ट्रम्पले कुटनीतिक जालमा फसाए कि मोदी फसे 

ट्रम्पले कुटनीतिक जालमा फसाए कि मोदी फसे 

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई काश्मिर विवादको विषयमा फसाएका छन् कि मोदी आफै फसेका हुन भन्ने विवाद चर्किने देखिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले  पाकिस्तानका प्रधानमन्त्री इमरान खानकै उपस्थितिमा केही दिन अघि भारतीय प्रधानमन्त्री मोदीले आफूलाई काश्मिर विवादको समाधानका लागि मध्यस्थता गर्न भनेको भनेर अन्तर्राष्ट्रिय राजनीतिमा चकित पार्ने खालको अभिव्यक्ति दिए ।

भारतीय कांग्रेसका नेताहरूले यस विषयमा आपत्ति जनाएकाले यो विषय चर्किने हो कि भन्ने आंशका गरिएको छ ।

अमेरिकी भ्रमणमा पुगेका पाकिस्तानी प्रधानमन्त्री खानसँग ट्रम्पले संयुक्तरूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो चकित पार्ने अभिव्यक्ति दिए । 

भारतले काश्मिर विवादको समाधान दुई देशबीचको आपसी विषय भएको अडान राख्दै आएको अवस्थामा ट्रम्पले यस्तो बोलेर चकित पारेका हुन् ।

ट्रम्पले भने “मोदी दुई साता अघि आफूसँग भएका बेला काश्मिर विषयमा मध्यस्थता गर्न आग्रह गरेका थिए । ”

तर भारतको  विदेश मन्त्रालयले ट्रम्पको सो दाबीलाई खारिज गरेको छ । मन्त्रालयले जनाए अनुसार मोदी र ट्रम्पबीच यस्तो कुनै विषयमा कुरो भएको छैन् ।

पाकिस्तानी प्रधानमन्त्री खानले ट्रम्पलाई शक्तिशाली देशको नेताको हैसियतमा काश्मिर मामिलामा मध्यस्थता गर्न आग्रह गरेको बताए ।

भारत र पाकिस्तानबीच यो विवाद ७० वर्ष पुरानो हो ।  दुई देशले पटक पटक समाधान खोज्न प्रयास गरेको भए पनि समाधान हुन सकेको छैन् ।

ट्रम्पले मोदीले आफूलाई मध्यस्थता गर्न भनेको पत्रकार सम्मेलनमा भने पनि अमेरिकाको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा यो विषय उल्लेख गरिएको छैन् ।

मोदीले यस्तो आग्रह गर्दा आफू चकित भएको जनाउँदै ट्रम्पले दुबै देश मध्यस्थता खोजेमा यसको हल गर्न सहयोग गर्न तयार रहेको बताएको जनाए ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले काश्मिरको विषयमा भारत आफ्नो पुरानो अडानमा रहेको जनाए ।

पाकिस्तानसँग कुनै किसिमको वार्ता अघि सीमापार आतंकवादी गतिविधि समाप्त हुनुपर्ने कुमारले जनाए ।

कांग्रेसका सांसद शशि थरुरले यस विषयमा विदेशमन्त्रालयले स्पस्ट पार्नुपर्ने माग गरेका थिए ।