ट्रम्पले आक्रमण गर्दैनन्, गरे तयार छौंः भेनेजुएलाका राष्ट्रपति

ट्रम्पले आक्रमण गर्दैनन्, गरे तयार छौंः भेनेजुएलाका राष्ट्रपति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो बहुलट्ठीपन रोक्न आग्रह गर्दै भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले संवाद र वार्ताबाट समस्याको हल खोज्न आफू तयार रहेको बताएका छन् ।

हालै युरोपेली युनियनका केही देशहरूले अमेरिकी राष्ट्रपति ट्रम्पले समर्थन जनाएको भेनेजुएलाका स्वघोषित राष्ट्रपति जुआन गुआइदोप्रति आफ्नो समर्थन दिएपछिको एक विदेशी मिडियाका लागि दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

इतिहासमा आफूलाई के भनेर सम्बोधन गरिने हो त्यसको चिन्ता नगरेको बताउँदै कम्तीमा आफूलाई देशघाती भने नभनिने विश्वास व्यक्त गरे । आफूलाई जनताको साथ रहेको जनाउँदै उनले  भने “इतिहासमा आफूलाई देशघाती र देशद्रोही भनिदैन भन्नेमा विश्वस्त छु ।”
 

गुआइदोलाई दिइएको समर्थन कूटनीतिक, राजनीतिक र नैतिक दृष्टिकोणले गलत भएको बताउँदै मदुरोले अमेरिकीको हास्यास्पद सत्ताकब्जाको प्रयासलाई युरोपेली युनियनका देशले समर्थन दिएको बताए ।

भनेजुएलामा निर्वाचन कुनै अभाव नभएको बताउँदै उनले भने “विगत २० वर्षमा २५ पटक निर्वाचन भएका छन् । विगत डेढ वर्षमा ६ वटा निर्वाचन भएका छन् । संविधानको कार्य तालिका अनुसार सन् २०२० मा एउटा संसदीय निर्वाचन गराउनुपर्ने बाँकी छ ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले  भनेजुएलामाथि सैनिक हस्तक्षेप गर्ने सम्भावनालाई इ्रन्कार गर्दै उनले भने “तर भए त्यसका लागि सेना तयारी अवस्थामा रहेका छन् । अमेरिकाले सैनिक हस्तक्षेप गर्दैन भनेर आफ्नो पवित्र भूमिको सुरक्षा लागि सेना तयार रहनु हुँदैन भने होइन ।”

भेनेजुएलाको तेल, सुन, ग्यास, हीरा, फलाम र जलसम्पदामा कब्जा जमाउन खोजेकाले अमेरिकाको पेटमा उकुसमुकुस भएको बताउँदै मदुरोले भने “हामी अमेरिकाका लागि कसरी खतरा हुन सक्छौं ? उनीहरूले भेनेजुएलामा फक्रिन खोजेको समाजवादी फल ,स्वाधीनता र सामाजिक न्यायलाई कुल्चिन चाहेका छन् ।”

आफूले प्रतिपक्षी नेताहरूसँग वार्ता र संवाद गरी हल खोज्न तीन सय बढी पटक प्रयास गरिसकेको बताउँदै उनले अझ पनि वार्ता र संवादका लागि तयार रहेको बताए ।

अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीका कारण देखिएको आर्थिक संकटका विषयमा बढाइचढाइ गरिएको बताउँदै उनले जनताका लागि गर्नुपर्ने काम सरकारले गरिरहेको बताए । आर्थिक संकटका कारण धेरथोर भेनेजुएलाबाट बाहिर गएको भए पनि भनिएजस्तो अवस्था नरहेको बताए ।

उनले भने “तीन करोड जतिको देशमा सन् २०१९ को अन्त्यसम्म मात्रै  ५० लाख मानिस बाहिरिएर जाने भएपछि यहाँ ‘भूत आएर बस्छ’ भेनेजुएलामा ५० लाख कोलम्बियाली, इक्वेडेरियाली, पेरूभियाली, स्पेनी र पोर्चुगाली ३–३ लाख र १० लाख जति अरबी मानिसहरूको बसोबास छ ।”

भारत र चीनसमेतका अन्य अन्तर्राष्ट्रिय बजारमा तेलको पहुँचलाई यो वर्षको अन्त्यसम्म दैनिक २५लाख ब्यारल तेल उत्पादन गरी देशको अर्थतन्त्रलाई स्वतन्त्र अर्थतन्त्रको रूपमा बलियो पार्ने आफ्नो योजना रहेको उनले जनाए ।