भेनेजुएला संकटको प्रभावः नेपालमा तेलको मूल्य बढ्नु

भेनेजुएला संकटको प्रभावः नेपालमा तेलको मूल्य बढ्नु

काराकास । भेनेजुएलाको संकट समाधानको लागि राष्ट्रपति निकोलस मदुरोले निर्वाचन एक उपाय हुनसक्ने विचार सार्वजनिक गर्नासाथ दक्षिणपन्थी विरोधीहरु कार्यक्रमविहीन भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यता भेनेजुएलाको संकटसँगै नेपालमा भने पेट्रोलियम पदार्थमा सरकारले मूल्य वृद्धि गरेको छ । 

भेनेजुएलाबाट तेल ल्याउने ठूलो राष्ट्रमा भारत पनि पर्छ । भारतको भेनेजुएला चौथो तेल ल्याउने देश हो । भारतबाट नै नेपालमा इन्धन आउँछ । यो संकट लम्बिदैं जाँदा मूल्य थप बढ्नसक्ने सम्भावना रहेको आयल निगम स्रोतले जनाएको छ ।

विपक्षीहरुले गएको शुक्रवार विरोध प्रदर्शन गरेपछि राष्ट्रपति निकोलस मदुरोले समय अगाडि नै निर्वाचन गर्न सक्ने घोषणा गरेका थिए । उनले निर्वाचन एक उत्तम उपाय हुनसक्ने बताए । नियमित निर्वाचन् सन् २०२० मा हुनुपर्ने हो । तर सन् २०१७ को संविधान सभाको निर्वाचनको परिणाम विपक्षीहरुले स्वीकार नगरेका र अर्काे निर्वाचनको माग गरेकोले त्यस अगावै निर्वाचन गर्न सकिने राष्ट्रपति मदुरोले बताएका हुन ।

 यता सोमबार बसेको पार्टी सचिवालय बैठकले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्दै त्यहीँका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्दछ भन्ने पार्टीको अडान यथावत राखेको छ । पार्टीको अडानमा कुनै पनि भ्रम नराख्न र सोसम्बन्धी विषयलाई लिएर गलत प्रचार नगर्न सबै पक्षलाई सचेत गराइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चार माध्यमलाई जनाएका हुन । 

बैठकपछि प्रकाशित विज्ञप्ति 

‘हाम्रो पार्टी संयुक्त राष्ट्र संघको बडापत्र र पञ्चशीलको सिद्धान्तप्रति सदा प्रतिवद्ध छ । हाम्रो पार्टी हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछ,’ पार्टी सचिवालय बैठकको निर्णयबारे जानकारी गराउँदै प्रवक्ता श्रेष्ठले भने, ‘कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक, शान्तपूर्ण बाटोबाट समाधान गर्नु पर्दछ भन्ने मान्यता राख्दछ’, वक्तव्यमा भनिएको छ ।