सुनको भाउ आकासियो, तोलामा ६६ हजार ३ सय 

सुनको भाउ आकासियो, तोलामा ६६ हजार ३ सय 

काठमाण्डौ – सुन अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ शुक्रबार अहिलेसम्मकै महंगो तोलाको ६६ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गएको साउन १७ गते सुक्रबार सुनको भाउ तोलाको ६५ हजार ८ सय रुपैयाँ पुगेको थियो । शनिबार बन्द भएकोले सुनको नयाँ मूल्य निर्धारण भएन । आज आइतबार एक्कैचोटि तोलामा ५ सय रुपैयाँ बढेको हो ।

अमेरिकाले आउँदो सेप्टेम्बर १ देखि लागू हुने गरि चिनियाँ सामानमा १० प्रतिशत कर बढाएको तथा सेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको महासंघ अन्तरर्गतको सुनको भाउ निर्धारण समितिका संयोजक एवं पूर्व महासंघका पूर्ण अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा पनि प्रभाव परेको हो । चाँदीको भाउ भने प्रति तोलामा ५ रुपैंयाले बढेर ७७५ रुपैंयामा कारोबार भैरहेको छ । 

अमेरिका र चीन बिच चलिरहेको ब्यापार युद्ध मत्थर हुने कुनै संकेत नदेखिइनुले अन्तराष्ट्रिय लगानीकर्ताहरु सुरक्षित लगानीको रुपमा रहेको सुनतर्फ आकर्षित हुँदा सुनको मूल्य बढ्न गएको हो । 

सुनको भाउ बढ्न थालेपछि सुन पसलमा भने चहलपहल कम भएको छ । सुन सँग सम्बन्धित ब्यापारीहरु भने सुनको मूल्य अझै बढ्नसक्ने बताउँछन् । अन्र्तराष्ट्रिय बजारमा अझै बढ्ने संभावना देखिएकोले नेपालमा सुनको मूल्य तोलामा करिब ७० हजार वरिपरि आइपुग्ने संभावना देखिएको एक ब्यापारीले बताए ।