसहितको टोली बाढी प्रभाबित धर्मवान टोल पुग्ने बितिकै बाढी पीडितहरु आक्रोशित हुँदै लखेट्ने प्रयास गरेका थिए । 

    यो क्षेत्र महतो निर्वाचित भएको क्षेत्र हो । चुनाबको बेला भोट लिएर आफूहरु समस्यामा परेका बेला नआउने भन्दै पीडितहरु सांसद महतोप्रति आक्रोश पोखेका हुन् ।  
   
यस्तै प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडु नेतृत्वको संसदीय टोलीले बर्षा र बाढीबाट प्रभाबित सिरहा नगरपालिका ६ बसबिट्टा, वडा नम्बर १२ सारस्वर, कल्याणपुर नगरापालिकाको इटारी प्रसाही, कर्जन्हा नगरपालिकाका बाढी प्रभाबित बस्तीहरुको निरीक्षण गरेका छन् ।

      सो क्रममा संसदीय टोलीका सदस्यहरुले बाढी पीडितहरुसँग अन्तरक्रिया समेत गरेका छन् । अन्तरक्रियाका क्रममा बाढी पीडितहरुले बर्षा र बाढीले बर्षेनी आफुहरु यस्तो समस्या भोग्दै आएको पीडा सुनाउँदै समस्या दिगो रुपमा समाधानको पहल गर्न दिन आग्रह गरेका थिए । 
     
यस्तै सो टोलीले सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी, प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्बेदी लगायतसँग बाढीले पु¥याएको क्षति र उद्धार तथा राहत बितरणको अवस्था बारे जानकारी लिएको छ । 
   
 संसदीय टोलीमा प्रतिनिधिसभा सदस्यहरु राजकिशोर यादव, डिला संग्रोला, यशोदा सुबेदी गुरुङ्ग लगायतको सहभागिता रहेको छ । 

       उक्त टोलीले सिरहासहित सप्तरी, सुनसरी, मोरङ्ग र उदयपुर गरि ५ वटा जिल्लाको बाढी प्रभाबित स्थानको अनुगमन गर्ने जिम्मेवारी पाएको छ ।  

   बाढी प्रभाबित क्षेत्रको स्थलगत निरीक्षण गरी राज्य व्यवस्था तथा सुशासन समितिमा  प्रतिवेदन बुझाउने समिति मार्फत सरकारको ध्यानाकर्षण गराउने समितिका सदस्य तथा सांसद महतोले जानकारी दिए ।