नवऔपनिवेशिक सँस्कृति र आर्थिक सम्बन्ध

नवऔपनिवेशिक सँस्कृति र आर्थिक सम्बन्ध

ईश्वरचन्द्र ज्ञवाली

सँस्कृतिको वर्तमान स्थिति

वर्तमान साँस्कृतिक आन्दोलनको अवस्थामाथि चर्चा गर्नु कठीन कार्य महसुस हुन्छ । सँस्कृतिको वर्तमान स्थिति अर्धसामन्ती र नवौपनिवेशिक अवस्थामा छ । यसलाई साम्राज्यवादी सँस्कृतिले घेरेको छ र उसको सहयोगमा प्रतिक्रियावादी सँस्कृतिले घेरावन्दी र उत्पीडन गरिरहेको छ ।

नवऔपनिवेशिक स्थिति

विद्यमान अर्धसामन्ती र नवौपनिवेशिक सँस्कृतिलाई अन्त्य गरेर वैज्ञानिक, जनवादी, मौलिक, स्वाभिमानी, राष्ट्रिय सँस्कृतिको स्थापना जनवादी साँस्कृतिक आन्दोलनको लक्ष्य हो । मुलुक अर्धऔपनिवेशिकताबाट नवौपनिवेशिकताको स्थितिमा प्रवेश गरेको छ । साम्राज्यवाद र विस्तारवादको हिंजोको शोषण, उत्पीडन, थिंचोमिचो, हस्तक्षेप र दासत्वको स्वरुप वा प्रत्यक्ष भूगोल र शासन–सत्ता कब्जा गरी सैन्य  हस्तक्षेप मार्फत सत्ता चलाउने शैली आज आर्थिक–राजनैतिक–सामाजिक–साँस्कृतिक क्षेत्रमा एकाधिकारी प्रभुत्व कायम गरी सञ्चालन गर्ने विधिमा परिवर्तन भएको छ । 

यसका साथै कुनै पनि देशको प्राकृतिक स्रोत–साधन र सम्पदामाथि एकलौटी स्वामीत्व कायम गर्ने पनि उसको उद्देश्य रहेको छ । तसर्थ आफ्नो साँस्कृतिक आधिपत्य कायम गर्दै उसले दलाल र दासहरुमार्फत फरक रुपमा अरु देशको सत्ता नियन्त्रण र सञ्चालनको विधि अपनाएको छ । भौगोलिक, सैनिक प्रत्यक्ष शासनभन्दा यो तरिका उसलाई सजिलो तरिका हो । यसले उसको शोषण र दोहनलाई निर्वाध चालु राख्छ । न बन्द–हडतालबाट क्षति, न वाधा–विरोध, न विद्रोह, न अडचन र समस्या, न समस्या समाधानको वाध्यता, न उत्तरदायित्व, यस्ता कुनै कुरा नझेलिकन कुनै देशमाथि आफ्नो शोषण, प्रभुत्व र आधिपत्य लाद्ने र ‘रिमोट’बाट नै सत्ता चलाउने विधि नै नवउपनिवेशवादी तरिका हो ।

तथाकथित बहुलवादी, खुला र प्रतिस्पर्धात्मक नवउदारवादी व्यवस्थालाई उसले त्यसको आधार बनाएको छ । यो शिखण्डीलाई अँगाडि उँभ्याएर पछाडिबाट तीर चलाउने षडयन्त्रकारी शैली जस्तै हो । आफ्ना दास र दलाल प्रतिनिधिहरु खडा गरेर आफ्नो अनुकूलको सत्ता स्थापित गर्दै सबै क्षेत्रमा आफ्नो स्वामित्व कायम गर्ने तथा अरु देशमाथि परोक्ष शासन गर्ने वा सत्ताको लगाम रिमोटबाट हातमा लिने यो शैली विस्तारवादको यो शताब्दीको नयाँ तरिका हो । असमान र अपमानजनक, अन्यायपूर्ण र उत्पीडनकारी सम्झौताहरु मार्फत् नेपालका प्राकृतिक स्रोत र सम्पदामा नियन्त्रण र आफ्नो हित–स्वार्थमा दोहन गरेर अर्थतन्त्रमा एकाधिकार कायम गर्दै साँस्कृतिक अतिक्रमण र आधिपत्यद्वारा राज्यसंयन्त्र सञ्चालन गर्नु उसको त्यो अभीष्ट हो । 

यसो गर्न उसले ती देशमा आफ्नो भाषा, कला, धर्म, चिन्तन, विचार, जीवन शैली आदिको आदर्शीकरण पनि गर्छ त्यसलाई सर्वोत्कृष्ट मान्न विवश तुल्याउँछ । यस अतिरिक्त विभिन्न दबाव, धम्की, घुर्की, चेतावनीहरुसँगै अन्तमा व्यक्तिहत्या वा अपराधमा समेत ऊ ओर्लिन्छ । (जस्तो मिर्जादिल सादवेग, फैजान अहमद, जमिम शाह आदिदेखि यूसुफ अन्सारीको गोलीकाण्डसम्म एउटा श्रृङ्ला छ भने दरवार हत्याकाण्ड, मदन भण्डारीको हत्याकाण्ड आदि अन्य श्रृङ्खला छन्) । यसरी नै सार्वभौमिकतामाथि हस्तक्षेप, अतिक्रमण र मिचाइद्वारा नवउपनिवेश कायम राख्छ । यो उपनिवेशभन्दा पनि खतरनाक छ । किनकि उपनिवेशमा प्रत्यक्ष सत्ता हुँदा उत्तरदायित्व त रहन्थ्यो तर यसमा हुँदैन न त कुनै जोखिमयुक्त लगानी नै गर्नु पर्छ । (बरु एकपक्षीय शोषण र दोहन गरिरहन पाइन्छ, यसका पछाडि वित्तीय पुँजीको नियन्त्रण रहेको हुन्छ ।) 

सबै दोषका भागी दलालहरु नै हुन्छन् र त्यसैले जनताको आक्रोश, विरोध र विद्रोहको तारो उसलाई बन्नु पर्दैन बरु सत्तामा बस्ने उसका दलाल प्रतिनिधिहरु नै तारो बन्छन् । 

उदाहरणका रुपमा केही समयअघि नेपालमा बुख्याँचाहरु खडा गरेर थोपरिएको नाकाबन्दी र त्यसमार्फत सार्वभौमिकता र अखण्डतामाथि नै गरिएका षड्यन्त्रलाई लिन सकिन्छ । यसले हाम्रो पराधीन सँस्कृतिको स्थितिलाई झल्काउँछ । सँस्कृतिमा नवौपनिवेशिक स्थितिको यो बाह्य रुप हो । यस चर्चापछि अब आन्तरिक स्थितिलाई केलाउनु आवश्यक हुन्छ ।

अर्धसामन्ती स्थिति

अहिले हाम्रो देशमा, आन्तरिक रुपमा, पुरानो अर्धसामन्ती सँस्कृति अवस्थित छ । राजतन्त्र (रुप पक्ष) ढलेर गणतन्त्र (रुप पक्ष) आएको छ तर सत्ताको सार र चरित्र उही छ । मान्छेका विचार, चिन्तन, सोंचाइ, सँस्कार, प्रवृत्ति, स्वभाव, आनीबानी सबैमा सामन्तवादभित्र जमेर बसेको छ । सत्ताको सामन्तवादी सँस्कृति पनि फेरिएको छैन । अर्थात् सत्ताको मूल चरित्र वा भित्री अन्तर्य पुरानै छ । वर्ग, जाति, लिङ्ग, क्षेत्र र राष्ट्रियताहरु माथिको हिंजोको शोषणमा तात्विक परिवर्तन आएको छैन । राज्यव्यवस्थाको मूल चरित्र वा मूलमर्म पनि उस्तै छ । महिला, दलित, मधेसी, थारु, दुर्गमवासी जनता र जनजातिका समस्या समाधान नगर्ने हिंजोको धारणा र चरित्रमा पनि तात्विक परिवर्तन आएको छैन । केही प्रगतिशील अंश समावेश गरिएको भने पनि सारमा प्रतिक्रियावादी सम्विधान नै जारी भएको छ । यसरी सँस्कार, प्रवृत्ति, चरित्र, चिन्तन, स्वभाव, परम्परा आदिमा हिंजोको सत्ताधारी वर्गकै सँस्कार नयाँ व्यक्तिहरुमा पनि उत्तरदेनका रुपमा सरेको छ जसले पुरानो साँस्कृतिक–सत्तामा तात्विक अन्तर आएको छैन । 

राज्य संयन्त्रमा पनि पुरानै वर्गीय सँस्कार जीवन्त छ । उही लूट, खसोट, भ्रष्टाचार, कमिशन, ढिलासुस्ती, अनुत्तरदायित्व, गैरजिम्मेवारीपन यथावत् छ । आजको सत्ता पनि कुलीन, सम्भ्रान्त, सामन्त, ठालु, मुखिया, शक्तिशाली–धनाढ्य वर्गप्रति नै उत्तरदायी र कृतज्ञ छ भने जनताप्रति अनुत्तरदायी नै छ । 

सामन्त वर्गले झैं जनतालाई नीच ठान्ने र दबाइरहने प्रवृत्तिमा फरक आएको छैन । अर्थ व्यवस्था पनि तिनकै हितमा निर्धारित भएको छ । अझ पछिल्लो चरणमा अर्थव्यवस्था तस्कर र कालाबजारियाहरुको हातमा गएको छ । राज्ययन्त्र निकम्मा सावित भएको छ ।

सीमा क्षेत्र त राज्यविहीनताको स्थितिमा छन् । देश परनिर्भर र परजीवी छ–खासगरी विस्तारवादमा आश्रित । यो कुरा त नाकावन्दीले सिर्जना गरेको जनजीविकाको संकटपूर्ण स्थितिले पनि पुष्टि ग¥यो । सीमित सम्भ्रान्त र कुलीन वर्ग, शक्तिशाली पहुँचवाला वर्ग, उच्च पदासीन व्यक्ति, नोकरशाह र दलाल पुँजीपति वर्गमा केन्द्रित सत्ताको चावी पनि उनैबाट नियन्त्रित छ । सत्तामा पुरानो सामन्त वर्ग र तिनका अनुयायी एवम् दलाल र नोकरशाह पुँजीपतिको हालीमुहाली चलिरहेकै छ । आर्थिक स्रोतमा र अर्थतन्त्रमा पनि तिनकै पकड छ । विकास निर्माणका प्रत्येक पक्षमा तिनले नै नियन्त्रण गर्छन् । प्रगति र समुन्नतिको क्षेत्र तिनकै हातमा छ । त्यसैले विकास, प्रगति, समृद्धि, योजना आदि उनीहरुबाटै नियोजित छन् । जसले विकासगत पुँजीको खर्च समेत नियोजित गरेको छ । 

कृषिव्यवस्था र कृषि पद्धतिको स्थिति पनि सामन्ती चरित्रको नै छ । न सामन्त जमिन्दारका मौजा खोसिएका छन् न भूमिहीनहरुले जमिन पाएका छन् । न उत्पादक शक्तिको पहुँच जमिनमा छ । न सुकुम्वासी समस्या समाधान भएको छ । न त कृषि मजदूरका समस्या नै समाधान भएका छन् । न कृषि उत्पादनमा प्रश्रय र उत्पादनमा वृद्धि छ न त व्यावसायिक कृषि पद्धति न उत्पादन बढेकोे छ । कृषि मजदूरको विदेश पलायनले कृषिश्रम किन्ने पुँजीपति नै छैनन् कि भन्ने भान हुन्छ । 

राज्यबाट नै कृषिक्षेत्र उपेक्षित र तिरष्कृत छ । कृषियोग्य जमिन ‘प्लटिङ्’ गरेर बाँझोमा फेरिंदै छ र अधिकांश फाँट र सम्मा उर्वर भूमि प्लटमा परिवर्तन हुँदैछन् तर राज्यलाई सरोकार छैन । ७३ प्रतिशत कृषिमा आधारित मानव शक्तिको राष्ट्रिय पुँजीमा योगदान जम्मा ३३ प्रतिशत छ र बाँकी ४० प्रतिशत भने निर्वाह गर्न पनि असक्षम छ । निर्वाहमुखी कृषि उत्पादनले जमिनको क्षमताभन्दा धेरै कम मात्र उत्पादन गर्छ । 

युवाहरुको दैनिक हजारौंको विदेश पलायनले रोजगारीको अभाव र ज्यालादारी मजदूरीको अवसर पनि कति न्यून छ भन्ने पुष्टि गर्छ । यता फाँट र मैदान, खेत र बारी बाँझो हुँदैछन्, पहाडमा हिंजो खेती गरिने भूमिको २५ प्रतिशत बाँझोमा परिणत भएको सरकारी आँकडाले भन्छ, उता युवा अरबका खाडीमा उँट र भेंडा चराउँछन् । घरेलु नोकरको जागीर खान्छन् । रेमिटेन्सले देश धानिएको त भनिएको छ तर त्यो नेपाल भित्रिएर फेरि विदेशतिर नै भोगी–विलासी वा उपभोग्य वस्तु र साधनका लागि बाहिरिन्छ । त्यसले कुनै राष्ट्रिय योजनामा सहयोग गर्दैन । न त विकासको आधार निर्माण र जीवनस्तर वृद्धिमा नै सहयोग गर्छ । रेमिटेन्सको पनि उपयोग निर्वाहमुखी छ । देशमा विद्यमान रोजगारी–शून्यताको कहाली लाग्दो स्थितिले नै यस्तो जनशक्तिको पलायन भएको हो । 

मष्तिष्क पलायनको रोग त अर्कै छ । वौद्धिक शक्ति पनि तबाह छ र पलायनमुखी भएको छ । राज्यले करोडौं लगानी गरेर तयार गरेको वौद्धिक जनशक्ति तयार भएपछि विदेश पलायन हुन्छ । विगत ३० वर्षमा ३ हजारले पनि थप जागिर पाएनन् उल्टै भएका राज्यका कारखाना अधिकांश बेचिए वा बन्द गरिए । नवउदारवादी अर्थव्यवस्थाले तिनको निजीकरण गर्दै देशका ठूला र आधारभूत उद्योग जो मित्रदेशहरुको सहयोगमा निर्मित थिए बिक्री र बन्द गरिदियो । यसले ७० हजारभन्दा बढीको रोजगारी नै खोसियो र नयाँ सिर्जना भएन । 

उmर्जाको क्षेत्र पनि संकटग्रस्त छ । यो यान्त्रिक, इलेक्ट्रोनिक र विद्युतीय सामग्री तथा सञ्चार प्रविधिले नियन्त्रित युगमा १६ घण्टासम्म लोडसेडिङ भयो, अहिले बत्ती त केही बलेको छ तर औद्योगीकरणका लागि छैन । यस्तो अवस्थामा उत्पादन वृद्धि र पुँजीको विकास कसरी होला ? उत्पादन बढ्नुको साटो घटेर चामल, तेल, दाल, तरकारी, सागपात, फलपूmल, लहसुन, माछा, मासु, केरा, मसला वा यस्तै अन्य धेरै खाद्य सामग्री मात्र निर्यातको साटोे आयात हुन्छ त्यो पनि अरबौंमा । कहाँ वृद्धि भएको छ–कृषिउत्पादन ? कहाँ बिक्री भएको छ कृषि ज्यालादारी श्रम ? ज्यालादारी कृषिश्रमको विस्तार भएको हो भने त्यसले के उत्पादन बढ्यो त ? कृषिश्रम ज्यालामा बिकेको हो भने उत्पादन बढ्नु पथ्र्यो त्यस्तो भएको छैन । नेपालमा नै ज्यालामा श्रम बिक्री हुने भए दैनिक दुईहजार मजदुरहरु श्रम बेच्न किन विदेश पलायन हुन्छन् रु यसको उत्तरै नदिई देश पुँजीवादमा प्रवेश गरेको हौवा चलाइएको छ । 

पुँजीवादको पहिलो काम उत्पादन वृद्धि र नाफाबाट पुँजीको सञ्चय हो । रोजगारी वृद्धि र ज्यालादारी रोजगारीको व्यापकता हो । राष्ट्रिय पुँजीपतिको विकास र औद्योगीकरण तर्फको यात्रा हो । पुँजीको विकास र त्यसको सामाजिक हस्तक्षेप पनि हो, तर त्यस्तो कतै देखिंदैन ।

राष्ट्रिय चिन्तनविनाको सँस्कृति

आजको नेपाली सँस्कृतिको मूलधार राष्ट्रिय चिन्तन विनाको छ , त्यसैले राष्ट्रिय चिन्तन मरेको छ, राष्ट्रिय भाव धराशायी छ । राष्ट्रिय सोंच र राष्ट्रिय भावना भएको विशाल छाती भएको व्यक्ति नेतृत्वमा पुग्दैन । व्यक्तिवाद, व्यक्तिवादी प्रवृत्ति, व्यक्तिस्वार्थ, ‘म खाऊँ मै लाऊँ’को सामन्ती प्रवृत्ति, मोजमस्ती र विलासी, उपभोक्तावादी चिन्तन, ठगी, लुट, बेइमानीको सँस्कृति व्याप्त छ । व्यक्तिवाद र व्यक्ति–चिन्तन हावी हुनु भनेको सामन्ती प्रवृत्ति नै हो । राष्ट्रिय स्वार्थको लागि व्यक्तिस्वार्थको वलिदान होइन, यसको उल्टो व्यक्तिस्वार्थको लागि राष्ट्रिय स्वार्थको वलिदान कायम छ । 

सामूहिकता र सामाजिक चिन्तन मरेको छ भने वैयक्तिकता र व्यक्तिचिन्तन मौलाएको छ । यो अवस्था कसरी पुँजीवाद हुन सक्छ ? यो त सामन्तवादकै निरन्तरता हो । यसले सबैलाई चाकरी, चापलुसी, दलाली, दासता, दीनता–हीनताको सँस्कारमा कायम राखेको छ ।

सिंगो राष्ट्रको मानसिकता नै दासता, दलाली, दीन–हीनता, चाकरी, चापलुसी, लघुतामा परिवर्तन भएको छ । स्वाभिमानलाई दिल्लीधाममा चढाएर ज्यु–हजुरी गर्ने, सत्ताको भिख थाप्ने, उसकै प्रतिनिधिका रुपमा सत्ताको जागिर खाने, भत्ता पचाउने, त्यही प्रभुको प्रशंसा गर्ने, गुणगान गर्नेमा नै राष्ट्रिय मानसिकता फेरिंदै गएको छ । देश झन् भन्दा झन् गरिबी, अभाव, दूरवस्थातर्फ पतन हुँदै समस्यामा जकडिंदै गएको छ । उत्पादनको शून्यता र जीवनस्तरको ऋणात्मकताले सोही पुष्टि गर्छ । युवा पलायनले पनि उत्पादनमा ठूलो नकारात्मक प्रभाव पारेको छ । युवामा नै अराजकता र अनुशासनहीनता मौलाउँदो छ । युवा पलायनले पारिवारिक विघटन पनि शुरु भएको छ । विकृति र विसंगति पनि मौलाउँदो छ र चारित्रिक पतन पनि ल्याएको छ । 

नियमित एयरपोर्टमा आउने कफिनहरुले बुढाबुढी र केटाकेटीको परिवार बिचल्ली र बेसहारामा पुगेको छ र विदेशिनेको ऋण र व्याजको बोझ पनि तिनैमा थपिंदो छ । यसबाहेक देशभित्रै युवामा निराशा छ, खिन्नता छ, कुण्ठा छ, आत्मग्लानि छ । 

कहीं कतै प्रतिभाहरुको कदर छैन, सक्षम वौद्धिक प्रतिभा अवसरको अभावमा मरेर गइरहेछ । एकप्रकारले राष्ट्रिय निराशा र राष्ट्रिय कुण्ठाको चरित्र निर्माण भइरहेछ । घट्दो कृषि उत्पादन, असुरक्षित कृषिश्रम, कृषिकर्ममा हतोत्साह गर्ने प्रवृत्ति, राज्यपक्षको उदासीनता, सिंचाइमा प्राकृतिक भरोसा, श्रमशील मिहिनेती युवामा आत्मग्लानीको भावले नै राष्ट्रिय उत्पादन धराशायी बनेको हो । श्रम गर्नेहरु हेय र अपमानित हुने सँस्कृति सामन्ती सँस्कृति हो । श्रमप्रतिको घृणाभावले त्यसलाई पुष्टि गर्छ । यसले श्रमसँस्कृति मर्दै र निष्क्रिय उत्पादन शक्ति बढदै गएको छ । जसले देशमा पुरानो अद्र्धसामन्ती सँस्कृतिको राजलाई यथावत् देखाउँछ । केही बाह्य रुपगत परिवर्तन देखिए पनि पुरानो साँस्कृतिक सत्तालाई राजनैतिक परिवर्तनले खासै बदल्न सकेको छैन । 

अभाव, गरिबी, परनिर्भरता र परजीविताको सँस्कृतिमा रुमल्लिएको छ–समाज । विचार, चिन्तन र आदर्शको सँस्कृति पतनको दिशातर्फ लागेको छ । देशप्रेम, राष्ट्रिय भावनाको क्षयीकरण र व्यक्तिवादी स्वार्थान्धताको अभिवृद्धिले नैतिकता र इमान्दारिता हराएको छ । अनैतिक र बेइमानहरुको प्रतिष्ठा चुलीमा छ । यो व्यक्तिवादी, व्यक्तिनिष्ठ, व्यक्तिस्वार्थी, व्यक्तिहितको अनैतिक सँस्कृतिकै परिणाम मान्छेले नैतिक मूल्य र आदर्शलाई पैसामा बेच्न थालेको छ । उपभोक्तावादले समाजलाई गाँजेको छ र यस्तो समाजले राष्ट्रका लागि, समाजका लागि सोंच्ने कुरा आउँदैन, बेच्ने कुरा आउँछ । 

