जलविद्युत परियोजना मेलम्चीकै नियतितिर 

जलविद्युत परियोजना मेलम्चीकै नियतितिर 

काठमाडौं । ‘समृद्ध नेपाल र सुखी नेपाली ’ नारा बोकेको वर्तमान सरकारले नेपालका जलविद्युत परियोजना निर्माणमा भइआएका ढिलासुस्तीलाई हटाइ समयमा पूरा गर्नुपर्ने आवश्यकतामा अर्थविद्हरूले जोड दिएका छन् ।

वैकल्पिक ऊर्जाको महत्व आफ्नो स्थानमा रहेको भए पनि भरपर्दो विद्युतको मुख्य स्रोत अझ पनि जलविद्युतको रहेकाले जलविद्युतका परियोजनालाई समयमा पूरा गराउन विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ ।

अर्थविद् डा. उमाशंकरप्रसादले नेपालको समृद्धिका लागि अझ पनि जलविद्युत ऊर्जाको महत्वपूर्ण स्रोत भएको बताए ।

नेपालको महत्वाकांक्षी खानेपानी परियोजना मेलम्चीमा देखिएको प्रवृतिबाट जलविद्युत परियोजनालाई जोगाएर समयमा पूरा गर्नुपर्ने आवश्यकतामाथि जोड दिदै उनले भने “मेलम्चीमा देखिएको प्रवृति जलविद्युतमा प्रभावशाली भए सबै ध्वस्त हुनेछ । अझ पनि बाँकी रहेका केही सानातिना राजनीतिक मतभेदलाई समाधान गरी समृद्धिको बाटो खोज्ने हो भने जलविद्युत मुख्य प्राकृतिक स्रोत हुनेछ ।”

यस्ता परियोजनाबाट उत्पादन हुने बिजुली महँगो भएपछि त्यो खेर जाँदैन भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने “त्यसका लागि योजना बनाउनु पर्छ । उत्पादनका विभिन्न तत्वहरूमा ऊर्जा मुख्य भएकाले अन्तिम उत्पादन हुने वस्तुको अन्तिम मूल्य निर्धारण गर्ने विषयमा अर्थविद् विशेष ध्यान पु¥याउनुपर्छ ।”

जलविद्युत उद्योग  र व्यवसायको क्षेत्रका लागि महत्वपूर्ण उत्पादन तत्व हुने भएकाले यसलाई आधारमा मानेर सरकारले नीति निर्माण गर्नुपर्ने उनले जनाए ।

उनले भने “ आगामी दिनमा विद्युतीय वाहनको प्रयोगमा बृद्धि हुनेछ । हाम्रा विज्ञहरूले त्यसलाई आधार बनाएर अल्पकालीन र दीर्घकालीन योजनालाई ठोसरूपमा बनाउनुपर्ने हुन्छ ।”

हाम्रा मुख्य शहरमा  विद्युतीय वाहनलाई चार्ज गर्न सकिने चार्ज स्टेशनको निर्माण गर्नुपर्छ ।

विद्युत उत्पादन गरेर देशमा नै खपत गर्न प्राथमिकता दिनुपर्नेमा उत्पादन पहिला नै विदेशीलाई बेच्न हतार गरिनु औपनिवेशिक मानसिकताको उपज भएको पनि विज्ञहरुको ठहर रहेको छ ।