लोकतन्त्रमाथि सङ्कटको प्रसङ्ग बेकारको भूत खडा गर्ने मनोविज्ञानः मन्त्री बास्कोटा

लोकतन्त्रमाथि सङ्कटको प्रसङ्ग बेकारको भूत खडा गर्ने मनोविज्ञानः मन्त्री बास्कोटा

जनकपुरधाम, २१ साउन ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमाथि सङ्कटको प्रसङ्ग बेकारको भूत खडा गर्ने मनोविज्ञान भएको बताएका छन् । 

नेपाल पत्रकार महासङ्घ धनुषा शाखाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रमाथि सङ्कट आएको बेकारको भूत खडाप्रति बहकिन नहुने बताए ।

मन्त्री बाँस्कोटाले लोकतन्त्रमाथि कसैले पनि धावा नबोलेको उल्लेख गर्दै लोकतन्त्रमाथि सङ्कट आएको चर्चा भ्रम छर्ने दुष्प्रयास भएको उल्लेख गरे । पत्रकारहरुको एक प्रश्नका जवाफमा उनले संविधानको संशोधन बेला, समय र आवश्यकता पुष्टि भएपछि गर्न सकिने स्पष्ट पार्दै सरकारले मिडिया विरोधी कुनै पनि कार्य नगरेको बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले नेपाली प्रेसलाई विश्वसनीय बनाउन नियमनको अवधारणा अघि सारेको र नियमनका क्रममा तानाशाही नभई लोकतान्त्रिक प्रक्रियालाई आत्मसात् गरिने दोहोर्याए । 

उनले मिडिया काउन्सिल विधेयक अवश्य आउँछ भन्दै भ्रमको खेती गरी अब नेपाली पत्रकारिताले फड्को मार्न नसक्ने स्थितिको बोध सबैले गर्नु जरुरी भएकातर्फ ध्यानाकर्षण गराए । सरकार पत्रकारको हितका लागि सधैँ अग्रसर भएको उल्लेख गर्दै उनले भने “पुरानो तरिकाले पत्रकारिता मौलाउन सक्दैन, पत्रकारले आफैँ सुधार गर्नुपर्दछ ।”

मन्त्री बाँस्कोटाले सङ्घीय सरकारले प्रदेश नं २ सँग पक्षपात नगरी न्यायप्रणालीको शुरुआत गरेको उल्लेख गर्दै सिङ्गो तराईको विकासका लागि बृहत् विकासका परियोजना कार्यान्वयन गरेको स्पष्ट पारे । हिँड्दै जाने पाइला मेटिँदै जाने प्रवृत्तिबाट मुक्तिको आवश्यकतामा जोड दिँदै उनले राजनीतिको रोटी सेक्ने दिन गयो, अब जनतामाझ गरिएको वाचालाई साकार पार्न अग्रसर हुनुपर्दछ भने ।

मन्त्री बाँस्कोटाले भने “अब जनताको निगरानीमा सरकार सञ्चालन भइरहेका कारण अल्झिने र अल्झाउने कसैलाई पनि छुट छैन, उपलब्धिलाई उपलब्धिका रूपमा ग्रहण गर्नुपर्दछ ।” उनले नेपालको मिडियाले अब राजनीति मात्र लेख्ने होइन, विकास निर्माणको अनुगमनतर्फ पनि लेखन गरी सहीको वकालत र गलतलाई उजागर गर्नु आवश्यक भएको धारणा व्यक्त गरे । राष्ट्रमा निराशा होइन, उत्साहको सिर्जना हुने खोजमूलक पत्रकारिता आजको आवश्यकता हो भन्दै मन्त्री बाँस्कोटाले अब विकास, प्रगति र अग्रगति राष्ट्रिय एजेण्डालाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए ।