कार्यकाल दोब्बर बनाउने दाउमा देउवा !

कार्यकाल दोब्बर बनाउने दाउमा देउवा !

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा  महाधिबेशन विना नै आफ्नो कार्यकाल दोब्बर बनाउने रणनीतिमा जुटेको संकेत पाएपछि कोइराला परिवारका नेताहरु समेत प्रतिरोधमा उत्रेका छन् । पछिल्ला दिनमा सभापति देउवासँग लहसिएका महामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय समितिको जारी बैठकको अवधिमा दुई पटक आफ्नो पक्षको भेला गराए । एउटा भेला आफ्नै निवासमा गराए भने अर्को भेला डा. रामशरण महतको निवासमा बोलाए । 

 गत साता डा.महतको निवासमा भएको  इतर पक्षको भेलामा महामन्त्री कोइराला, नेता डा. शेखर कोइराला, केन्द्रीय सदस्य गुरु घिमिरे, प्रदीप पौडेल लगायतले सभापति देउवा डेढ वर्ष नभएर तीन वर्ष कार्यकाल लम्ब्याउने रणनीतिमा रहेको र कुनै हालतमा पनि देउवाको यो रणनीति तोड्नुपर्ने धरणा राखे । सहभागी प्रायजसोको यो धारणापछि वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमै जंगिए ।  

सभापति देउवाको कार्यशैलीप्रति आफू विगत ५५ वर्षदेखि परिचित रहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले भने– ‘तपाईंहरु अहिले ठूला कुरा नगर्नोस्, देउवा कस्ता व्यक्ति हुन् भन्ने कुरा यहाँ उपस्थितमध्ये रामशरणजीलाई पनि थाहा छ, बलबहादुर केसीलाई त धेरै थाहा छ, देउवाले पार्टीलाई डुबाउँदैछन् भन्ने मैले पहिले नै भनेको होइन ?’ 

२०२९ सालमा दोस्रो महाधिबेशनद्वारा देउवालाई दुई वर्षका लागि नेवि संघको अध्यक्ष बनाइएको प्रसंग उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले भने–‘ तेस्रो महाधिबेशन २०३१ सालमा हुने पर्ने थियो, तर टार्दै टादै २०३६ साल पु¥याए, ७ वर्षसम्म पनि महाधिबेशन हुन नसकेपछि २०३६ साउनमा  किशुनजीले बलबहादुर केसीलाई कार्यबाहक अध्यक्ष बनाउनु भयो, केसीले चैतमा तेस्रो महाधिबेशन गराए ।’ यसैगरी पार्टी फुटाएर प्रजातान्त्रिक कांग्रेसको सभापति हुँदा पनि देउवाले महाधिबेशन गराउनु त परै जाओस्, केन्द्रीय समितिको बैठक समेत नबोलाएको प्रसंग उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले भने– ‘पार्टी फुटाए तर चलाउन नसकेपछि हामीसँग मिसिन आए, देउवासँग पार्टी चलाउने न क्षमता छ न त इमान्दारिता छ ।’

 दिउँसो दिउँसो नेपाली कांग्रेस संस्थागत रुपमा चल्नुपर्छ, देउवाले कमजोरी गरे भन्ने राति राति देउवाकहाँ गएर दारु खाने र पैसाको विटो लिएर निस्कने केही केन्द्रीय सदस्यहरुकै कारण नेपाली कांग्रेसले यो संकट झेल्नु परेको उल्लेख गर्दै पौडेलले भने–‘मैले त गत महासमितिको बैठकमै महाधिबेशनको मिति तोकौं भनेर प्रस्ताव लगेको थिएँ तर हामीभित्रकै राति राति देउवाकहाँ गएर दारु खाने र पैसाको विटो लिएर फर्कने साथीहरुले धोका दिए । अब डेढ वर्षभित्र १४ औं महाधिबेशन सम्पन्न हुन सकेन भने  चार वर्षपछि धकेलिन्छ, यही पाराले डेढ वर्षभित्र महाधिबेशन सम्भव छैन ।’

