आधारशीलाको आधार हेर्दा

आधारशीलाको आधार हेर्दा

एन के दाहाल

सुविचारित ढङ्गबाट एकसाथ बसोबास गर्ने समुदायलाई कम्युन भनिन्छ । कम्युनका सबै सदस्यको लक्ष्य, सम्पत्ति, स्रोत आदि एउटै हुन्छ । अझ अन्य मामिलांहरु काम र आय पनि एउटै हुन्छ । यस्तै एउटा कम्युनको नाम हो आधारशीला । प्रदेश नं ३ सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीबाट ३७ किलो मिटर दक्षिण भिमानबाट करिव २० किलो मिटर दक्षिण गएपछि प्रदेश नं २ को महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाको गौरी डाँडामा आधारशीला नामको कम्युनमा पुग्न सकिन्छ ।

महोत्तरी जिल्लाको पछिल्लो पहिचान धुर्मुस–सुन्तली फाउण्डेशनले बनाएको एकीकृत मुसहर बस्ती बनेको छ । यो बस्ती हेर्न आन्तरिक पर्यटकहरु आउने गर्छन् । यो बस्तीको परिकल्पना पछि बस्तीको स्वरुप निर्माणसँगै आउने समस्या अहिले नै देख्न सकिन्छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनले ५० परिवार गरिव मुसहरहरुलाई सुविधायुक्त घर त बनाइदिए तर, मुसहरको जीविकोपार्जन भने परम्परागत बनीबुतोमै सीमित भयो । यो बस्तीमा निर्माण भएको सामुदायिक भवन, टावर र झुला पिङ पर्यटकलाइ लोभ्याउने मनोरञ्जन गर्ने साधन बनाइदियो । तर मुसहरहरुको आकर्षण यसबाट हट्दै गएको छ । र, त्यहाँका मुसहरहरु आगन्तुकसँग हात थाप्ने मगन्तेको रुपमा विचलित हुँदै गएका छन् ।

बस्ती हेर्नका लागि पुग्ने पर्यटकहरुलाई घेरेर चामल, पैसा र चकलेट माग्ने काममा मुसहरहरु रुपान्तरित भएका छन् । पूर्व–पश्चिम लोकमार्गको बर्दिवास खण्डबाट करिव दुई किलोमिटर दक्षिणमा रहेको यो बस्ती केही वर्षमै विकर्षणको केन्द्र बन्यो भने पनि अनौठो हुने छैन ।

यता साम्यवादी दर्शनको आधारमा बनेको आधारशीला कम्युनको अर्थ भने अर्कै छ । साम्यवादी आन्दोलनमा लागेका पूर्णकालीन कार्यकर्ता र सहिद परिवारलाई बसोबास गर्न गौरी डाँडाको ११ कट्ठा ऐलानी पर्ति जग्गामा स्थापित आधारशीलाको अर्थ–राजनीतिका कारण यो आधुनिक संयुक्त बसोबासको राम्रै नमूना बनेको छ ।

जनयुद्धको दौरानमा माओवादी विचारको थुप्रै कम्युनहरु यतिखेर बेखबर छन् । आधारशीलाले भने आफ्नो अस्तित्वलाई बचाइराखेको छ । २०५९ सालमा सिरहाको गोलबजारबाट सुरु भएको आधारशीला ६ वर्षपछि महोत्तरीको गौरी डाँडामा सारिएको थियो । वीपी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको संगम बर्दिवासबाट करिब १ किलोमिटर उत्तरमा रहेको आधारशीलामा यतिखेर १३ परिवारका ४५ सदस्यहरु बसोबास गर्छन् । झण्डै नेपालको मानव विविधताको प्रतिनिधित्व यो कम्युनमा छ । विविध भूगोलमा परम्परागत बसोबास भएका नश्ल, जाति, भाषा र सँस्कृति बोकेकाहरुको संयुक्त कम्युनको दीर्घजीवनले माक्र्सवादी दर्शनको अर्थ–राजनैतिक जीवनको महत्वबोध यसले गराउँछ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल यतिखेर आधारशीलाको अध्यक्ष छन् । उनको बासस्थान पनि यही आधारशीलामा छ । आधारशीलाले जनजीविकाका लागि भाडामा जमिन लिएर खेतीपाति गरेका छन् । रुची ब्राण्डको मसला उद्योग, एफ.एम. रेडियो र सामुदायिक प्राविधिक स्कुल सञ्चालन गरेका छन् । चार वटा घरमा जयगोविन्द साह अध्ययन केन्द्र सामूहिक क्यान्टिन छ । आधारशीलाको १६ औं वार्षिकोत्सव गएको शुक्रबार सम्पन्न भयो ।

कम्युनको संक्षिप्त इतिहास

कम्युनको परम्परा अति प्राचीन हो । यसको इतिहास आदिम र इसाई कम्युनिजमभन्दा पनि पुरानो हो । कम्युनको जन्म सामन्तवादी संगठनविरुद्ध भएको थियो । जब सामन्तवादी संगठनले नयाँ व्यवसायिक वर्गको आवश्यकताको अवहेलना ग¥यो तब विवश भएर अर्को श्रमिक वर्गले आफ्नो आवश्यकता पूर्तिका लागि आफ्नो साधन समातेका हुन् ।

वैद्धिक अर्थमा मध्ययुगका सबै नगर कम्युन थिए । कम्युन जन्मनुका प्रमुख कारण तत्कालीन अवस्थामा विकसित हुँदै गएको व्यवसायिक तथा श्रमिक वर्गको आवश्यकता पूर्ति तथा सामान्य रक्षाका लागि आवश्यक संगठन बन्यो ।

फ्रान्सको कम्युन आन्दोलनको अभिप्राय ठूला नगरहरुलाई देशमा स्थापित केन्द्रीय सत्ताको नियन्त्रणबाट मुक्ति दिनु थियो । कम्युन विषयको यो सिद्धान्त साम्यवादी सिद्धान्त हो । र, यसै सिद्धान्तलाई पेरिसको कम्युनले अपनाएको थियो । समयबद्ध साप्ताहिकबाट