जनताले मासूभात खोजेका छन् सरकारले दालभात पस्किएको छ : हरिबोल गजुरेल 

जनताले मासूभात खोजेका छन् सरकारले दालभात पस्किएको छ : हरिबोल गजुरेल 

१० साउन । विनोदराज स्मृति प्रतिष्ठानले सिन्धुलीका बामपन्थि नेता विनोद दाहालको तेस्रो स्मृति सभा बिहीबार काठमाडौंमा अन्तक्र्रिया कार्यक्रम गर्दे सम्पन्न गरेको छ । 

कार्यक्रममा विनोद दाहालको बाल्यकालको जीवनकासाथै उनले बामपन्थि राजनीतिमा खेलेको भूमिकाका बारेमा उनका समकक्षीहरुले खुलेर चर्चा गरे । 

कमल दाहालको सभापतित्वमा भएको कार्यक्रममा प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले सुनकोशीमा पौडीबाजी खेल्नुकासाथै बाल्यकालका घटनाक्रमबारे स्मरण गरे । उनले विनोद सानैदेखि अध्ययनशील, तीक्ष्ण क्षमता र कहिलेकाहिँ दुस्साहसमेत देखाउने मित्र भएको स्मरण गरे ।
दाहाले कम्युनिष्ट आन्दोलनमा देखिने निराशाबाट कार्यकर्तालाई बचाएर अगाडि लैजानुपर्नेमा जोड दिँदै नेतृत्व यसमा बिशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य एवम् सिन्धुली जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हरिबोल गजुरेलले विनोद दाहाल एक अध्यनशील र जनतालाई निराशाहुनबाट जोगाउने क्षमतायुक्त नेता भएको स्मरण गर्दै दाहालको ह्दयमा सदैब क्रान्तिकारी हुँकार हुने गरेको बताए ।

                                                         स्वर्गीय विनोद दाहाल 

अर्को एक प्रसंगमा सांसद गजुरेलले आफु दोस्रो दर्जाको नेता भएकाले सदनमा बोल्दा आफ्नो आवाज सुनुवाई नहुने भएकाले त्यहाँ बोल्नुको कुनै अर्थ नभएको बताए । आफुलाई जनताले मतदान गरेर सांसद बनाएको भएतापनि आफु जहिल्यै पनि जनताको बिचमा गएर यथार्थ बोल्ने गरेको पनि उनले बताए ।

उनले संघीय संसद पुरानै ढर्रामा चल्ने गरेको पनि आरोप लगाए । बर्तमान केपी ओली सरकारले राम्रो काम गरेको तर प्रचार कम भएकाले जनताले सबै राम्रा काम थाहा पाउन नसकेको पनि गजुरेलको भनाई थियो । गजुरेलले भने, “केपी ओली नेतृत्वको बर्तमान सरकारले काम नगरेको होइन, तर यहाँ के भयो भने जनताले मासूभात खोजेका छन् सरकारले दाल भात पस्कियो ।”

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला सह–इन्चार्ज उमा कोइरालाले आफुले विनोद दाहाललाई अध्ययनशील नेताको रुपमा पाएको बताइन् । उनले कम्युनिष्ट आन्दोलनमा कार्यकर्ताको समस्या बुझ्ने र समाधान गर्ने परिपाटी हराउँदै गएकोमा चिन्तासमेत व्यक्त गरिन् ।

बापमन्थी नेता भूपाल बरालले सिन्धुलीको बाम आन्दोलनलाई जिल्लामा स्थापित गर्न कुशल रणनीति बनाउन विनोदको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे । कार्यक्रममा जिल्ला विकास समिति सिन्धुलीका पूर्व सभापति रमेश कार्कीले विनोदसँगको सहकार्यको स्मरण गर्दै एकजना कुशल नेता, असल मित्र गुमाएको बताए । 

यस्तै, नेकपा सुनकोशीका अध्यक्ष अशोक गिरीले सुनकोशीमा बामपन्थी राजनीतिलाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विनोद आफ्नो अभिभावकजस्तो भएको स्मरण गरे ।

सोही सन्दर्भमा आयोजना गरिएको ‘कम्युनिष्ट सरकारको डेढ वर्ष र कम्युनिष्ट आन्दोलनका चुनौती’ विषयक अन्तरक्रियामा राजनीतिक विश्लेषक हरि रोक्का, नेकपा केन्द्रीय सदस्य तथा सांसद गणेश पहाडी र नेकपा सिन्धुलीका अध्यक्ष तथा प्रदेश सभा सदस्य राजन दाहालले नेपाल सरकारले गरेका काम, गर्नुपर्ने काम र गर्न बाँकी रहेका कामका बारेमा चर्चा गरेका थिए ।