राष्ट्रिय भावलाई नै उसले उपभोग गरिदिन्छ, बेचिदिन्छ । यसैले राज्य सञ्चालन र राज्य संयन्त्रमा पुगेको नेतृत्व वा पदाधिकारी व्यक्तिस्वार्थलम्पट, अवसरवादी, अनैतिक, अनुत्तरदायी, नीच, भ्रष्ट र कृतघ्न बनेको छ । यही उपभोक्तावादी सँस्कृतिले नेपाली समाजमा अहिले साम्राज्य चलाइरहेको छ । जसको परिणाम पुरानै सभ्यता मौलाएको छ । पुरानै रुढिवादी, भाग्यवादी, अन्धविश्वासी, कर्मकाण्डी, पुरोहितवादी, अलौकिक–रहस्यवादी सँस्कृतिमा आज पनि खास फरक आएको छैन । यसैले समाजका सञ्चालकहरुको विचार, चिन्तन, सोंच, अवधारणामा पनि सामन्ती सँस्कृति नै छ । 

प्रगतिशील भन्नेहरुमा पनि चिन्तन र व्यवहारमा, बोली र आचरणमा मेल छैन । उनमा सामन्ती व्यवहार नै प्रभावी छ । शब्द र कर्मको सामन्जस्य, बोली र व्यवहारको तालमेल नभएपछि कम्युनिष्ट आदर्श जोगिन सक्दैन । ‘भन्ने एकथोक गर्ने अर्को थोक’को पाखण्डी चरित्रले नै यस्तो स्थितिमा पुराएको हो । जसले हिंजो वर्गसंघर्षले उठाएका विषयहरु ओझेलमा परे र प्रतिक्रियावादीहरुले त्यसलाई निरस्त तुल्याइदिए । त्यसैले नै महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम, समुदायका समस्या समाधान हुन सकेनन् । यसमा हिंजोकै सामन्ती सँस्कृतिको भूमिका रहेको छ । तर हिंजोको सामन्त वर्ग आफ्नो मियो ढलेपछि दलाल वर्गमा परिणत हुँदै गएको छ । हिंजो दरवार केन्द्र थियो, आज दिल्ली केन्द्र बन्न थालेको छ । यसले उत्तरी छिमेकी देशसंगको सम्बन्धलाई पनि नकारात्मक प्रभाव पार्दै अविश्वसनीय र तरल बनाइदिएको छ । यस्तो हुनु पनि हिंजोकै सँस्कृतिको निरन्तरता हो । छिमेकी देशहरुसँगको हिंजोको असमान र असन्तुलित सम्बन्ध र मित्रतामा कुनै तात्विक फेरबदल नआउनु र एकपक्षीय निर्भरताको प्रवृत्ति सामन्तवादकै निरन्तरता हो । अर्थात् असन्तुलित छिमेकी सम्बन्ध सामन्तवादी हुन्छ जुन कुनै सिद्धान्तनिष्ठाबाट चल्दैन । 

कसैसँग पनि विशेष सम्बन्धको कुरा दास सँस्कृति र दलाल सँस्कृतिकै निरन्तरता हो । यसले हीन मानसिकता नै जमाउँछ । स्वाभिमानपूर्वक, ठाडो शीर गरेर निरीह भावनाविना आफ्ना अडान राख्न नसक्नु र आफ्नो हित र स्वार्थ कायम गर्न नसक्नु त्यसैको अभिव्यक्ति हो । यसैलाई दलाली र दासताको सँस्कृति भनिन्छ । कैयौं असमान, अन्यायपूर्ण, बलात् लादिएका सन्धीसम्झौताबारे बोल्न नसक्नु, ‘पुनर्विचार गर्नुपर्छ’सम्म भन्न नसक्नु दमित मनोभावको सामन्ती चरित्रकै अवस्था हो । विस्तारवाद दमन, घुर्की, धम्की, नाकाबन्दी, अत्याचार, थिंचोमिचो आदि यावत् उपाय प्रयोग गर्छ । नभए व्यक्तिहत्यामा समेत ओर्लन्छ । यस्तो नीच सम्बन्धलाई फेर्न नसक्ने हो भने हामी स्वाधीन र स्वतन्त्र नाम मात्रका रहन्छौं । यतिखेर उसले आफ्ना विभीषणहरु र बुख्याँचाहरु खडा गरेर, शिखण्डीहरु उँभ्याएर पछाडिबाट तीर चलाउने काम गरिरहेको छ । विखण्डनवादी र राष्ट्रघातीलाई सहयोग गरेको छ र उचालिरहेछ । तर अर्धसामन्ती र नवऔपनिवेशिक सँस्कृतिले त्यसको प्रतिरोध गर्न सक्दैन । 

विस्तारवादले आफ्नो देशको शान्ति र सुरक्षाको प्रश्न उठाएर नेपालमाथि हस्तक्षेप गर्ने र यहाँको आन्तरिक व्यवस्थापनमा समेत चासो राख्दै दलालहरुलाई सत्तामा स्थापित गर्ने कुरा नेपालको स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता, सार्वभौमिकता आदिका विरुद्ध छ ।

त्यतिमात्र होइन नेपालको भौगोलिक अखण्डता विरुद्ध उठेका देशद्रोही शक्तिहरुलाई दिल्ली बोलाएर सहयोग गर्ने र उक्साउने समेत गरेको छ । त्यस्तै उसले जातीय प्रश्नलाई समेत उचालेर, मधेसीको हक अधिकारको कुरा उठाएर साम्प्रदायिकतातर्फ नेपाललाई धकेल्ने षडयन्त्र पनि बुनिरहेको छ । नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने उसको कुनियतको प्रतिवाद समेत गरिएको छैन । उसले जस्तै हामीले पनि भारतीय नेपालीमाथि गरिएको दमन, भेदभाव र दोस्रो दर्जाको नागरिकका रुपमा गरिने व्यवहार, कस्मिरका जनतामाथि उसले गरेको दमन, उत्पीडन, पूर्वोत्तर राज्यका जनतामाथि भएका भेदभावका कुरालाई हामीले पनि साथ सहयोग समर्थन दिए के हुन्छ ? जसरी उसले देश टुक््रयाउनेहरुलाई साथ दिइरहेछ त्यसै गरी हामीले पनि दिए के हुन्छ ? हामीले पनि भारतविरोधी शक्तिलाई काठमाण्डौमा भेटेर धाप दियौं भने त्यसमा भारतीय प्रतिक्रिया के होला ? यस्ता धेरै प्रश्न भारतीय विस्तारवादको नेपाली नीतिले जन्माएको छ । सीके राउतलाई उचालेर भारतीय विस्तारवाद आफ्नो घृणीत स्वार्थ पूरा गर्ने मनसायमा छ भन्ने स्पष्ट हुँदाहुँदै त्यसको प्रतिरोध नगर्ने सँस्कृति राष्ट्रद्रोही सँस्कृति नै हो । जसलाई नेपाली दलालहरुले अपनाइरहेका छन् । यसर्थ अहिलेको मूल जरो नै अर्धसामन्ती र नवऔपनिवेशिक साँस्कृतिक समस्यामा जेलिएको छ । जातीयता, क्षेत्रीयता, धार्मिकता, साम्प्रदायिकताको द्वन्द्व सिर्जना गरेर नेपाललाई विखण्डनको संघारमा पु¥याउने वा विभाजित गरी यसको सार्वभौमिकता कमजोर बनाउने विस्तारवादी नियत, नीति विरुद्ध संघर्ष आजको आवश्यकता हो । यसको अर्थ साम्राज्यवादको हस्तक्षेप छैन भन्ने हैन । साम्राज्यवादकै एक अभिन्न अङ्गका रुपमा दक्षिण एसियामा विस्तारवादले भूमिका निर्वाह गरिरहेको स्पष्ट छ । 

