चीन–अमेरिका व्यापार वार्ता र पछिल्लो संसय

चीन–अमेरिका व्यापार वार्ता र पछिल्लो संसय

    
अमेरिकी राजधानी वासिङ्टनमा भएको वार्ताका चिनियाँ उप–प्रधानमन्त्री लिउ हेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा राष्ट्रपति सी जिन फिङको सन्देश सुनाउँदै चीन–अमेरिकाबीचको सम्बन्ध जटिल मोडमा रहेको बताए ।


    सन्देशमा सीले चीन सहकार्य, समन्वय र स्थायित्वका लागि अर्जेन्टिना सहमतिमा अडिग रहने उप–प्रधानमन्त्री हेले सुनाए । उनले आफ्ना राष्ट्रपतिको सन्देश सुनाउँदै भने, “हामीले गरेका सहमति अनुसार दुवै पक्षका आर्थिक समूहले गहन छलफललाई अघि बढाएका छन् र यसबाट सकारात्मक प्रगति भइरहेको छ ।”


    सो अवसरमा ट्रम्पले पनि अमेरिका–चीन सम्बन्ध सधै मजबुत रहने र दुई राष्ट्रप्रमुखको अगुवाईमा अघि बढ्ने बताएको वार्तामा सहभागी टोलीले बताएको छ । राष्ट्रपति सी र ट्रम्पले व्यापार विवाद मिलाउन सक्रिय नेतृत्व गरिरहेको विज्ञहरुले बताएका छन् । वार्ता साँच्चै दुवै पक्षको विजयको सहमतिका लागि अग्रसर बनेको र चीन, अमेरिका र समग्र विश्वका लागि महत्वपूर्ण उपलब्धि उन्मुख रहेको बताइएको छ । 


    विभिन्न उतारचढावबीच भएको चीन र अमेरिकाबीचको व्यापार वार्तामा महत्वपूर्ण प्रगति भएको भनिए पनि विश्व व्यापार ‘टसल’ कायमै रहने देखिन्छ । यसैबीच आएको चिनियाँ दूरसञ्चार कम्पनीका वित्तीय प्रमुख पक्राउको घटनाले दुई देशमा नयाँ मुद्दा थपेको देखिएको छ भने भेनेजुयलामा गहिरिएको राजनीतिक संकटमा यी देशको विचार नितान्त भिन्न छ ।


    त्यसैगरी अमेरिकाले दशकौँ पहिले रूससँग गरेको मध्यम दूरीको आणविक हतियार सन्धि (आइएनएफ) बाट फिर्ता हुने निर्णयले यी दुई ठूला देशबीचको किचलो कायमै रहने देखिन्छ । यो विषयमा चीनले अमेरिकी निर्णयको विरोध गरेको छ । अमेरिकाले सन्धि फिर्ता लिएर बेठीक गरेको भनेको छ ।


    चिनियाँ उप–प्रधानमन्त्री लिउ हेको नेतृत्वमा वासिङ्टनमा रहेको चिनियाँ र अमेरिकी उच्च प्रतिनिधि मण्डलका सदस्यबीच दुई देशबीचको आर्थिक एवम् व्यापार विवादलाई समाधानका गरिएको छलफलमा दुवै पक्षले सहज वातावरण बनाउने पहल भने गरेकै छन् । 


    कठिन प्रयासपछि भएको प्रगति दुवै पक्षका राष्ट्रप्रमुखले अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा गत डिसेम्बरमा व्यापार विवादलाई समाधान गर्न गरेको सहमतिलाई गम्भीर कार्यान्वयनमा लाने सहमतिबाट सम्भव भएको उल्लेख गरिएको छ ।
 

    अजेन्टिनामा दुई देशका नेताले दुबै पक्षले आगामी ९० दिनभित्र आपसी हितका लागि सम्झौता गरी व्यापार विवादलाई टुङ्ग्याउने सहमति भए अनुरूप नै वार्ता अघि बढेको दुवै पक्षले सार्वजनिक गरे पनि एकतर्फी रूपमा अमेरिकाले आईएनएफ सन्धि तोड्ने निर्णयले शृङ्खलावद्ध रूपमा नकारात्मक नतिजा निम्त्याउने सम्भावना रहेको चीनको दावी छ । चीनले यसबाट विकसित घटनाक्रमलाई सावधानीपूर्वक पछ्याउने भनेको छ । 


    व्यापार सन्तुलन, प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्तिको अधिकारको सुरक्षा, गैर–करमुलक अवरोध, सेवा क्षेत्र, कृषि र कार्य सम्पादन व्यवस्था साथसाथै चिनियाँ पक्षका विशेष चासोका केही विषयमा पनि छलफल गरिएको थियो । 


    दुवै समूहले दुईपक्षीय व्यापारमा थप सन्तुलित बनाउने उपायलाई अघि बढाउन सहमत भएकै हुन् त भन्ने विषयमा चिनियाँ पक्षले अमेरिकाबाट चीन आयात गर्ने कृषि, ऊर्जा, निर्माण तथा अन्य सेवामुलक सामानमा विस्तार गर्ने जनाएको छ । योसँगै चिनियाँ जनताको उच्च तथा गुणस्तरीय आर्थिक विकासको मागलाई सम्बोधन गर्ने चीनको विश्वास लिएको जनाएको छ । तर पनि पछिल्ला घटनाले दुई देशबीचको सम्बन्ध स्थिर हुने शंका कायमै छ ।
    

     दुई शक्तिशाली अर्थतन्त्रका वार्ता टोलीबीच आगामी दिनमा निर्माण गरिने अनुगमन संयन्त्रको संरचना र आधारभूत कुराहरूमा सैद्धान्तिक सहमति बनेको भनिएको छ । टोलीले समस्यालाई कम गर्न थप प्रयासलाई जारी राख्ने र अघि बढ्ने विषयमा सहमति जनाएको छ ।


    तर पनि अजेन्टिनामा भएको वार्तापछि विकास नयाँ घटनाक्रमले दुई देशबीचको सम्बन्ध सँधै संवेदनशील एवम् तातिने देखिएको छ । जसले गर्दा सिङ्गो संसारलाई नै चनाखो बनाउने देखिएको छ । चाहे त्यो रुससँग भएको सन्धि तोड्ने विषय होस् या विश्वका शक्तिशाली उद्योगी तथा व्यापारीको सवाल होस् अथवा कुनै पनि देशभित्र आउने राजनीति उतारचढाव होस् । यी ठूला अर्थतन्त्रको टकराव कुनै न कुनै विन्दुमा देखिने भएको छ ।