व्यंग्यः घुस लिन्या, घुस दिन्या र फासफुस पान्र्या

व्यंग्यः घुस लिन्या, घुस दिन्या र फासफुस पान्र्या

पृथिवीका किस्सा :

उहिले नै उहिले धेरै नै पहिले पृथिवी नारान शाह भन्ने राजा थिए । उनैले नेपाल सानो दुःखले आज्र्याको मुलुक होइन भनेका थिए । अहिले सम्झिल्याउँदा शायद ठूलै दुःखले आज्र्याको होलान् जस्तो लाग्छ । एकाध रोपनी, आना वा एकाध बिघा, कट्ठा, धुर जग्गा जमिन जोगाड गर्न त कस्तो दुःख हुन्छ भनेपछि करोडौं बिघा, रोपनी जग्गा राजा पृथिवी नारानले कसरी जोरे होलान् ? लर्तरो दुःख थिएन नै भन्नु पर्छ । 

हुन त उनले कतै मित लगाएर, कतै ससुराली बनाएर, कतैकतै जोरजबर्जस्ती गरेर यतिको हिमाल, पहाड र तराईसमेत भएको नेपालको जग्गा जोरे भनिन्छ । जेहोस्, उनले जे गरेर भए पनि जोर्न चैं जोरेकै हुन् । त्यसैले साना दुःखले हैन, ठूलै दुःखले जोरेको कुरा मान्नु पर्छ ।

कथा यतिमै सकिँदैन । पृथिवी नारानका अनेक किस्सा छन् । उनको किस्सा कहेर सकिँदैन । तर उनले गरेका अनेक किस्सामध्येको नामूद किस्सा चैं घुस हो । आजभन्दा सयौं बर्ख अगाडिदेखि यो किस्सा चलिरहेको छ । पृथिवी नारानले चलाएको राजतन्त्रको थिति मास्सिएर गैसक्यो । कमल थापा र केही जोगी, फकिर, सन्यासीले कुरो नउठाउने हो भने आजका नानीहरुले त्यो कथा पनि विर्सिसकेका हुन्थे । उनै नारान शाहका अपुताली नारानहिटीबाट नागार्जुनतिर सरेको पनि पत्तो पाउने थिएनन् । तर यो घुसको किस्सा चैं दिन दुई गुना, रात गुनैगुना बढेको छ । भागा, घटाउ हुने छाँटकाँट छैन ।

घुस भाइरल:

घुस जो आज पनि उत्तिकै भाइरल भैराखेको छ, नारान शाहको पालादेखि सुरु भएको घुस रोकिने थामिने सङ्केत त छँदैछैन । यो नेपाली जनजीवनमा पूरै भिज्न पुगेको छ । कहाँ छैन घुस ? विश्वविद्यालयदेखि प्राथमिक विद्यालयसम्म । प्रहरी हेडक्वाटरदेखि चौकीसम्म । अड्डा, अदालत, मालपोत, मन्त्रालय, विभाग अझ घुस हेरीबुझी जाँची पुर्पक्ष गर्ने अख्तियार सबैतिर घुस भाइरल छ । घुस किस्साको भाइरल नाप्ने हो भने यसको टीआरपी, सिआरपी कसैको भन्दा शायदै अरु किस्साको हुँदो हो । गिनिज बुकमा लेखाउने हो भने घुस किस्सा नै प्रथम हुने । संसारमा जति आश्चर्य छन् तीभन्दा महाआश्चर्य घुस किस्सा नै हो ।

किस्सामा गल्ती:

यद्यपि, पृथिवी नारानले घुस किस्सालाई ‘सेबोटेज’ गर्न बनाएको महानवाणी चैं अपुरो नै भयो । त्यै भएर यो किस्साले निरन्तरता पाएको हो । उनले घुस लिन्या र दिन्यालाईमात्र दोषी ठहर गरे । कुरो झट्ट सुन्दा ठीकै हो भन्ने लाग्न सक्छ । तर घुस लिन्या र दिन्यामात्र दोषी होइनन्, यी दोषीलाई पाता फर्काउने, चारपाटा मुडेर दामल गर्ने अड्डा त्यो भन्दा बढी दोषी हो । अझ आजकाल त घुस दिन्या दोषी मानिंदैन, लिन्यालाई मात्र मानिन्छ । यो प्राकृतिक न्यायको सिद्धान्त विपरित छ । घुस दिनेले घुस नदिईकन घुस लिनेले कसरी पाउँछ ? 

यसर्थ, घुस दिन्या र लिन्या दुबै दोषी हुन् भनीकन नारान शाहले भनेका हुन् भन्ने हाम्लाई लाइरा’छ । दुबैलाई पाता फर्काउनु पर्ने तर त्यसो हुन सकेको छैन । अझ नारान शाहको महानवाणीमा अर्को किस्सा पनि थप्नु पर्छ । त्यो वाणी भनेको फास्साफुस्सा पार्ने पनि दोषी हुन भनीकन । यसो भएपछि घुस लिन्या, घुस दिन्या, घुसलाई फासफुस पान्र्या सबै दोषी हुन्याछन् ।

फासफुस पान्र्या प्रमुख:

घुस दिन्या प्रथम पक्ष हो । घुस लिन्या दोस्रो पक्ष । घुस लियाको हो होइन तहकिकात गर्ने प्रमुख पक्ष हो । यो प्रमुख पक्षले घुस दिन्यालाई त आजसम्म छुन सकेको होइन । घुस लिन्यासम्मलाई यसो दामल गर्न खोज्छ । तर, दामलमा हिसावकिताव मिल्यो भने सुनपानी छर्केर चोख्याइदिन्छ । जसले दामलको भाउ बुझेन, भाउ बुझाउन नसकेमात्र त्यसको हुर्मत जाने हो । भाउ बुझाउन नसक्नेले भर्खरैमात्र छतबाट हाम्फालेर इहलिला समाप्त पारेको उदाहरन यसैले भएको हुन सक्छ ।

नारान शाहले ल्याएको कार्यदिशा ‘घुस लिन्या र दिन्या’ यसलाई छोटकरीमा ‘घुलिदि’ पनि भनिन्छ । यो कार्यदिशालाई आजको राजनैतिक, सामाजिक, आर्थिक र सांस्कृतिक विकास अनुसार परिमार्जन, संशोधन या पुनर्लेखन गर्न नसक्ता नै घुस किस्सा भाइरलबाट भाइरस भएको छ । ठोस समयको ठोस विश्लेषण गरीकन घुस फासफुस पान्र्या तेस्रो पक्षलाई पाता कस्ने, दामल गर्ने र चारपाटा मुड्ने जनताजनार्दन अगाडि नआएसम्म हुने यस्तै हो । कि कसो ? (समयबद्ध साप्ताहिकबाट)