पौडेलले महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला, गगन थापा, प्रदीप पौडेल, गुरु घिमिरे, उमाकन्त चौधरी लगायतका नेताहरुतर्फ इंगित गर्दै यो आक्रोस प्रकट गरेको समाचारस्रोतले जनाएको छ ।

सभापति देउवा पक्ष (संस्थापन) ले प्रदेश, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय प्रदेश निर्वाचन क्षेत्रीय, पालिका र वडा समिति गठन गरेर मात्रै क्रियाशील सदस्यता वितरण तथा नविकरणको काम थाल्ने प्रस्ताव गरेको छ । यो प्रस्तावको विपक्षमा जानसक्ने अवस्थामा संस्थापन इतर पक्ष छैन । तर प्रदेश, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय प्रदेश निर्वाचन क्षेत्रीय, पालिका र वडा समिति कहिलेसम्ममा गठन भइसक्ला त ? भन्ने प्रश्न अनुत्तरित छ । उपसभापति विमलेन्द्र निधिले आगामी पुससम्म गरिसक्ने सार्वजनिक रुपमा बताएका छन्, तर केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्ण पौडेलले  कम्तीमा पनि एक वर्ष लाग्ने बताउँदै आएका छन् । उनले आफ्नो गृहजिल्ला स्याङ्जाका एक कार्यकर्ता सँग भने– ‘केन्द्रीय कार्यालयमा रहेको पुरानो रेकर्ड हराएका कारण नयाँ रेकर्ड अविलम्ब पठाउन जिल्ला कार्यसमिति तथा साविकका प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिलाई निर्देशन दिएका छौं ।

उनीहरुले रेकर्ड पठाएपछि मात्रै विधानको अन्तरिम व्यवस्था अनुसार प्रदेश, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय प्रदेश निर्वाचन क्षेत्रीय, पालिका र वडा समिति गठनको काम सुरु हुन्छ । सहमति हुन नसकेको ठाउँमा निर्वाचन गर्नुपर्ने भएकोले कम्तीमा एक वर्ष लाग्छ ।’
 क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकिएको एक वर्षपछि मात्रै महाधिबेशन हुने कुरा विधानमा उल्लेख छ । त्यसैले सरासर काम भयो भने पनि अब दुई वर्षभन्दा अघि कांग्रेसको १४ औं महाधिबेशन संभव छैन । तर अबको दुई वर्षपछि स्थानीय निर्वाचन साँढे २ वर्षपछि प्रदेशसभा निर्वाचन र तीन वर्षपछि प्रतिनिधिसभा निर्वाचन हुने भएका कारण कांग्रेसको १४ औं महाधिबेशन अझै  साँढे तीन वर्ष हुन नसक्ने अवस्था देखिएको हो ।

तर, केन्द्रीय समितिको कार्यकाल भने आगामी फागुनमा सकिँदैछ । विधानले आपतकालीन अवस्थामा एक वर्षसम्म मात्रै म्याद थप्ने सुविधा दिएको छ । संविधानले कम्तीमा साँढे पाँच वर्षभित्र महाधिबेशन गर्नुपर्ने वाध्यात्मक व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार डेढ वर्ष म्याद थप्न सक्ने सुविधा कांग्रेसलाई छ । तर कम्तीमा तीन वर्ष म्याद थप्नु पर्ने वाध्यात्मक अवस्थामा कांग्रेस छ । यो गाँठो कसरी फुकाउन सकिन्छ ? भन्ने सन्दर्भमा सभापति देउवकाको किचेन क्याविनेटले आन्तरिक गृहकार्य गरिरहेको छ । प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्– ‘महाधिवेशन गर्न विभिन्न चरण पार गर्नुपर्छ । अन्तरिम संरचना बनाउने तयारी महाधिवेशन पूर्वको एउटा चरण हो ।’ समयबद्ध साप्ताहिकबाट