क्लिन फिड लागू गराउने प्रावधान हटाउन सकिँदैनः सञ्चारमन्त्री बास्कोटा 

क्लिन फिड लागू गराउने प्रावधान हटाउन सकिँदैनः सञ्चारमन्त्री बास्कोटा 

काठमाडौं, ६ साउन ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको क्लिन फिड लागू गराउने प्रावधान हटाउन नसकिने बताएका छन् । 

मन्त्री बास्कोटाले राष्ट्रिय जनता पार्टी, नेपालका सांसदद्धय लक्ष्मणलाल कर्ण र एकवाल मियाँले सो विधेयकबाट क्लिन फिड लागू गराउने प्रावधान हटाउन राखेकोे संशोधन प्रस्ताव सरकारलाई मान्य नहुने पनि स्पष्ट पारे ।

सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले राष्ट्रको हितसँग सम्बन्धित भएर सरकारले विधेयकमा सो प्रावधान राखेको स्पष्ट पार्दै फिर्ता लिन पनि संशोधनकर्ता सांसदद्धय कर्ण र मियाँलाई आग्रह गरे ।

नेपालको हितलाई प्रबद्र्धन गर्ने तथा नेपालका कलाकार, मिडिया क्षेत्रलाई पनि समृद्धितर्फ अघि बढाउने भएकाले विधेयकको सो प्रावधान हटाउन नसकिने मन्त्री बास्कोटाको तर्क छ । मन्त्री बास्कोटाले विज्ञापन बजारलाई नियमन गर्न राखिएको सो प्रावधान  सयपटक छलफल गरेपनि हटाउने पक्षमा सरकार नरहेको पनि स्पष्ट पारे ।

मन्त्री बास्कोटाले क्लिन फिड मुलूकको राष्ट्रियता र रोजगारीसँग जोडिएकोतर्फ पनि समितिको ध्यानाकर्षण गराए ।