ब्यंग्य: खनिया, खनाल र खरेलको तेहरी

ब्यंग्य: खनिया, खनाल र खरेलको तेहरी

ब्यंग्य

त्रिविका उपकुलपति तिर्थ खनियाले पत्रकारिता विभाग प्रमुख चिरञ्जीवी खनाललाई बोलाएर भने, ‘लु आमसञ्चार पत्रकारिताको पाठ्यक्रम देखाऊ त । स्नातकोत्तरसम्मकै ।’

विभागीय प्रमुख चिरञ्जीवी खनाल अत्तालिँदै बोल्न थाले, ‘किन र हजुर ? के भो र ?’

खनिया एक्कासी पत्रकारिता विभाग प्रमुख खनालमाथि खनिए, ‘के भो भन्नु, हुर्मत गयो मेरो । कस्ता कस्तालाई विभागीय प्रमुख बनाइएछ । प्राज्ञिक जिम्मा दियो उल्टोपाल्टो काम गर्नेबाहेक कसैलाई चासो छैन । यसै त हाम्रो विश्वविद्यालयलाई बेरोजगार उत्पादन गर्ने कारखाना भनेर आरोप लागिरहेको छ । त्यसमाथि पनि राज्यको चौथो अङ्ग उत्पादन गर्ने शिक्षा पनि सुलिफ्याँत भएपछि के हुन्छ ? त्यसैले पत्रकारिताको पाठ्यक्रम (सिलेबस) लिएर मेरोमा हाजीर होऊ भन्या ।’

प्रमुख खनाल सिलेबसको ढड्डा लिएर खनियाको शैक्षिक खर्कमा हाजिर भए र सिलेवसको संक्षिप्त जानकारी दिँदै बोल्न थाले, ‘पत्रकारिताको हाम्रो पाठ्यक्रम दक्षिण एसियामा सबैभन्दा उम्दा छ । हाम्रो पाठ्यक्रमको कारण एकसे एक पत्रकारहरु उत्पादन भैरहेका छन् । हाम्रो विभागले अब हाम्रा पत्रकारलाई निर्यात गर्न लायक बनाएको छ । यसो गरियो भने रेमिण्ट्यान्समा थप योगदान हुनेछ ।’

‘भाँडमा जाए तिम्रो सिलेबस । तिम्रो सिलेबसले फुलो परेको पत्रकार मात्र जन्माउँदो रैछ । अस्ति मैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरस्वतीको मन्दिर उद्घाटन गर्न सवारी गराउँदा हिलो भएकोले रातो प्लाइउडमा हिँडाएको थिएँ । रातो कार्पेट हिलोमाथि ओछाएर हिँडायो भनेर पत्रकारले लेखे । रातो प्लाइउड र कार्पेट पनि छुट्याउन नसक्ने तिनका आँखा फुलो परेको रैछ । यसमा अरुलाई दोष दिएर भएन, आफ्नै शिक्षा पद्धतिको दोष देखेर तिम्लाई चैनेजो पष्टीकरण सोधेको हुँ ।’ एकै सासमा खनियाले खनालको झाँको झारे ।

खनाल पनि के कम उनले आफ्नो पालामा सिलेबस नबनेको पष्टीकरण दिँदै भने, ‘सिलेबस त पीआर खरेलले बनाएको हो । पत्रकारिताको ठूलो प्रोफेसर हुँ भनी पल्टिन्थे । उनैले बनाउँदा यस्तो दुर्घटना भएको हुनसक्छ भन्ने मलाई पनि लाइरा’छ ।’

‘त्यो पीआर चैं कहाँ छ आजकाल ? लालबाबु पण्डितलाई भनेर भए पनि त्यसको पिआर खोस्नु पर्ने भो’, खनियाले पोख्नुसम्म रिस पोखे । 

‘हैन उनको नाम चैं छोटकरीमा पीआर लामकरीमा पर्शुराम खरेल हो । पीआर लिएको नलिएको भने मलाई थाहा छैन ।’ खनालले प्रस्ट्याए ।

खनियाले आफ्नो अज्ञानता छोप्न टाउको हल्लाए । बुझेबुझेजस्तो पनि गरे ।

‘त्यो पर्शुराम भन्ने अहिलेको संघीय लोकतान्त्रिक गनतन्त्रको पक्षमा छैन । पश्चगमनतिरकै मान्छे हो रे भन्ने सुन्या’छु । यसैले यो परिवर्तनलाई कुहिँढ्याक बनाउन त्यस्तो सिलेबस बनाएको हुन सक्छ । गनतन्त्रमा पत्रकारलाई रतन्धो बनाइदिने वा आँखामा फुलो पारिदिने राष्ट्रघाती, गैरप्राज्ञिक काम गरेछ भन्ने अहिले आएर मैले बुझें’, खनियाले अलिक लामो सास फेरे ।  

‘अब के गर्नु प¥यो हजुर ?’ विभागीय प्रमुख खनालले नम्र निवेदन गरे ।

‘खरेलसँग सम्पर्क गर्नुप¥यो । गुठी विधेयक फिर्ता गरेजस्तै पहिलेको पाठ्यक्रम फिर्ता लिनु प¥यो । खरेलले बनाएको पाठ्यक्रमबाट पास भएका पत्रकारको हातकलम गर्नु प¥यो । तिनको सर्टिफिकेट रद्द गर्नु प¥यो’, खनियाले निर्देशन जारी गरे ।
‘यो त हुन सक्तैन होला हजुर । लहरो तान्दा पहरो गर्जन सक्छ । सुरेन्द्र कोइरालालाई ६ अङ््क ल्याएकोमा त्यसको पछाडि ० (सुन्ना) अङ्क थपेर स्वर्ण पदक दिएको कुरा फेरि उत्ताउलो गरी निस्कन्छ । थेसिस सारासार गरेको, विक्रीवितरण भएको चर्को कुरा उठ्न सक्छ’, खनालले

निरीहता प्रदर्शन गरे ।

‘के गर्ने त ?’ खनियाले थोरै सुझाव माग्न खोजे ।

अब यो पश्चगमनतिरै ढल्कँदैछ लोकतन्त्र । लोकतन्त्र विस्थापित भएर पर्जातन्त्र स्थापित हुन खोज्दैछ । संघीयता सेण्टीफ्ल्याँट होलाजस्तै छ । गनतन्त्र खै के खै के भैरा’छ । यस्तो बेलामा बहती गंगामा हात धुनु राम्रो हुन्छ । विग्रेको विश्वविद्यालयको भत्केको घर भत्केपछि के को डर ? जता भत्क्यो त्यतै दैलो । कि कसो ?