गृहमन्त्रीले सर्लाहीको मुर्तियालाई पर्यटन गन्तव्य बनाउन लिए पहल

गृहमन्त्रीले सर्लाहीको मुर्तियालाई पर्यटन गन्तव्य बनाउन लिए पहल

मलङ्गवा । सर्लाहीको बरहथवा नगरपालिकास्थित मुर्तिया पुरातात्विक एवम् ऐतिहासिक गाथाले भरिएको स्थल हो । राजा जनकको कालमा स्थापित यो स्थान पछि एघारौं शताब्दीमा अज्ञात कारणले पूरै खण्डहरमा परिणत भएको मानिएको छ । ततपश्चात यो क्षेत्र सात आठ सय वर्षसम्म जंगलमा बदलियो । 

विसं २०११ सालमा तराईमा बस्ती निर्माणसँगै यहाँ पनि जंगल फडानी गरेर आवादी बस्न थालियो । बस्ती निर्माणका क्रममा मन्दिर, मुर्ति, इनार, पत्थर, पुरातात्विक वस्तुका अवशेषहरु फेला परे । यसको ऐतिहासिकता, पुरातात्विक पक्षको यथोचित प्रचारप्रसार र यस क्षेत्रलाई धार्मिक पर्यटनका लागि गन्तव्य बनाउन यस क्षेत्रका जनताले अग्रसरता देखाएका छन् । यस वर्ष पनि गत वर्ष जस्तै ‘मुर्तिया महोत्सव’ मनाइयो । यो दोस्रो महोत्सव हो । 

महोत्सवमा प्रमुख अतिथिको रुपमा गएका गृहमन्त्री रामबहादुर थापा ‘वादल’ ले यस क्षेत्रको विशिष्ट पहिचान र गौरवलाई स्थापित गर्न आफ्नो तर्फबाट विशेष ढंगले लाग्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्रालय आए लगत्तै उनले पर्यटन मन्त्रालय र पुरातात्विक विभागलाई पत्र लेखी यसका लागि पहल गरिदिन भनेका छन् ।