भारतमा पनि मजदुरलाई सामाजिक सुरक्षा योजना 

भारतमा पनि मजदुरलाई सामाजिक सुरक्षा योजना 

चुनावमा जान लागेको भारत सरकारले आफ्नो अन्तरिम बजेट मार्फत असंगठित क्षेत्रका मजदुरका लागि ६० वर्ष उमेरदेखि लागू हुने गरी एक पेन्सन योजना ल्याएको छ ।

६० वर्ष उमेरका असंगठित क्षेत्रका मजदुरले मासिक तीन हजार भारु पाउने गरी यो पेन्सन स्किम ल्याएको हो । ४० वर्ष उमेरसम्मका असंगठित मजदुरले यो योजनाको हिस्सा बन्न पाउने छन् ।

प्रधानमन्त्री श्रम योगी मानधन स्किम फेब्रुअरी १५ देखि लागू हुने श्रम मन्त्रालयको सूचनामा जनाइएको छ । 

यो स्किम १५ हजारसम्म मासिक आय हुने मजदुरका लागि ल्याइएको वित्तमन्त्री पियुस गोयलले अन्तरिम बजेटमा घोषणा गरेका थिए ।

आगामी पाँच वर्षमा यो योजनाबाट भारतका १० करोड मजदुरलाई फाइदा पुग्ने विश्वास गोयलको छ । यो स्किममा सहभागी हुनका लागि फेब्रुअरी १५ देखि योजना खुला गरिएको हो । न्यूनतम उमेरकाले मासिक न्यून रकम र बढ्दो उमेरका लागि अलि बढी रकम तिर्नुपर्ने गरी यो योगदानमा आधारित पेन्सन योजना ल्याइएको हो । मजदुरले जति योगदान गर्छ त्यतिकै सरकारले थपेर यो पेन्सन फन्ड तयार गरिनेछ । ५५ भारु तिर्ने मजदुरका लागि ५५ सरकारले थप्छ । त्यसैगरी ४० वर्ष उमेरका मजदुरलाई एक सय भारु थप्नु परे सरकारले पनि एक सय थपेर यो फन्डलाई दुई सय पु¥याउनेछ ।

यसमा रिक्शा, ठेलागाडा चलाउने, गुन्टाभारी बोक्ने, पेटीका पसलमा काम गर्ने ,घरमा काम गर्ने जस्ता असंगठित क्षेत्रका मजदुरहरू सहभागी हुन पाउनेछन् ।

तर अन्य कुनै किसिमको पेन्सन वा सञ्चयकोषमा सहभागी भएका मजदुरहरू र करको दायरामा आएका मजदुरहरू भने यसमा सहभागी हुन नपाउने गरी यो पेन्सन योजना ल्याइएको हो ।