स्वाधीनता र आत्मसपर्णवादबीच लडाई

स्वाधीनता र आत्मसपर्णवादबीच लडाई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भेनेजुएला प्रकरणमा सार्वजनिक गरेको पहिलो विज्ञप्तिसँगै तातेको राष्ट्रिय राजनीति दोस्रो विज्ञप्ति प्रकाशित गरेर प्रस्टीकरण दिनुपर्ने अवस्था सिर्जना हुनुले नै यसको विवादको आयतन मापन हुन्छ ।  भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गरेपछि उत्पन्न परिस्थितिलाई राजनैतिक रंग दिन दक्षिणपन्थी र साम्राज्यवादपरस्त व्यक्ति, शक्ति र मिडियालाई राम्रै अवसर मिलेको छ । 

सञ्चारमाध्यमका तर्फबाट भ्रम सिर्जना भएको भन्दै अध्यक्ष प्रचण्डको अर्को विज्ञप्ति आए पनि अझै यसमा तुफान ल्याउने कोशिश भइरहेको छ । भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण शिर्षकको विज्ञप्तिमा उल्लेख छ, ‘भेनेजुयलाको राजनीतिक संकटको बिषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष र नेपाल सरकारद्वारा जारी वक्तव्य नै आधिकारिक भएको स्पष्ट गर्न चाहन्छौं । केही सञ्चार माध्यमहरुले विषयलाई अतिरञ्जित ढंगले तोडमरोड गरी भ्रम सिर्जना गर्न खोजेकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता भ्रामक र कपोलकल्पित समाचारको पछि नलाग्न सबैमा आग्रह गर्दछौं ।’ 

पहिलो वक्तव्यको सार दोस्रो वक्तव्यले अनुमोदन गरेसँगै राष्ट्रिय राजनीतिलाई गिजोल्ने प्रयास यो हदसम्म हुनु आफैमा उदेक लाग्दो विषय हो । विषय वा प्रसंगले अन्य अर्थ नलागेमा नेपालको स्वाभिमान र सार्वभौमिकता संस्थागत हुन नदिने मामिलामा देशभित्रकै तत्वहरु सक्रिय छन् भन्ने अर्थ लाग्छ । नेपालको राष्ट्रियता ‘विदेशी प्रभू’ हरुको दीक्षामै भर पर्ने मानसिकता भन्दा माथि उठ्न नसकेको र उठेको मानसिकतालाई दमित गर्ने उपनिवेशवादी शक्तिहरुको स्थानीय एजेण्टको कुनै कमी छैन । 

कांग्रेसको आपत्ति 

नेपाली कांग्रेस सिद्धान्ततः ‘प्रजातान्त्रिक समाजवादी’ विचार बोकेको पार्टी हो । भलै कांग्रेसको प्रजातान्त्रिक समाजवादको व्याख्या, विश्लेषणको पाटो आफ्नै ठाउँमा छ । तर, सामान्यतः कांग्रेसी विचारधारा उसको झण्डामा पनि प्रतिबिम्बित भएकै हो भने झण्डाको चार ताराको अर्थ राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रता हो । कांग्रेसी झण्डाका चार तारामध्ये एक ताराको प्रतिक धार्मिक स्वतन्त्रताको त कांग्रेसले खिल्ली नै उडाएर परम्परागत मान्यतालाई तिलाञ्जली दिँदैछ । कांग्रेसको विचारधारात्मक अन्य प्रतिकलाई पनि तिलाञ्जली दिने क्रममा रहेको घटनाक्रमहरुले पुस्टि गर्दै लगेको छ । भेनेजुएला प्रकरणमा उसका तीन वटै प्रतिक चिह्न राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हात्तीका देखाउने दाँत सरह भएका छन् । 

यहाँनेर आएर कांग्रेसले भेनेजुएलाको राष्ट्रियता, उसको आन्तरिक मामिला वा प्रजातन्त्रलाई अमेरिकी चस्माबाट हेर्छ भने उसले लिएको राष्ट्रियता र प्रजातान्त्रिक विचारको खिल्ली यहीँबाट उडेको ठहर हुन्छ । रह्यो कुरो समाजवादको भेनेजुएलाको समाजवादलाई फुटेको आँखाले हेर्न नसक्ने कांग्रेसको समाजवादको मूल्यको पुनमूलर््यांकन गर्ने अवस्था आएको छ ।

गएको आइतवार कांग्रेसले अध्यक्ष प्रचण्ड र सरकारको विज्ञप्ति ‘अपरिपक्व र राष्ट्रिय स्वार्थ विपरीत’ भएको जिकिर गरेको छ । भेनेजुएलाको परिस्थितिमा कांग्रेसको विश्लेषण शून्य छ तर, प्रचण्ड र सरकारको विज्ञप्तिमा टिप्पणी गर्नु आफैमा हास्यास्पद छ । यो भन्दा राम्रो त कांग्रेसले अमेरिकी हस्तक्षेपलाई सिधै स्वागत गरे भइहाल्थ्यो । कांग्रेसले विश्वभरका समाजवादी विचारका अनुयायीलाई भ्रम दिन प्रचण्ड र सरकारको विचारलाई खण्डन गरेको छ र सँगसँगै अमेरिकी साम्राज्यवादी हस्तक्षेपको ताबेदारी गरेको छ ।

