बाढीको बितण्डाः सप्तरीको गोबरगाढाका आठ सय परिवार डुबानमा

बाढीको बितण्डाः सप्तरीको गोबरगाढाका आठ सय परिवार डुबानमा

सप्तरी, ९ साउन । लगातारको वर्षाका कारणले सप्तरीको गोबरगाढाका झण्डै आठ सय परिवार डुबानमा परेका छन् । 

लगातारको वर्षापछि विभिन्न खोलामा आएको बाढीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका आठ सय परिवार डुबानमा परेको वडाध्यक्ष बिन्देश्वरी यादवले जानकारी दिए ।

बाढीका कारण त्यहाँका प्रत्येक घरमा करिब ५ – ६ फिटसम्म पानी जमेको छ । लगातारको वर्षाका कारण गोबरगाढाबाट ६१ परिवार ज्यान जोगाउन हनुमाननगरको बाँधमा आएर बसिरहेका छन् । ६१ बाढी पीडित परिवारलाई हनुमाननगनर कंकालिनी नगरपालिकाको सहयोगमा वडा कार्यालयले चिउरा, भुजा, त्रिपाल, नुन, चाउचाउ, खाने तेललगायतका सामग्रीहरु वितरण गरेको वडाअध्यक्ष यादवले जानकारी दिए ।

गोबरगाढाबासीहरु बर्सेनी बाढीको चपेटामा पर्दै आएका छन् । तर पनि यहाँका स्थानीयको सुरक्षित बसोबासका लागि अहिलेसम्म कसैले पनि चासो नदेखाएकको वडाध्यक्ष यादवले बताए । बाढीकै कारण हनुमाननगर कंकालिनी नगरपालिका – ११ इनरुवाका १५ परिवार विस्थापित भएका छन् । कयौँ बिगाहा खेतीयोग्य जमिन डुबानमा परेकाले स्थानीय कृषकहरु थप समस्यामा परेको वडाध्यक्ष मोही यादवले बताए ।