बैंकहरुको बद्मासी छर्लङ्ग

बैंकहरुको बद्मासी छर्लङ्ग

हरि अधिकारी

बैंकको ब्याजदर घटेको धेरै समय भईसकेको छ । निक्षेपको ब्याजदर घटेसँगै ऋणको पनि ब्याजदर घट्ने अपेक्षामा रहेका ऋणिहरुमाथी बैंकहरुले बद्मासी गरेको छर्लङ्ग भएको छ । निक्षेपको ब्याजदर १३ प्रतिशत माथि जान थालेपछि अर्थमन्त्री युवाराज खतिवडाको सिधा निर्देशनमा बैंकहरुको नियामनकारी निकायको रुपमा रहेको नेपाल राष्ट्रबैंकका गभर्नरले हस्तक्षेप गर्दै ब्याजदर सिघ्र घटाउन भनेपछि बैंकर एशोसिएसनको पहलमा बैंकहरुले निक्षेपको ब्याज दर ९.७५ प्रतिशतभन्दा माथि नपु¥याउने भद्र सहमती बनेको थियो । त्यसपछि प्रायः बैंकहरुले आधार दर घटेको वित्तिय विवरण प्रकासित गर्दैगर्दा ऋणको ब्याजदर भने घट्न नसकेबाट कहिं न कहिँ बैंकहरुले बद्मासी जतिसुकै लुकाउन खोजेपनि लुकेको छैन ।

निक्षेप संकलनका लागि बैंकहरु बिचमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि बैंकर एशोसिएसनले निक्षेपको व्याजमा ‘भद्र’सहमति गरेको थियो। बैंकहरुले साढे १३ प्रतिशतसम्ममा निक्षेप उठाउन थालेपछि बैंकहरुले ब्यक्तिगत मुद्दतिमा ९.७५ प्रतिशत र संस्थागतमा ९.६ प्रतिशतसम्म ब्याज दिन पाइने भद्र सहमति गरेका थिए जुन सहमती अहिले पनि पूर्ण कार्यान्वयनमा रहेको छ । 

प्राय सवै बैंकहरुले ब्याज घटेजति आधार दरमा प्रिमियम थप गरेर ब्याज निर्धारण गरिरहेका छन् । चुक्तापुँजीको बृद्धिसँगै नाफा बृद्धि गर्नुपर्ने दवावलाई भद्र सहमतीले बैंकका कार्यकारी निर्देशकहरुलाई केही राहत  दिएपनि आम ब्यवसायी र ऋणीहरुलाई भने आहत दिएको छ । बैंकहरुले यो वा त्यो बहानामा ऋणको ब्याज एक सुको घटाएका छैनन् एक ब्यवसायीले बताए । यद्यपी बैंकहरुले क्रमश थोरै थोरै व्याजदर घटिरहेको दावी गर्न भने छाडेका छैनन्। व्यवसायीहरुका अनुसार व्याजदर घटेको संकेत अहिलेसम्म देखिएको छैन र घटेको छैन पनि । 

सवैले बुझेको कुरो के हो भने बैंकको आधार व्याजदर घटेसँगै ऋणको ब्याजदर पनि घट्नु पर्छ यद्यपी जति प्रतिशतले ऋणको ब्याजदर घट्न जान्छ त्यति प्रतिशत बैंकहरुले प्रिमियम थप गरेपछि ऋणको ब्याजदर घट्ने कुरै भएन । भद्र सहमतीले बैंकहरुलाई सस्तोमा सर्वसाधारणको पैसा उठाउने औजार मात्र बन्यो । बैंकरहरु भने पछिल्लो दिनमा ब्याजदर क्रमस घटेको र नेपाल राष्ट्र बैंकले स्प्रेडदर पनि घटाएको हुँदा व्याजदर थप घट्ने बताउँछन् । 

