आज विपी स्मृति दिवसः यस्तो थियो विपीको साहित्यीक र राजनीतिक योगदान...

आज विपी स्मृति दिवसः यस्तो थियो विपीको साहित्यीक र राजनीतिक योगदान...

काठमाण्डौ, ६ साउन ।  नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस आज देशभर मनाइदैछ । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । 

२०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । 

तर, जननिर्वा्चित सरकारलार्ई तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते अपदस्त गरि निरंकुश शासन शुरु गरेपछि कोइरालासहित नेतालाई सिंहदरबारमै बन्दी बनाइएको थियो ।

एक महिनापछि काठमाडौको सुन्दरीजलमा उनी लगायत प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, कांग्रेस नेता गणेशमान सिंह लगायतलाई बन्दी बनाइएको थियो । २०२५ सालमामा स्वास्थ्य परीक्षणका लागि कारागारमुक्त  कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित भए । 
तर विदेशी भूमिमा निर्वासित भएर स्वदेशको प्रजातन्त्र पुनर्स्थापनाका लागि लड्दा राष्ट्रियता कमजोर भएको र अपमान सहनुपरेको विश्लेषण गरी उनी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका थिए । त्यसबेला आठवटा ज्यान मुद्दा लगाइएका बीपीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएको थियो । 

उनलाई प्रवर्दन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ ।

आफ्नो प्रधानमन्त्रीकालमा उनले गाउँको विकास, भूमिसुधार र सामन्तवाद अन्त्य गर्न विभिन्न नीतिगत योजना निर्माण र कार्यान्वयन गरेका थिए । विपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।

दिवसका अवसरमा नेपाली काङ्ग्रेस र विपी सङ्ग्रहालय समितिले देशैभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सङ्ग्रहालय समितिले तेह्रथुमका तेजमान तुम्बाहाम्फे, सुनसरीका रवीन्द्र राई र मिसरु मियाँलाई संयुक्त रुपमा प्रजातन्त्र सेनानी पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।

विपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्द्धक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ र ‘बाबु, आमा र छोरा’ गरी ६ वटा उपन्यास प्रकाशित छन् ।