अब जातीय, लिङ्गीय, क्षेत्रीय, दलितीय मुक्तिका कुरालाई मुख्य विषय बनाई वर्गीय मुक्तिका कुरा बिर्सन लागिएको कम्युनिष्ट आन्दोलनको साँस्कृतिक चरित्रलाई बदल्नु पर्छ । यी विषयलाई साम्राज्यवादले ‘आइएनजीओ’हरु मार्फत आफ्ना विषय बनाइसकेको छ । हामीले उठाएको त्यो मुद्दा हामीबाट नै खोसिएको स्थिति छ । जातीय र क्षेत्रीय पहिचानका मुद्दा हामीबाट खोसेर उसले त्यसलाई हामी विरुद्ध नै प्रयोग गरिरहेको छ । साथै राष्ट्रिय विखण्डनतर्फ लगेको छ । यसको पनि विरोध गर्नु पर्छ । वर्गीय समस्याको समाधानले होइन जातीय, लिङ्गीय, क्षेत्रीय समस्याको समाधानले सबै कुरा हल हुन्छ भन्नेतिर मोडिएको यो विषयलाई फेरि मोडेर वर्गीयतातर्फ नै फर्काउनु आजको साँस्कृतिक आन्दोलनको अभिभारा हो । 

मधेस आन्दोलन पनि वर्गीयताबाट विमुख भइसकेको छ र त्यहाँका प्रतिक्रियावादी, जमिन्दार, सामन्त र माथिल्लो वर्गका नेताले मधेसी उत्पीडित जनसमुदाय र सर्वहारा वर्गको मुक्तिको विषयलाई धूलामुनि पुर्दै आफ्नो स्वार्थपूर्तिको विषय बनाइदिएका छन् । जसले वास्तविक मधेसी जनताको मुक्ति होइन प्रतिक्रियावादी वर्गको स्वार्थपूर्ति मात्र गर्न सक्छ र दलाल नोकरशाह पुँजीपतिको मात्र हित गर्छ । वर्गीय होइन जातीय, लिङगीय, क्षेत्रीय, दलितीय रुपमा समस्या समाधान गर्न चाहने, समग्र राष्ट्रियता होइन पहिचानका नाममा विखण्डित राष्ट्रियता फलाउन फुलाउन खोज्ने, मधेसी र पहाडीको द्वन्द्व सिर्जना गर्न चाहने, राष्ट्रिय चिन्तन र समग्र नेपाली जातीयताभन्दा क्षेत्रीय चिन्तन र टुक्रे साम्प्रदायिकताका जटिलतातिर लैजाने कुराले देशलाई कमजोर बनाएको छ । 

राष्ट्रियताको दलालीकरण गरेको छ । नवऔपनिवेशिक नीति त्यसै लक्ष्यलाई पूरा गर्न ल्याइएको पनि हो । यसले हाम्रो परजीविता र परनिर्भरतालाई समृद्धीकरण गरेको छ नकि स्वाधीनता र आत्मनिर्भरतालाई । वर्तमानको यही सँस्कृतिलाई जरैदेखि फालेर मात्र नयाँ सँस्कृतिको स्थापना सम्भव छ । आजको साँस्कृतिक आन्दोलनको बाटो यही हो ।

नयाँ जनवादी कि पुँजीवादी ?

अहिले नेपालमा पुँजीवाद आएको र नयाँजनवादी क्रान्ति पूरा भएको वा समग्र राजनैतिक क्रान्ति पूरा भएको र अब आर्थिक क्रान्ति गर्नु पर्छ भन्ने विचार विमर्श भइरहेका छन् । पुँजीवाद आउन के के कुरामा विकास आवश्यक छ भन्ने ठोस आधार र विश्लेषणविना नै हचुवाका भरमा यस्ता तर्क पनि भइरहेका छन् । निश्चित रुपले हाम्रो सामाजिक अवस्था फेरिंदो छ तर गुणात्मक रुपमा होइन । आर्थिक स्थिति पनि फेरिंदो छ तर आधारभूत रुपमा होइन । राजनैतिक स्थिति फेरिएको छ तर वर्गीय र सारमा होइन । यी विषयलाई वर्गीय रुपमा केलाउनु आवश्यक छ, नयाँ विश्लेषण जरुरी छ । आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक अवस्थाको जरोमा पुगेर सही विश्लेषण नगरी, यी सबै क्षेत्रमा वर्गीय पहुँच र वर्गीय परिवर्तनका कुराको ठोस उल्लेख नगरी कपोलकल्पित रुपमा वा निराधार रुपमा पुँजीवाद आएको नयाँ निष्कर्ष दिनु औचित्यपूर्ण हुन सक्दैन । पुँजीवाद उत्पादन वृद्धिमा, औद्योगीकरणमा, उत्पादन सम्बन्धको परिवर्तनमा, कृषि पद्धतिमा आउने फेरबदलमा, रोजगारीका अवसर वृद्धिमा, मुनाफाका लागि लगानीको प्रतिस्पर्धामा, सामन्ती जमिन्दार वर्गको पुँजीपति वर्गमा रुपान्तरणमा, दलाल पुँजीपतिको समानान्तर राष्ट्रिय पुँजीपति वर्गको निर्माणमा, श्रमको क्रयविक्रयको बजार विस्तारमा, भाडा र ज्यालादारी श्रमको व्यापकतामा, प्रविधिको विकास र विस्तारमा, पुरानो सामन्ती सत्ता पुँजीपति वर्गको हातमा आउने सत्तात्मक परिवर्तनमा र पुजीवादी सत्ताको विकासमा आधारित हुने कुरा अर्थशास्त्री तथा समाजशास्त्रीहरुले नै व्याख्या गरेका छन् । 