भद्र सहमतीको लाभ भने एनआईसी एशिया बैंकलाई धेरै भएको देखिन्छ । एनआईसी एशिया बैंकको बार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरे अनुसार बैंकको आधार व्याजदर २.०२ प्रतिशतले घटेको देखिन्छ । एनआईसी एशियाले कुनैबेला निक्षेपको अभावमा ९ प्रतिशतसम्म बचतमै ब्याज दिएको थियो । भद्र सहमतिपछि एकैपटक बचतको ब्याज ९ प्रतिशतबाट ब्याज साढे ६ प्रतिशतमा झरेपछि ब्याजको लागत कम भएको छ । भने सेञ्चुरी बैंकको अझै आधारदर उच्च रहेको देखिन्छ । बैंकले प्रकाशन गरेको वित्तिय विवरण अनुसार आधारदर १२.०८ प्रतिशतबाट ११.२९ प्रतिशतमा आएपनि अन्य बैंकको तुलनामा सेञ्चुरी बैंकको आधारदर उच्च हो र बैंकको नाफा समेत विगतको बर्षको तुलनामा खुम्चिएको छ । आधारदर सवैभन्दा कम राष्ट्रिय बाणिज्य बैंकको रहेको छ जुन ५.५ प्रतिशत छ । सवै बैंकहरुले आधार ब्याजदर घटाएको प्रतिवेदन निकालिरहँदा दुईवटा बैंकहरुको भने आधार दर बढ्न गएको देखिन्छ । यी दुई बैंकहरु  नेपाल बैंक र नबिल बैंक हुन् । नेपाल बैंकको ०.९५ प्रतिशत विन्दुले बढेर ७.९८ पुगेको छ भने नबिल बैंकको ०.३१ प्रतिशत विन्दुले बढेर ७.९८ प्रतिशत पुगेको छ। 

असारे विकासका कारण असार मसान्तमा सरकारी खर्च बृद्धि भएसँगै बैंकहरुमा तरलता सहज हुँदै भएको हो । तलरता सहजसँगै बैंकहरुले थप लगानी बढाउन सक्ने देखिन्छ । साउन महिनामा भने नयाँ ऋण लगानीको लागि माग धेरै नआएकोले तलरता केही सहज भएको हो । अहिले तरलता पनि सहज छ, आधार ब्याजदर पनि कम छ यद्यपी ऋणको ब्याजदर घटाउनेमा बैंकरहरु कुनै टसमस देखिएका छैनन् । ऋणको ब्याजदर नघट्नुमा कहिँ न कहिँ बैंकरहरुको बदमासी रहेको वा गरेको जस्तो ब्यवसायीहरुले बताउँछन् ।  

यसरीनै तरलता सहज भैरहेमा भने ऋणको पनि ब्याज घट्छ नै तर अफसिजनमा लगानी गर्न नसकेका बैंकहरुले चाडवाड सुरु भएसँगै आक्रामक रुपमा लगानी विस्तार गर्ने हुँदा तरलताको अभाव फेरी चुलिन सक्छ । सरकारको विकास खर्च गर्ने बानी उस्तै रहे फेरी बैंकहरुलाई तरलताको अभाव हुन सक्छ । 

बैंकहरुलाई तरलताको समस्या नभएमा र ऋणको ब्याजदर कम हुन सकेमा यस्ले शेयरबजारलाई समेत सकरात्मक प्रभाव पार्ने गर्दछ । निक्षेपमा रकम राखेर ब्याज खाएका लगानीकर्ता निक्षेपको ब्याज घटन थालेपछि शेयर बजारतर्फ आकर्षित हुने र ऋणको ब्याज घटेपछि शेयर लगानीकर्ता ऋणमै भएपनि शेयर खरिद बढाउँछन् । जसले गर्दा शेयर बजारमा शेयरको खरिद चाप बढ्न जान्छ र शेयर बजारले बुलिस बाटो तय गर्नसक्छ ।