अमेरिकाले एसियामा क्षेप्यास्त्र तैनाथ गरे अन्तर्राष्ट्रिय स्थायित्वका लागि खतरा
काठमाडौं ।अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा क्षेप्यास्त्र तैनाथ गरे यो अन्तर्राष्ट्रिय सुरक्षाका लागि खतरा हुने रूसी मन्त्रालयले जनाएको छ ।
अमेरिकी रक्षामन्त्री मार्क एस्परले यो महिनाको शुरूमा अन्तरमाध्यमिक दूरीका क्षेप्यास्त्रहरू एसियामा तैनाथ गर्ने जनाएका थिए ।
अमेरिका र रूसबीचको अन्तरमाध्यमिक दूरीका परमाणु हातहतियारमा बन्देज लगाउने तीन दशक पुरानो सम्झौताको नवीकरण नगरी अमेरिकाले एसियामा क्षेप्यास्त्र स्थापना गर्ने जनाएको हो ।
रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले अमेरिकाको यस्तो कारवाहीले वैश्विक स्थायित्वलाई खल्बलाउने खतरा थपेको बताइन् ।
उनले भनिन्–“ अमेरिकाले तैनाथ गर्न खोजेका यस्ता हतियारले युरोप सहितको विश्वलाई खतरा हुनेछ ।”
चीनको समर्थनमा रूसले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई अमेरिकाले तैनाथ गर्न खोजेको अन्तरमाध्यमिक दूरीका क्षेप्यास्त्रहरूको बारेमा जानकारी दिन भनेको उनले बताइन् ।
प्रतिक्रिया