कांग्रेसले आफ्नो वैचारिक शृङ्खलाबाट च्युत हुन बेलाबखत ऐतिहासिक भूल गर्दै आएको छ । नेपालको भू–राजनैतिक विशिष्टतालाई ख्यालै नगरी पहिलो नेपाली कांग्रेसको सरकारले अन्तराष्ट्रिय सम्बन्धमा खेलाँची गर्दा कांग्रेसको सरकारमात्र डुबेन कांग्रेसी राजनीति निर्वासनमा पुग्यो । तीस वर्षसम्म राजा महेन्द्रलाई तानाशाही पञ्चायती व्यवस्था लाद्न पनि सहज भयो । प्रजातन्त्रलाई खारेज गर्न त्यतिखेर आन्तरिक भन्दा पनि बाहिरी परिस्थिति परिपक्क भएकाले यसप्रकारको दुर्घटना भएको थियो । 

सम्बन्ध र दूरी 
कांग्रेससहितका एकथरिले हजारौं माइल टाढा र नेपालको कुनै दौत्यसम्बन्ध नभएको भेनजुएलाको समर्थनको औचित्य देखेनन् । यति नै कुराले मात्र भेनेजुएलाको समर्थन गर्नुको औचित्य पूरा नहुने हैन । यस्तो तर्क गर्ने हो भने अमेरिकासँग दौत्य सम्बन्ध भएकै आधारमा उसका सबै खत माफ गर्नु पर्ने हुन्छ । भारतले बेलायती उपनिवेशलाई पुनस्र्थापना गर्ने तर्कलाई सार्थक निश्कर्ष मान्नु पर्ने हुन्छ । अर्थात सयौं वर्ष अघि वेलायती शासकको उपनिवेश भएकोले त्यो आज पनि त्यत्तिकै जायज हो भन्ने तर्क स्थापित हुन्छ । अमेरिकाले दौत्य सम्बन्ध नेपालसँग गरेकाले उसको समर्थन गर्नु मोहियानी हक भए जस्तो गर्नु अनुचित हो । 

अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसनमार्फत आउने करिव ६५ अर्व रुपैया अनुदानमा आउँदैछ भन्ने अर्थमा मात्र अमेरिकाको समर्थन गर्नु विल्कुलै नाजायज हुन्छ । जुन कुरा कांग्रेसले यस कारण अमेरिकाको समर्थन गर्नुपर्छ भनेर संसदीय दलको बैठकमा जिकिर गरेको थियो । अमेरिकाले विसं २००४ सालमा नेपाल जस्तो विश्व रंगमञ्चमा कुनै भूमिका नभएको सानो मुलुकसँग किन दौत्य सम्बन्ध स्थापित गर्न लालायित भयो भन्ने विषय अहिले आएर खुल्न थालेको छ । यसरी अहिले ‘रिसिप्रोकल एक्सेस टु तिब्बत एक्ट–२०१८’, ‘दक्षिण एसियाली मामिला हेर्ने ऐन’ लगायत डेमोक्रेसी इन चाइना (तिब्बत र अन्य प्रान्त)मा अमेरिकाले ल्याएको कार्यक्रम र विनियोजित बजेट कार्यान्वयनको मैदान नेपाल नै भएको छ, हुनेछ । 

नेपालको भूराजनैतिक शक्ति सन्तुलनलाई अप्ठ्यारो पार्ने कुनै पनि नीति नेपालको वैदेशिक नीति हुन सक्तैन । अहिले यस्तै परिदृश्य ल्याउने भरमग्दुर प्रयास भइरहेको छ । यसभन्दा पनि एसिया–प्रशान्त र हिन्द–प्रशान्त रणनीति अघि सारेर नेपालको मात्र हैन दक्षिण एसियासहित पूरै एसियामाथि अमेरिकी दादागिरी र यहाँका देशको राष्ट्रियता, स्वाधीनतामा कालो बादल लाग्न लागेको संकेत गर्दामात्र पनि कोकोहोलो मच्चाउनेहरुको विचार, नीति घाटमा पुगेको छ । भेनेजुएला प्रकरण बूढी मरी भनेर खुच्चिङ गर्नु भन्दा काल पल्कियो कि भनेर होसियार हुनु पर्नेमा हनुमानदास हुने यहाँका पार्टी र वौद्धिकहरुमा दिवालियापन आएको ठहर हुन्छ ।-समयबद्धबाट