फलित ज्योतिष : फगत झूट

फलित ज्योतिष : फगत झूट

योगेश खपाङ्गी

ज्योतिष, जादू–टुनाको मामलामा भारत र नेपालमात्र होइन, संसारै पीडित छ । यसबाट फ्रान्सजस्तो विकसित देश पनि निक्कै लपेटिएको छ । फ्रान्सका पन्ध्रौं शताब्दीका नास्त्रादमश त भविष्यवक्ताको रुपमा हालसम्म संसारभरि नै प्रसिद्ध छन् । नास्त्रादमशको भविष्यवाणी त्यो बेलादेखि हालका दिनसम्म ठ्याक्ठ्याकी मिलिरहेको दाबी गरिन्छ । तर त्यसमा लेखिएको भाषा यति गोलमटोल छ कि एउटै शब्दका अनेकौं अर्थ लगाउन सकिन्छ । त्यसमा ठोस रुपमा यही नै हो भनेर दाबी गर्न सकिने कुनै आधार फेला पर्दैन ।

त्यसो त ज्योतिषले बोल्ने–लेख्ने भाषा नै प्रायः गोलमटोल नै हुन्छ । यदि कुनै चतुर ज्योतिषलाई कसैले आफ्नो जन्मिने बच्चा छोरा हुन्छ कि छोरी भनेर सोधेमा उसले दिने जवाफ ‘पुत्रो न पुत्री’ भन्ने खालको हुन्छ । यसको अर्थ जसरी पनि लगाउन सकिन्छ– पुत्र, पुत्री होइन भन्ने हुन्छ भने पुत्र होइन, पुत्री भन्ने पनि हुन्छ । न पुत्र न पुत्री, बीचको लिङ्ग भन्ने पनि लगाउन सकिन्छ ।

ज्योतिषको कपोलकल्पित भविष्यवाणीका कारण कयौं मान्छेको घरपरिवार बिग्रिएको छ भने कयौंको अकालमै ज्यान समेत गएको छ भने ज्योतिष आफैको पनि ज्यान गएका उदाहरण समेत छन् । यसै प्रसङ्गमा ओशोले एक फ्रान्सेली ज्योतिषबारे आफ्नो प्रवचनमा उल्लेख गरेका छन् । ओशो भन्छन्– फ्रान्समा एक प्रख्यात ज्योतिष थिए । उनले धेरैको भविष्यवाणी गरे । धेरैजसो मिलाए ।

एक दिन चुनौतीबस् उनले आफ्नैबारे भविष्यवाणी गरे । उनले आफ्नो मृत्यु हुने तिथि, मिति र समय तोके । उनले तोकेको समयमा अनुसन्धानकर्ताहरु वरिपरि भेला भए । उनले तोकेको समयमा जब घडीको सुई ठ्याक्कै पुग्यो, त्यसै बखत उनले त्यस बिल्डिङको सातौं तलाबाट फाल हानेर आत्महत्या गरे ।

ज्योतिषीका कारण आत्महत्या गरेका थुप्रै कारण हुन सक्छन् । त्यसमध्ये भारतमा भएको एउटा आत्महत्याको समाचार पनि उल्लेखनीय हुन्छ । २१ जुन, १९५५ मा भारतको हिन्दीभाषी अखबार ‘हिन्दूस्तान’को मुख्यपृष्ठमा एउटा समाचार प्रकाशित भयो । हेडलाइन थियो ‘परिवार के कातिल मदनमोहनलाल द्वारा आत्महत्या ः दुखांत नाटक की जड ज्योतिषीकी भविष्यवाणी’ अर्थात् परिवारै हत्या गर्ने मदनमोहनलालद्वारा आत्महत्या : दुखान्त नाटकको कारण ज्योतिषीको भविष्यवाणी । समाचार अनुसार त्यस व्यक्तिलाई कुनै ज्योतिषले उसले ३० जुन पहिले नै अवश्यमेव आत्महत्या गर्नेछ ।

फलित ज्योतिषमा अत्यधिक विश्वास गर्ने व्यक्ति भएका कारण ज्योतिषको उक्त भनाइले उसको दिमागमा घर बनाएर बस्यो । त्यसकारण उसले आफ्नो परिवारको हत्या ग¥यो ता कि परलोकमा आफू पुग्नेबित्तिकै उसले आफ्नो परिवार पाउन सकोस् । परिवारको हत्या गरिसकेपछि उसले २० तारिख गाजियावादको नजिक करिब १२ किलोमिटर टाढा साहिबावाद स्टेशन नजिकै दौडिरहेको रेलको लीगमा बसेर आत्महत्या गर्यो ।

