विश्वकप एसिया छनोट क्रिकेटः नेपाल कतारसँग चार विकेटले पराजित

विश्वकप एसिया छनोट क्रिकेटः नेपाल कतारसँग चार विकेटले पराजित

आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ । आईसीसी वरीयतामा २१ औं स्थानमा रहेको कतारले ११औं स्थानमा रहेको नेपाललाई पराजित गरेको हो ।

मंगलबार भएको खेलमा १२३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । उसका लागि ओपन इनाम उल हकले ४१ रन प्रहार गरेका थिए ।

सोमपाल कामीले पहिलो ओभरमै १३ रन खर्चेका थिए । दोस्रो ओभरको पहिलो बलमा सन्दीप लामिछानेले पहिलो विकेट लिए  । उनले फैसाल जावेदलाई १ रनको स्कोरमै सोमपालको हातबाट क्याच आउट गराएका थिए । 

४.१ ओभरमा कतारले दोस्रो विकेट गुमायो । २ छक्का र २ चौका बनाएर खेलिरहेका कमरान खानलाई करणले आफ्नो स्पेलको पहिलो बलमै आउट गरेका हुन् ।

त्यसपछि सन्दीपले थप २ विकेट लिए । १०औं ओभरमा मोहम्मद तानवीरलाई ११ रनको स्कोरमा आउट गरेका सम्दीपले आफ्नो स्पेलको अन्तिम ओभरमा जाहिर इब्राहिमलाई १२ रनको स्कोरमा शरद भेषावकरको हातबाट क्याच आउट गराए । १२ ओभरको समाप्तिमा कतारको स्कोर ८६–४ थियो ।

३ ओभरमा दीपेन्द्र सिंह ऐरीले २ महत्वपूर्ण रनआउट लिएपछि नेपालले खेलमा फर्कने प्रयास गरेको थियो । उनले १३.३ ओभरमा उलहकलाई रनआउट गरे । उलहकले ३२ बलमा ६ चौका प्रहार गरेका हुन् । त्यसको अर्को ओभरमा कप्तान तामूर सज्जादलाई ९  रनको स्कोरमा रनआउट गरे ।
इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर १२२ रनको योगफल खडा गरेको थियो । १० वर्षपछि पहिलोपल्ट कतारसँग खेलेको नेपाली टोलीका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । उनीहरुले ४९ रनको साझेदारी गरेका थिए ।