जनयुद्ध दिवस : खुलामञ्चदेखि पार्टी कार्यालय हुँदै ट्वीटरसम्म 

जनयुद्ध दिवस : खुलामञ्चदेखि पार्टी कार्यालय हुँदै ट्वीटरसम्म 

काठमाडौं । २०५२ साल फागुन १ गते तत्कालीन नकेपा (माओवादी) ले सुरु गरेको जनयुद्धले आजबाट २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ ।

त्यतिबेला जनयुद्धको शंखघोष गर्ने मुख्य नेताहरु यतिबेला तीन पार्टीमा बिभक्त भएर आ आफ्नो कमाण्ड सम्हाली रहेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेकपाको अध्यक्ष बनेका छन् भने मोहन वैद्य किरण नेकपा (क्रान्तिकारी माओवादी) पार्टीको अध्यक्ष छन् । अर्का नेता डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टीको संयोजक बनेका छन् । जनयुद्धमै सामेल क्रियाशील युवा नेता नेत्रविक्रम चन्द विप्लव नेपाल कम्युनिष्ट पार्टी गठन गरेर महासचिव बनेका छन् ।

२०६३ को बृहत शान्ति सम्झौतापछि खुला राजनीतिक मोर्चामा आएको माओवादीले जनयुद्ध दिवस मनाउन काठमाडौंको खुलमञ्च नै प्रयोग गर्ने गर्दथ्यो । अझ यसो भनाँै, माओवादीलाई जनयुद्ध दिवस मनाउन काठमाडौंको खुलमञ्च नैं साँघुरो हुने गर्दथ्यो । सडकमा हजारौँ जनता स्वस्फूर्त रुपमा ¥याली निकालेर खुलामञ्चमा भेला भई नेताको हातबाट बिजयको प्रतिक रातो टीका लगाएर यो दिवस मनाउने गर्दथे । तर, आज जनयुद्धका सुप्रिम लिडरहरु नैं विभक्त हुँदा यो दिवस पार्टी प्यालेस, होटल, पार्टी कार्यालय हुँदै विज्ञप्ति जारी र ट्वीटरमा पुगेर टुंगिएको छ । 

यसै सन्दर्भमा देशको प्रमुख तथा सत्ताधारी दल नेकपाले जनयुद्ध दिवस पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मनाएको छ । देशका ७७ वटै जिल्लामा सिङ्गो पार्टी संगठन तथा जनबर्गीय संगठनका नेता, कार्यकर्ता, शुभचिन्तक तथा समर्थकहरु भेला भएर आपसमा शुभकामना आदान प्रदान गरी जनयुद्ध दिवस मनाएका छन् ।

नेकपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्व नेकपा एमाले र माओवादीले पार्टी एकता गरेपछि बनेको नेकपाका अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, नेताहरु भीम रावल, सुवास नेम्वाङलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रचण्डले विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितिमा रहेको र नेपालमा लोकतान्त्रिक ढंगले आक्रामक भएको हुँदा कतिपयलाई आश्चर्य लागेको भन्दै सामन्ती तथा प्रतिक्रियावादी शक्तिहरु नेकपाको एकता र नेकपाको सरकारलाई भत्काउन लागि परेको बताए । उनले भने, ‘हामीहरु वैचारिक, राजनीतिक र सांस्कृतिक रुपमा एक भएर जाने संकल्प गर्नु पर्छ ।’ जनयुद्ध दिवसले पार्टी एकता र संगठनलाई छिटो टुंग्याएर जाने प्रेरणा र ऊर्जा प्राप्त भएको पनि बताए । 

त्यसैगरी नेकपाका महासचिव विष्णु पौडेलले जनआन्दोलन र जनयुद्धका शहीदहरुकै कारण आजको परिवर्तन सम्भव भएको बताए । 

उता जनयुद्ध थालनी गर्दाका अर्का नेता तथा हाल कम्युनिष्ट तथा बामपन्थीको नाम निशान नैं त्यागिसकेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइले जनयुद्ध दिवसको अवसरमा सामाजिक सञ्जाल ट्वीटरमा प्रचण्ड, किरण र आफ्नो फोटो राखेर स्ट्याटस पोष्ट गर्दै स्मरण गरेका छन् । 

उनले ट्वीट गरेका छन्, ‘नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवसको उपलक्षमा सबैमा हार्दिक शुभकामना । संविधानसभावाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दश वर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२/६३ को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौँ ।’

यता अर्का नेता मोहन वैद्यले पनि विज्ञप्ति जारी गर्दै महान जनयुद्धले गम्भीर धोका खाए पनि जनताका त्याग, वीरता र बलिदानका उत्कृष्ट मूल्यहरु खेर नगएको उल्लेख गरेका छन् । उनले उल्लेख गरेका छन्, – ‘जनयुद्धका तत्कालीन नेतृत्वको एउटा हिस्साले संशोधनवाद हुँदै पश्चगनको बाटो पकडे पनि सच्चा क्रान्तिकारी कम्युष्टिहरुद्वारा क्रान्तिको प्रक्रियालाई निरन्तर जारी राखेको छ ।’ 

विप्लव नेतृत्वको माओवादी पार्टीले आफ्नो सापेक्षताको प्रतिरोध संघर्ष गरेर जनयुद्ध दिवस मनाएको छ ।