यसअनुसार नै समाजको आधुनिकीकरण पनि हुन्छ । पुँजीवादमा भौतिक निर्माणमा पनि व्यापकता आउँछ । पुँजीले श्रमको खरिद गरेपछि सोअनुसार कृषि, उद्योग वा अन्य क्षेत्रमा उत्पादनको ‘मास प्रोडक्सन’ र ‘अधिकतम नाफा’ हुनुपर्ने हो अनि त्यसैमा आधारित अर्थतन्त्र हुनु पर्ने पनि हो तर त्यसो भइरहेको छ त ? त्यस्तो देखिंदैन । सम्पूर्ण अर्थतन्त्र या त सामन्त वर्गकै नियन्त्रणमा छ या दलाल पुँजीपति वर्गको अधीनमा पुगेको छ । ज्यालादारी श्रम सुरु भएको कुरा त गरिएको छ तर त्यसले उत्पादन बढाउनु पर्ने हो, त्यसो भएको छैन । कृषिक्षेत्रको आम्दानीले राष्ट्रिय आयस्रोतमा योगदान त्यसमा लागेको जनसङ्ख्याको अनुपातमा हुनु पर्ने हो, त्यो पनि भएको छैन । औद्योगिक विस्तारको स्थिति त झन् शून्य जस्तै छ । निर्वाह, उपभोग र विलासितामा केन्द्रित सामन्ती उत्पादन, नाफामुखी पुँजीवादी उत्पादनमा फेरिनु पर्ने हो, त्यसो पनि हुन नसकेको कुरा कृषिक्षेत्रको राष्ट्रिय आयमा जम्मा ३३ प्रतिशत मात्र योगदानले पुष्टि गर्छ । यो तथ्याङ्क पनि पूर्णतः विश्वसनीय छैन । जबकि त्यसमा ७३ प्रतिशत जनशक्ति लागेको छ । त्यसै गरी साँस्कृतिक रुपमा पुरानो रुढिवादी, अन्धविश्वासी, धर्मान्धतामा आधारित साँस्कृतिक चरित्र पनि आधुनिकतामुखी हुनुपर्ने हो यसो पनि हुन सकेको छैन । 

आधुनिक भौतिक सामग्री र उपकरणको प्रयोगमा विस्तार हुन पनि सकेको छैन । रोजगारीको स्थितिलाई त युवाहरुको विदेश निर्यात तथा शिक्षित जनशक्तिको विदेश पलायनले नै पुष्टि गर्छ । पढेलेखेको ठूलोजनशक्ति बेरोजगार हुनु र तिनमा निराशा र कुण्ठाको विकास हुनु र त्यसले दिएको परिणाम पनि केलाउनु आवश्यक छ । राष्ट्रिय चिन्तन व्यक्ति चिन्तनमा, इमान्दारिता ठगी र बेइमानीमा, समाज व्यक्तिवादी अवसरवादको विगविगीमा रहनुले पनि त्यसको पुष्टि हुन सक्दैन । विकास बजेट खर्चै हुन नसक्ने अवस्थाले पुँजीवादी सामाजिक चरित्रलाई नकार्छ कारण बजेट सीमित सामन्त वर्ग वा सोही चरित्रले नै ओगटेको देखिन्छ जसले आफू बाहेक अरुको उन्नतिसँग सरोकार राख्दैन । यो विश्लेषणबाट के जनवादी क्रान्ति पूरा भयो ? के साँच्चै पुँजीवादको स्थापना भएकै हो रु के राष्ट्रिय पुँजी सञ्चय हुन थालेको हो ? के अब नयाँ सँस्कृतिको अभ्यास शुरु भएको हो ? जस्ता धेरै प्रश्न जन्मिन्छन् । यसले पुँजीवादी सत्ता स्थापनाको यात्रा नै पूरा भइनसकेको पुष्टि गर्छ र त्यसको आवश्यकता देखाउँछ । 

सत्तामा सर्वहारा वर्गको आधिपत्य स्थापित नहुँदै जनवादी क्रान्ति पूरा हुने कुरा कुरा मात्रै हो । तसर्थ अर्धसामन्तवादी सँस्कृतिको अन्त्य र विस्तारवादी सँस्कृतिको प्रतिरोधविना या नवउपनिवेशबाट मुक्तिविना पुँजीवादी जनवादी सँस्कृति स्थापित भएको मान्न सकिंदैन । यसले आज पनि सँस्कृतिमा सामन्तवाद नै प्रभावी रहेको स्पष्ट देखिन्छ ।

साँस्कृतिक प्रवृत्तिहरु

सर्वहारा वर्गीय सँस्कृतिको स्थापना र निरन्तर क्रान्तिको सिद्धान्त हाम्रो साँस्कृतिक आन्दोलनको मूल प्रस्थापना हो । नयाँ जनवादी पुँजीवादी सँस्कृतिको स्थापना गर्दै समाजवादी सँस्कृतितर्फको यात्राले मात्र सर्वहारा मानवतावादी समाजको निर्माण हुन सक्छ । जसको आधारमा वर्ग, राज्य र शोषणविहीन सँस्कृतिमा अघि बढ्न सक्छौं । यस्तो सँस्कृति स्थापनाको उद्देश्यसँग विचलित हुने, यसको बाटामा वाधा र समस्या खडा गर्दै यसलाई विसर्जनतिर लैजाने साँस्कृतिक प्रवृत्ति तथा यसको सारलाई संशोधन गर्दै लैजाने सँस्कृतिले हामीले सोंचेको जस्तो वैज्ञानिक जनवादी सँस्कृति सम्भव छैन । त्यो सँस्कृति विरुद्ध अहिले विविध खाले साँस्कृतिक प्रवृत्तिहरु देखिएका छन् । तीमध्ये सामन्ती प्रतिक्रियावादी सँस्कृति हामीले स्थापित गर्न चाहेको सँस्कृतिको मूल शत्रुका रुपमा रहेको छ । यसभित्र हिंजोका सामन्त वर्ग, सम्भ्रान्त वर्ग, दलाल पुँजीपति वर्ग र नोकरशाह पुँजीपति वर्ग पर्दछन् । 

यिनीहरु समाजको सामाजिक र आर्थिक सम्बन्धमा आमूल परिवर्तन चाँहँदैनन् उल्टो जस्तो छ त्यस्तै राखिरहन चाहन्छन् वा पछाडि धकेल्न । सँस्कृतिको आधार अर्थव्यवस्था हो । त्यो अर्थव्यवस्थामा परिवर्तन विना अर्थात् आर्थिक सम्बन्ध र पद्धति न बदलिई पुरानो सँस्कृतिको अन्त्य हुन्न । यसो भनौं प्रगतिशील उत्पादक शक्तिको विकासविना पुरानो सँस्कृति अन्त्य भएको हुन्न पनि । अहिले पनि सामन्त वर्ग, प्रतिक्रियावादी वर्ग, दलाल र नोकरशाह पुँजिपति वर्ग, मूलधारमै रहेका छन् । यो वर्ग सधै आमूल परिवर्तन विरोधी वा गुणात्मक रुपान्तरण विरोधी रहेको छ । यसै वर्गलाई साम्राज्यवाद र विस्तारवादको भरथेग प्राप्त छ । यसैमा दलाली र दासताको सँस्कृति पनि अन्तर्घुलित रहेको छ । 

यसलाई समाप्त पारेर मात्र नयाँ जनवादी सँस्कृति निर्माणको कार्यभार पूरा हुन सक्छ । अर्को प्रवृत्ति संशोधनवादी, विसर्जनवादी, विचलनवादी सँस्कृतिका रुपमा सर्वहारा सँस्कृति विरुद्ध उँभिएको छ । जसलाई बहुदलीय जनवादी सँस्कृतिका रुपमा पनि हेर्न सकिन्छ । बहुदलीयताका नाममा यसले बहुलवादी दार्शनिक मूल्य मान्यतालाई स्वीकार गर्छ । 

