भारतको संसदीय चुनावअघि राम जन्मभूमि अभियान बन्द

 भारतको संसदीय चुनावअघि राम जन्मभूमि अभियान बन्द

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) को सहयोगी संगठन  विश्व हिन्दू परिषद्ले आगामी संसदीय चुनाव सम्पन्न हुनु अघि चार महिनासम्म अयोध्यामा राम जन्म भूमिसम्बन्धी कुनै पनि अभियान सञ्चालन नगर्ने घोषणा गरेको छ ।

विश्व हिन्दु परिषद्को यो घोषणा आफैमा चकित पार्ने खालको रहेको छ । भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले अयोध्यायको विवादित ६७ एकड भूमिमा राम मन्दिर बनाउने सम्बन्धमा दायर मुद्दामा सर्वोच्च अदालतलाई सक्दो छिट्टो फैसला गर्न आग्रह गरिरहेको बेला यो घोषणा सार्वजनिक भएको हो । हिन्दूको पक्षमा लबिङ गरेर चुनाव आफ्नो पक्षमा पार्ने भाजपालाई यसले धक्का दिएको रुपमा लिइएको छ । 

अयोध्याको बाबरी मस्जिद राम जन्मभूमिमा बनाइएको भन्दै त्यसलाई भत्काइदिए यता करिब तीन दशकदेखि धेरै मुद्दा अदालतमा विचाराधीन रहेका छन् । 

त्यसमा राम जन्मभूमिको निक्र्यौल गर्ने सम्बन्धीलगायतका कतिपय फौजदारी अभियोगका अभियुक्तहरूको मृत्यु समेत भइसकेको छ ।

त्यसमध्ये राम जन्म भूमिको निक्र्यौल गर्ने मुद्दाको फैसला छिट्टो गर्न भाजपा सरकारले अदालतलाई आग्रह गरिरहेका बेला परिषद्ले लोकसभाको चुनाव सम्पन्न नभएसम्म यस्ता गतिविधि नगरिने जनाएको छ । परिषद्का अनुसार यो निर्णय प्रयागराजमा बसेको धर्म संसदबाट लिइएको हो ।

परिषद्का अन्तर्राष्ट्रिय अध्यक्ष आलोक कुरमारले यस्तो जानकारी दिएका हुन् ।