अनुसन्धानमा एक फर्जी चेक काण्डमा मदनमोहनलालसहित ज्योतिष पनि संलग्न रहेको पाइयो । जसको भेद नखुलोस् भनी ज्योतिषले उसलाई आत्महत्या गर्न उक्साएको देखियो । उक्त ज्योतिषलाई के–कति कानुनी कार्वाही भयो, त्यसबारे जानकारी पाइएको छैन । तर ज्योतिषको मामलामा भारतभन्दा नेपाल सरकार चाहिं केही प्रगतिशील देखिन्छ । हालै मात्र भूकम्पको भविष्यवाणी गर्ने ज्योतिषलाई प्रहरीले खोरमा हालेको समाचार सार्वजनिक भएको थियो । ज्योतिषीय भविष्यवाणीका कारण कति मान्छेको घरबार चौपट भयो त्यसको लेखाजोखा भएको र कार्वाही भएको हत्तपत्त कुरा बाहिरिंदैन । यसैबीच एक प्रख्यात ज्योतिषले केही पहिले ‘शुभलाभ’ नामक नेपाली चलचित्र बनाएका थिए । फिल्म नराम्ररी ‘फ्लप’ खायो । सबैको भविष्यवाणी गर्ने ज्योतिषको आफ्नै फिल्म गुल्टिएपछि फेसबुकलगायतका सामाजिक सञ्जालमा उनलाई निक्कै मजाले मजाक बनाइयो ।

प्राचीन भारतमा ज्योतिष

नेपालका ज्योतिषीका विषयमा कुरा गर्दा भारतको कुरा नगरी जरासम्म पुग्न सकिन्न । प्राचीन भारतमा ज्योतिष शब्द ज्योतिर्विज्ञान अर्थात् खगोलशास्त्रको पर्याय थियो । त्यसबेला जसले ग्रहनक्षत्र र ग्रहको अध्ययन गथ्र्यो उसलाई खगोलशास्त्री वा ज्योतिर्विद भनिन्थ्यो भनी ‘कितना अवैज्ञानिक है ज्योतिष’ पुस्तकका सम्पादक राकेश नाथले लेखेका छन् । उनी भन्छन्– आधुनिक काल आउञ्जेलसम्ममा भारतले ज्योतिष विज्ञानमा थुप्रै प्रगति गर्न सक्थ्यो । खगोल विज्ञानको उन्नति हुनुको अर्थ थियो भौतिक ज्ञानको विस्तार हुनु र ग्रह–ताराको कुरा फलाकेर अन्धविश्वास फैलाएर उदरपूर्ति गर्नेहरुमाथि सीधै धावा ।

धन्धा एकातिर, सत्य एकातिर हुनु त स्वाभाविक हो । त्यसैले काल्पनिक लोक–परलोकको नाममा व्यापार गर्ने पण्डित, पुरोहित र तथाकथित भविष्यवेत्ता ज्योतिषहरुले बढ्दो खगोलशास्त्रको खतरा पहिले नै अनुमान गर्न थाले । त्यसैले खगोलशास्त्रमा ज्योतिष घुसाएर ज्योतिषविज्ञान भन्न थाले ।

ज्योतिषहरुले प्राचीनकालदेखि हालसम्म पनि वेदको नाममा आफ्नो दोकानदारी राम्रैसँग चलाएका थिए÷छन् । वेदमा लेखिएको छ, पृथ्वी स्थिर छ, सूर्य देवता पृथ्वीको चक्कर लगाउँछन् ।

(क) यः पृथिवीं व्यथमानमदृंहद् स जनास इंद्रः । (ऋग्वेद २/१२/१) अर्थात् हे मनुष्य, इन्द्रले सृष्टिको आरम्भमा कामिरहेको पृथ्वीलाई स्थिर गरे ।
(ख) विश्वरूपां ध्रुवां भूमिं पृथिवीमिंद्रगुप्ताम् । (अथर्ववेद १२/१/११) अर्थात् अनेक रूप भएको अचला (अस्थिर) पृथ्वीलाई इन्द्रले रक्षा गर्छन् ।
(ग) ध्रुवां भूमिं पृथ्वी धर्मणा धृतां...चरेम..विश्वहा । (अथर्ववेद १२/१/१७) अर्थात् यस अचल भूमिलाई धर्मले धारण गरेको छ, जसमा हामी विचरण गर्दैछौं ।