बहुलवाद विकेन्द्रण र विखण्डनको सिद्धान्त पनि हो जसले केन्द्रलाई स्वीकार्दैन । बहुकेन्द्र, विखण्डन, विभाजन र बहुलताको वकालत गर्नु, नेतृत्वको केन्द्रीकरण अस्वीकार गर्नु त्यसको नीति हो । यसले अर्धसामन्ती र नवऔपनिवेशिक सँस्कृतिकै समर्थन गर्छ । साम्राज्यवाद र विस्तारवाद, सामन्तवाद र प्रतिक्रियावादसँग सामन्जस्य र सन्तुलन कायम गर्दै, तिनीहरुसँग मेलमिलाप र समन्वय स्थापना गर्दै, त्यही वर्गसँग मिलीजुली गर्दै, त्यसको सेवा र पक्षधरता गर्नु उसको विशेषता हो । यसले सर्वहारावर्गीय साँस्कृतिक प्रतिवद्धता त्यागेको हुन्छ । वर्गीय सँस्कृतिका विपरीत अनुभववादी, व्यवहारवादी, वर्गसमन्वयवादी, सन्तुलनवादी, मिलेराँवादी सँस्कृति र सबैको प्रजातन्त्र र सबैको सत्ताकोे धारणा राख्छ । 

सबै वर्गको प्रिय बन्ने, चाकरी, चापलुसी गर्ने, आत्मसमर्पणवादी यो प्रवृत्ति अन्ततः निर्वर्गीय शून्यवादी चिन्तनमा गएर विसर्जन हुन्छ । यो बहुलवादी सोंच केन्द्रभञ्जन, विविधता, विखण्डन, बहुनायकत्व, घालमेल र समन्वयको सिद्धान्तमा आधारित छ । प्रतिस्पर्धा, खुल्लापन, व्यक्ति स्वतन्त्रता, निजी स्वामीत्व, अवसरवाद, उपभोक्तावाद र बजारवादबाट पूर्णप्रभावित छ । त्यसैले यसमा बौद्धिक व्यक्तिवादी बुर्जुवा वर्ग, नव धनाढ्य वर्ग, मध्यमवर्ग, अवसरवादी, स्वार्थी, आत्मकेन्द्रित वर्ग सामेल छन् । यो सम्झौतावाद र सुधारवादमा सीमित रहन्छ । वर्गमुक्ति, वर्गप्रतिवद्धता, वर्गचेतना वर्गपक्षधरता, वर्गसंघर्ष, वर्गीय नेतृत्व, वर्गसत्ता र वर्ग शासनलाई अस्वीकार गर्नु उसको दार्शनिक भूमि हो । 

अन्ततः यो प्रवृत्ति प्रतिक्रियावादमा गएर पतन हुन्छ । अर्को वैचारिक विचलन र विसर्जनवादी प्रवृत्तिले कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउँदै फूट र विभाजनमा पु¥याएको छ । यो केन्द्रीकृत होइन, छिरलिंदै गएको छ । देख्दा, भन्दा, बोल्दा क्रान्तिकारी देखिने वर्गको पक्षधर जस्तो देखिने, रुप, संरचनामा नयाँधार जस्तो पनि लाग्ने तर सारमा अघिल्ला दुई प्रवृत्तिकै पुच्छर समाएर वैतरणी तर्ने नियत राखेको देखिन्छ । तिनै वर्गसँग सहकार्य, साझेदारी, सन्तुलन र समीकरण गर्ने यो प्रवृत्ति रुपमा अग्रगामी देखिए पनि सारमा पुरानैै बाटो समातिरहेको छ । यस प्रवृत्तिमा बौद्धिक प्रगतिशील वर्ग, क्रान्तिप्रेमी मध्यम वर्ग, निम्न पुँजीवादी र अवसरवादी वर्ग, लम्पट अर्थवादीहरु सामेल छन् । यसको जीवनशैली, स्वभाव, चरित्र, व्यवहारमा वर्गप्रतिवद्धता हराउँदै गएको छ । सबैको शक्तिका रुपमा चामत्कारिक परिवर्तन वा एकाएक रुपान्तरणको सपना देख्ने यो प्रवृत्ति अर्थवादी, छिपछिपे, चलायमान, अवसरवादी चरित्रमा स्खलित हुँदै गएको छ । 

विकृति, विसंगति, अनैतिकता, सम्झौतावाद, भ्रष्ट आचरण र विचलनवादी गैर सर्वहारावादी जीवनशैलीका कारण सुधारवादी र सम्झौतावादीमा विकास हुँदै गएको छ । यी सबै प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै सर्वहारा साँस्कृतिक आदर्शको अनुकरण गरेर, वर्गप्रतिवद्धता र वर्गपक्षधरतालाई आत्मसात् गर्ने आमूल परिवर्तनकामी चेतन धारालाई आत्मसात् गर्ने प्रवृत्ति नै वास्तविक नयाँ जनवादी सँस्कृति हो । १० वर्षको जनयुद्ध र महान् वर्ग संघर्षको आधारमा टेकेर यी उल्लेखित प्रवृत्ति विरुद्ध संघर्ष गर्नु नयाँ सँस्कृति निर्माणको आधार हो । यही नै सच्चा क्रान्तिकारी धारा हो । अबको साँस्कृतिक क्रान्तिको दिशा नयाँ जनवादी साँस्कृतिक क्रान्तिको दिशा नै हो । जसले सर्वहारा वर्गको मुक्त मानवतावादी संसार निर्माण गर्न सक्छ । आम जनसमूहको विद्रोहद्वारा जनसंघर्षको बाटोबाट त्यो समुन्नत सँस्कृति निर्माण गर्नु यसको उद्देश्य हो । सर्वहारा वर्ग, क्रान्तिकारी निम्न पुँजीपति वर्ग, देशभक्त राष्ट्रिय पुँजीपति वर्ग, अग्रगामी मध्यम वर्ग पनि यसभित्र रहेका छन् ।

