नेपाल उद्योग वाणिज्य महासंघमा वैधानिक विवाद चर्किदै

नेपाल उद्योग वाणिज्य महासंघमा वैधानिक विवाद चर्किदै

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघमा प्रत्यक्ष निर्वाचित अध्यक्ष हुनुपर्ने वैधानिक विवाद चर्काउने प्रयास गरिएको देखिएको छ ।

२०७३ सालमा महासंघले विधान संशोधन गरी बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधान पारित गरेको थियो ।

अहिले आएर फेरि महासंघका केही सदस्यहरूले यसको विरोध गर्दै अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट गर्नुपर्ने  विषयलाई अगाडि बढाइरहेकाले महासंघमा विवाद चर्किएको सम्बद्ध स्रोतले जनाएको छ । 

त्यो संशोधन भएपछि महासंघको त्यतिबेलाकी बरिष्ठ उपाध्यक्ष भवानी राणा अहिले अध्यक्ष पदको जिम्मेवारी सम्हालिरहेकी छिन् ।

उनको कार्यकाल सकिएपछि अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुने लाइनमा छन् ।

चण्डी राज ढकालको अगुवाइमा महासंघका केही सदस्यहरूले बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने परिपार्टी खारेज गराउन सक्रिय भएका छन् । 

महासंघमा ढकालको पकड भएकाले ती सदस्यहरूले अगाडि बढाएर फेरि प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने प्रावधान राख्न संशोधन गर्न माग उठाइरहेका छन् ।

ढकाल समूहले यसका लागि विशेष महाधिवेशनको माग गर्ने विषयमा छलफल अगाडि बढाइरहेका छन् । 

महासंघको संरचनामा १०४ जिल्ला र नगपालिका ९३ वस्तुगत समूह र १२ दुई राष्ट्रिय संरचना रहेका छन् ।

जिल्ला र नगरपालिकाले ५० प्रतिशत मत भार राखेको छ । यसले जुनसुकै बेला चाहे विशेष महाधिवेशन गराउन सक्छ र निर्णयलाई प्रभावित पार्न सक्नेछ ।

कार्यकारी बैठकमा ढकालले विशेष महासमिति बोलाउन गरेको प्रस्तावलाई पूर्व अध्यक्ष पशुपति मुरारका र अध्यक्ष राणाले अस्वीकार गरेका थिए ।

विधान संशोधनको प्रस्ताव पहिले कार्यकारी समितिको बैठकमा छलफल हुनुपर्ने विषय हो ।

ढकालको प्रस्ताव अस्वीकार गरिएपछि उनले बैठकमा राजीनामा दिएको घोषणा गरेको सहभागी एक सदस्यले जनाएका छन् ।