वेदलाई देववाणी मान्ने पण्डित–पुरोहितलाई चुनौति दिँदै आर्य भट्टले पाँचौं शताब्दीमै खण्डन गरे । उनले भने, ‘प्राणनैति कलां भूः (आर्यभटीयम्, आर्या ४) अर्थात् पृथ्वी प्राण नामक काल परिणाम (पलको षष्ठांश)मा एक कलामा चल्ने गर्छ ।
यति भनेपछि वेदलाई नै पत्थरको लकिर मान्नेहरुमा ठूलो हलचली पैदा भयो । त्यसपछि आर्य भट्टलाई झुटो सावित गर्न आक्रामक प्रयास सुरु भयो । ब्रह्मगुप्त (ई. ५९८/६६०) ले आर्यभट्टकै शब्दलाई लिएर प्रत्याक्रमण गरे– प्राणनैति कलां भूर्यदि तर्हि कुतो वज्रेत् कमध्वानम् ? (ब्रह्मसिद्धान्त, अध्याय ११) अर्थात् यदि आर्यभट्टको कथन मानियो भने पृथ्वी एक ‘प्राण’ मा एक कलामा हिँड्छ भने उनले बताऊन् कि पृथ्वी कुन बाटो भएर कहाँ जान्छ ?

पृथ्वी अचल छ भन्ने वेद वाक्य झुटो नहोस् भनी त्यसपछिका दिनमा थुप्रै पण्डितहरुले आर्य भट्टलाई तारो हान्ने काम गरे । वराहमिहिर (लगभग ई. ६००, पञ्चसिद्धांतिका १३/६–७), लल्लाचार्य (सातौं–आठौं शताब्दी, शिष्यधीवद्धितंत्र ४२÷४३), भास्कराचार्य (ई. १११४ देखि १४००, सिद्धान्तशिरोमणि, गोलाध्याय ५) आदि यसका प्रमुख हुन् ।

त्यसपछि खगोलशास्त्रलाई फलित ज्योतिषमा ढाल्ने भरमग्दुर प्रयत्न सुरु भयो । यसैक्रममा अत्रिसंहिता (३८५–३८७), महाभारत, अनुशासनपर्व (९०/११–१२), मनुस्मृति (३/१६२, १६७), निर्णयसिन्धु (परिच्छेद ३), धर्मसिन्धु (परिच्छेद ३) मा उल्लेखित श्लोकहरु खगोलशास्त्रलाई ज्योतिषशास्त्रमा ढाल्ने प्रयत्नस्वरुप रचना गरिएका हुन् ।

हुन त जुनबेला पृथ्वीलाई अचला मानिन्थ्यो, त्यसबेला निर्दिष्ट गरिएका ज्योतिषीय कुरामा केही थपघट गरिए होला । परिमार्जनसहित जबरजस्ती विज्ञान शब्द जोडेर लेप लगाउने प्रयत्न गरिएको पनि छ । यदाकदा कुनै ज्योतिषले औंला भाँचेर, कागजमा कोरेर, ग्रह–नक्षत्र हेरेर वा अरु किसिमका चटक गरेर गरिएको भविष्यवाणी काकतातीबस् मिलेको पनि हुन सक्छ । तर, २१ औं शताब्दीमा आइपुग्दा ज्योतिष एकातिर, विज्ञान अर्कातिर भएको अवस्था छ । ज्योतिषशास्त्र एक झुटको पुलिन्दा साबित भएको छ र यो केही व्यक्तिको उदरपूर्तिको साधन मात्र बनेको छ । यसलाई विज्ञान भनिए पनि वास्तवमा यो कुनै विज्ञान होइन । अझै पनि ग्रहनक्षत्रको प्रभाव र त्यसको दोषको निवारणहेतु दानदक्षिणा गर्नु फगत एक वेवकुफी सिवाय केही होइन । समयबद्ध साप्ताहिकबाट