विप्लव नेतृत्वको पार्टी जाग्दै

विप्लव नेतृत्वको पार्टी जाग्दै

काठमाडौं । माओवादी र एमाले मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध दिवस पहिलो पटक मनाउँदैछ । बाबुराम भट्टराई वाहेक जनयुद्ध लडेका र नलडेका कम्युनिस्टहरुले २३ औं जनयुद्ध दिवस मनाइरहँदा एकीकृत क्रान्तिको नीति अङ्गालेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना राजनीतिक र फौजी गतिविधिलाई तीब्र बनाउने निर्णयका साथ अघि बढ्दैछ ।

विप्लव नेतृत्वको नेकपाले पार्टीलाई सैनिकीकरणमा जोड दिएको उसका मिडियाहरु पढ्दा नै बुझ्न सकिन्छ । उनीहरुले पार्टीलाई सैनिकीकरण गर्ने रणनीति अनुसार जिल्ला जिल्लामा युवाहरुलाई संगठित गरिरहेका छन् । 

फौजी गतिविधिलाई पार्टीका आधार इलाकामा जोड दिइएको पाइएको छ । २३ औं जनयुद्ध दिवसको सन्दर्भ पारेर ‘रेड फोर्स’ निर्माण गरिएको रोल्पामा कार्यरत हाम्रा सम्वाददाताले समाचारमा लेखेका छन्, ‘हिजो माओवादीमा लागेर कुस्त सम्पत्ति कमाएर राजनीतिक र आर्थिक भ्रष्टीकरण भएकालाई पनि अबको फौजी संघर्षमा नछाडिने त्यस पार्टीका जिल्ला नेताहरुले बताएका छन् ।’

विप्लव नेतृत्वको नेकपाले आफ्नो जवर्जस्त प्रभाव रहेको थबाङमा वर्षमान पुन र उनकी पत्नी ओनसरी घर्तीले हालै बाहिरबाट मान्छे लगेर खादा, माला, पञ्चै बाजासहित राजनीतिक हस्तक्षेप गरेको भन्दै त्यसको छिट्टै यथोचित जवाफ दिने तयारी गरेको रोल्पाबाट प्राप्त समाचारमा जनाइएको छ । शहरी सेनाको परिकल्पना गरिएको र त्यसले शहरमा पनि आफ्नो सापेक्षतामा फौजी कार्वाही गरिने बताइएको छ ।  

देशैभरि जनसरकारलाई स्थापित गरेर मुद्धा हेर्ने काम गर्ने पनि जनाइएको छ । पूर्व लडाकूलाई योजनाबद्ध रुपमा सङ्गठित गर्ने काम भइरहेको छ । साथै आर्थिक स्रोत र परिचालनलाई पनि जोड दिइएको जनाइएको छ । समयबद्ध साप्ताहिकबाट