खेलकुदमा काम पनि गर्ने कि खादा मात्र लगाइरहने सिलवालज्यू ?

खेलकुदमा काम पनि गर्ने कि खादा मात्र लगाइरहने सिलवालज्यू ?

फणीन्द्र फुयाल ज्वाला
जव कुनै पनि व्यक्ति कुनै पनि संस्थाको प्रमुखको रुपमा नियुक्त हुन्छ तव उसलाई फुलका गुच्चा, माला, अबिर र खादा पहिर्याउँदै करिव एक महिना भन्दा बढि समय त ‘सफल कार्यकालको शुभकामना’का नाममा ‘आसेपासे’हरुले शुभकामना आदान प्रदान गर्दैमा बित्ने गर्छ । यस्तो कार्यले गर्दा जो व्यक्तिलाई राज्यले जुन ठाउँमा जनताको हितको लागि काम गर्न भनि खटाएको हो उसले प्रत्येक दिन र प्रत्येक घण्टा जनताको सेवामा समर्पित हुन नसक्दा जनता तथा सेवाग्राहीहरु “जसको लागि गोठ बनायो उसकै पुच्छर बाहिर” भन्ने उखान सँग चिरपरिचित हुन बाध्य भइरहेका छन् ।

नेपाली खेलकुद क्षेत्रमा यस्तै खेल जारी छ । खेलकुद क्षेत्रको सार्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका रुपमा नवनियुक्त भएको करिव एक महिना पुग्न लाग्दासमेत सदस्य सचिव रमेश सिलवाललाई अझै स्वागत र सम्मान गर्दै फुलमाला, अबिर, अक्षता, खादा, माला र दोसल्ला ओढाउन तम्सिनेहरुको कुनै कमि छैन । सिलवालले पनि त्यसलाई उत्तिकै हार्दिकतासाथ ग्रहण गरिरहेका छन् । राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएका करिव १८५ वटा खेलकुदका बिभिन्न संघहरुमध्ये केहीले सदस्य सचिव सिलवाललाई सम्मान तथा शुभकामना दिइसकेका छन् भने केही अझै पोकामा अबिर र झोलामा खादा र माला बोकेर उनको सचिवालय धाईरहेका छन् । परिदृष्य हेर्दा यस्तो लाग्छ, यो क्रम अवको छ महिनासम्म जारी रहन्छ ।

शुभकामना र बधाईको बहानामा सदस्य सचिवसँग नजिकिने र सम्बन्धलाई बलियो बनाउने कडीका रुपमा पनि कतिपय संघले यसलाई अवसर मान्ने गरेका छन् । अवसरवादीहरुको झुण्डले यसैगरी बिगतका सदस्य सचिवहरुलाई पनि हात लिँदै आएका थिए र त्यो प्रथा अझै पनि जिवितै छ । त्यसोत खेलकुद पत्रकारहरुको संस्था खेलकुद पत्रकार मञ्चलेसमेत सिलवाललाई खादा र अबिर लगाएर बधाई तथा शुभकामना प्रदान गरिसकेको छ । त्रिवि पत्रकारिता विभागका पूर्व प्रमुख प्राध्यापक पी. खरेलका अनुसार पत्रकारले कसैलाई खादा ओढाउँदै हिँड्ने होइन उसले त देखेको लेख्ने हो । निरन्तर लेखिरहने हो । न त धर्नामा बसेकालाई सहानुभूति प्रकट गर्न भन्दै भेट्न जाने हो !

जनप्रशासन र सुशासनका कुरा गर्ने हो भने निजामति कर्मचारी, शिक्षक, प्रहरी, सेना, सशस्त्र, बिभिन्न नियोग, आयोग, प्रतिष्ठान, समिति, परिषद्, संस्थान आदिमा नियुक्त भएका पदाधिकारीले प्रत्येक दिन, प्रत्येक घण्टा आफ्नो काममा तल्लिन भई राष्ट्र र जनताको सेवामा समर्पित हुनु पर्छ । त्यसो हुन नसकेको खण्डमा अनियमितता हुन्छ । हामीकहाँ आर्थिक अनियमितता अर्थात, भ्रष्टाचारको कुरा मात्र बेलाबेलामा उठ्न गरेको भएतापनि जनताको काम गर्न खटिएका कर्मचारी तथा राजनीतिक नियुक्ति लिएर सम्बन्धित निकायको शासन सत्ता सम्हाल्ने जिम्मा पाएका प्रतिनिधहरु नै सम्मान र शुभकामनाको नाममा यसरी हप्तौँ र महिनौँसम्म बरालिएपछि उनीहरुले कसरी नीति नियम बनाउन, नीतिको पालना गर्न र कार्यान्वयन गराउन सक्लान् ? यो प्रश्न यतिबेला खेलक्षेत्रका आलोचकहरुबीच उठ्न थालिसकेको छ ।

सदस्य सचिव नियुक्त भइको तेस्रो साता रमेश सिलवाल नेपाल उमा कुङफु संघ र नेपाल टग अफ वार संघले संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सम्मान ग्रहण गर्दै । 
 

छोटो समयमै आफुमाथि यसरी आलोचना हुन थालेपछि राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव रमेशकुमार सिलवालले आफूलाई अहिले नै ‘सम्मान’ नगर्न आग्रह गरेका छन् । नेपाल उमा कुङफु संघ र नेपाल टग अफ वार संघले संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले भने– ‘म नियुक्त भएको भर्खर तीन साता जति भयो, अहिले नै मैले सम्मान गर्नलायक कुनै काम गरेको छैन । काम गर्न बाँकी नै छ । सदस्य–सचिवमा नियुक्त भएकै कारण त सम्मान गरि हाल्नु पर्दैन ।’

उनले अगाडि थपे– ‘मेरो कार्याकाल चार वर्षको हो । यो अवधिमा म सम्मान गर्नलायक काम गरेँ भने सम्मान गर्नुस् । काम गर्न सकिनँ भने ‘लायक’को अगाडि ‘ना’ थपिदए हुन्छ । बधाइ तथा शुभकामना कार्यक्रम हो भने ठीकै छ । यसलाई म स्वीकार गर्छु ।’
त्यस अवसरमा सदस्य सचिव सिलवालले विद्यालय तहबाटै प्रतिभावन खेलाडीको पहिचान गर्न सकिने भएकाले शिक्षा र खेलकुदलाई संगैसंगै लानु पर्नेमा जोड दिँदै नेताहरुलाई कुनै कुनै प्रकारले खेलकुदमा संलग्न गराउन आफूले योजना बनाइ रहेको बताए । समबबद्ध साप्ताहिकबाट