अबको साँस्कृतिक आन्दोलनको दिशा

दिशा भनेको यी गलत प्रवृत्तिका विरुद्ध भावी संघर्षको बाटो हो । अबको साँस्कृतिक आन्दोलनको प्रहारको निशाना माथि उल्लेखित पहिलो प्रवृत्ति नै मुख्य रुपमा हुन आउँछ । अन्य प्रवृत्ति गौण हुन् । अहिलेको जनवादी सँस्कृतिको मुख्य शत्रु दलाल तथा नोकरशाही, सामन्ती र प्रतिक्रियावादी प्रवृत्ति नै हो । संशोधनवादी, विचलनवादी, विसर्जनवादी प्रवृत्ति गौण शत्रुका रुपमा रहेको छ । अबको जनवादी साँस्कृतिक आन्दोलनको दिशा भनेको सामन्तवाद, प्रतिक्रियावाद, संशोधनवाद, विचलन र विसर्जनवाद, दलाल तथा नोकरशाही पुँजीवादमाथि प्रहारको निशाना केन्द्रित गर्नु हो । त्यसको संगसंगै साम्राज्यवाद र विस्तारवाद विरुद्ध संघर्ष गर्दै देशभक्ति, राष्ट्रियता र स्वाभिमानको सँस्कृति स्थापनाको लागि संघर्ष केन्द्रित गर्नु पनि हो । नवउदारवादी पुँजीवाद, उपभोक्तावाद, दलाल तथा नोकरशाही पुँजीवादले नै पहिलो खाले साँस्कृतिक प्रवृत्तिलाई फलाउँछन्–फुलाउँछन् । तसर्थ त्यसलाई राष्ट्रियतावादी, जनवादी, सर्वहारा वर्ग पक्षधर, नयाँ सँस्कृतिले विस्थापित गर्नु आवश्यक छ । अर्थात् त्यसको ठाउँमा राष्ट्रिय, मौलिक, जनवादी, वैज्ञानिक, स्वाधीन, समुन्नत सँस्कृतिको स्थापना गर्नु आवश्यक छ । जनयुद्धको त्याग, वलिदान, शौर्य र साहसलाई अवमूल्यन गर्ने, जनयुद्धले स्थापित गरेका मूल्य मान्यताको विरोध गर्ने, जनयुद्धले ल्याएको परिवर्तनलाई अस्वीकार गर्ने वा निस्तेज पार्ने, तिनै सहिदका सपनालाई महत्व नदिने, जनयुद्धका लक्ष्य, उद्देश्य, गन्तव्यलाई बिर्सने मात्र हैन त्यसको नामोनिशान मेट्न तयार रहने घोर कृतघ्नतावादी साँस्कृतिक प्रवृत्तिलाई समेत तारो बनाएर जनविद्रोहको तयारी गर्दै आमूल परिवर्तनकारी क्रान्तिको मान्यतालाई आत्मसात् गर्नु आवश्यक छ । जेजति परिवर्तन आएको छ यो २–४ सय कार्यकर्ताको रत्नपार्कमा पुलिससँग खिंचातानी गर्दै निकालिएको जुलुसको परिणाम होइन । यो परिवर्तन १४ हजार महान् सहिदको रक्तसिञ्चित वलिदानको परिणाम हो । राजतन्त्र जुलुसले मात्र अन्त्य गरेको हैन । यो मोर्चावद्ध युद्धमा हजारौं–हजार सहिदले दिएको जीवन आहुतिको परिणाम हो । जनयुद्धको अवमूल्यन गर्ने र ‘लङ्का जलाउने हनुमान पगरी गुथ्ने ढेंडु’को अर्थमा सबथोक हामीले गरेको हो भन्दै कपोलकल्पित स्वामीत्व दावा गर्ने प्रवृत्ति गलत छ । 

‘काम गर्ने कालु मकै खाने भालु भने’ झैं माओवादीले वलिदान गर्ने, रगत बगाउने, दुःखकष्ट, यातना, जेलनेल भोग्ने, अङ्ग–भङ्ग हुने, रुख बोकेर कर्फ्यु तोड्ने, आन्दोलनमा गोली खाने तर त्यो सबै श्रेय मेरो भनेर दावी गर्ने गलत प्रवृत्तिविरुद्ध संघर्ष गरेर नै अघि बढ्न सकिन्छ त्यससंग मिलेर हैन । जनयुद्धको त्याग र वलिदान, त्यसले ल्याएको परिवर्तन, त्यसका उपलब्धिको उल्लेखै गर्न नचाहने र इतिहास मेट्न खोज्ने प्रवृत्ति अबको आन्दोलनको तारो बन्नु पर्दछ । के कुरा स्पष्ट भएको छ भने जनयुद्धमा हतियार नउठेको भए राजतन्त्रको अन्त्य र आजको सामान्य परिवर्तन पनि सम्भव थिएन । आज जनयुद्धका सहिदमाथि अपमान गरिंदै छ । त्यसका घाइते, अपाङ्ग, बेपत्ताको उपेक्षा गरिएको छ । वलिदानका रगतको तिरष्कार गरिएको छ । जनयुद्धका कारण यो परिवर्तन भएको कुराको त इतिहास साक्षी छ तर त्यो इतिहास मेट्न चाहने, सहिदलाई अपमानित गर्ने, घाइते अपाङ्गको उपेक्षा गर्ने, बेपत्ताहरुलाई बिर्सने कुराको विरोध हुन सकेको छैन । यही प्रवृत्तिविरुद्ध फेरि संघर्ष जरुरी छ । केही समय अघि बनेको संविधानले सर्वहारा वर्ग, मजदूर, किसान, गरिब र कमजोर वर्गको पीडाको सम्बोधन गरेको छैन । यो सम्बिधानका केही अंश सकारात्मक देखिए पनि सार प्रतिक्रियावादी नै छ जसले सर्वहारा वर्गलाई पूर्णतः उपेक्षित गरेको छ र उनका अधिकारको प्रत्याभूति गरेको छैन । सत्ताको नीति निर्माणको तहमा, आर्थिक आधार निर्माणको तहमा सर्वहारा वर्गलाई पाखा पारिएको छ । उनीहरु हिंजो झैं फेरि पनि वञ्चित भएका छन् । 

फेरि पनि किनारा लगाइएका छन् । महिला, दलित, जनजाति, थारु, मुस्लिम, मधेसी आदिका अधिकार पनि पूरा गरिएनन् । सत्तामा पुरानै सामन्त, दलाल, नोकरशाह, प्रतिक्रियावादी वर्गको नै हक संरक्षित गरिएको छ । यसले राष्ट्रियताको संरक्षण र स्वाधीनताको रक्षा पनि गर्न सकेको छैन । पुराना असमान र अन्यायपूर्ण सन्धी–सम्झौता पनि खारेज गर्न सक्दैन । राष्ट्रको नवऔपनिवेशीकरणलाई पनि रोक्न सक्दैन । 

स्पस्ट छ यो पुरानै वर्गको सम्बिधान र सत्ता हो । यसले पुरानै उत्पादन सम्बन्धलाई स्थायित्व प्रदान गर्छ । पुरानो वर्गलाई फालेर नयाँ वर्गलाई सत्ताको मालिक नबनाउँदासम्म ‘परिवर्तन युगान्तकारी मोड’का कुरा भ्रम मात्र हुन् । त्यसैले क्रान्तिको निरन्तरता जरुरी छ । अबको क्रान्तिकारी परिवर्तन जनताले जनविद्रोहमार्फत् पूरा गर्नेछन् । साँस्कृतिक आन्दोलन पनि यही दिशातर्फ केन्द्रित हुनु पर्छ । आज जनयुद्ध विरोधी शक्ति जसरी सत्तामा हालीमुहाली गदैछ, जसरी सत्तामा ढलीमली गदैछ, जसरी सहिदका वलिदानमाथि हिलो छ्यापिंदैछ, जसरी जनयुद्धको इतिहास मेटाउने र भ्रष्टीकरण गर्ने काम भएको छ, जसरी त्यसका उपलब्धिलाई धूलोमा मिलाउनतिर उद्यत देखिन्छ, यसले आमूल परिवर्तनकारी सशस्त्र जनविद्रोहको भावी आवश्यकतालाई नै परिलक्षित गरेको छ । हामी क्रान्तिकारीहरुले अब क्रान्तिकारी विचारधारालाई बचाउँदै अघि बढ्नु र क्रान्तिको निरन्तरताको कडी जोड्नु आवश्यक छ । 

निरन्तर क्रान्तिले मात्र मुक्ति सम्भव छ, विसर्जन र विचलनले होइन । विचारलाई दरोसंग पक्रिने, वर्गीय प्रतिवद्धतालाई दृढतापूर्वक समात्ने, परिवर्तनकारी दृष्टिकोण अँगाल्ने यी तीनैकुरा समातेर पुरानो सडेगलेको, पतित र भ्रष्ट सँस्कृतिविरुद्ध अबको निशाना केन्द्रित गर्नु नै साँस्कृतिक आन्दोलनको आजको सही दिशा हो ।