हुम्लामा सुत्केरी व्याथ लागेकी महिलाको मृत्यु

हुम्लामा सुत्केरी व्याथ लागेकी महिलाको मृत्यु

हुम्ला, १६ साउन । जिल्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको ज्यान गएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे ज्यान गएको हो ।
टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा ज्यान गएको स्वास्थ्यचौकी प्रमुख देवेन्द्रवीर मगियाले जानकारी दिए ।

ज्यान गुमाएका टमटालाई बुधबार बिहानबाट एक्कासि सुत्केरी व्यथा लागेसँगै स्वास्थ्यचौकीमा र्पुयाइए पनि बच्चा जन्माउन नसक्दा आमा र पेटभित्र रहेको बच्चा दुवैको ज्यान गएको प्रमुख मगियाले जानकारी दिए ।
स्वास्थ्यचौकीमा प्रसूतिका साधनको कमीले आमा र बच्चा दुवैलाई बचाउन नसकिएको उनले जानकारी दिए ।

दुर्गम जिल्ला हुम्लाका प्रायः स्वास्थ्यचौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुनुले अकालमै ज्यान गुमाउने गरेका छन् । जिल्लाका महिलाले सानै उमेरमा विवाह गरेर छिटो बच्चा पाउने हुँदा उनीहरुले ज्यान गुमाउनुपरेको छ ।