पदाधिकारीबीचको बिवादले सप्तरीमा खेलकुद गतिबिधि ठप्प
सप्तरी, ११ भदौ । जिल्ला खेलकुद विकास समितिका पदाधिकारीबीचको विवादका कारण बिगत चार महिनादेखि सप्तरीमा खेलकुद गतिविधि ठप्प छन् ।
खाता सञ्चालनको विषयलाई लिएर समितिका पदाधिकारीबीच उत्पन्न विवादले खेलकुद गतिविधि ठप्प हुँदा खेलकुद क्षेत्र नराम्ररी प्रभावित भएको हो । समितिका वहुमत पदाधिकारीहरुले अध्यक्ष अमर खवासबाट ब्यवस्थापकीय कमजोरी भएको र लामो समयदेखि समितिको आयव्यय सार्वजनिक नगरेको भन्दै समितिका उपाध्यक्ष धिरु बर्मासहितका पदाधिकारीहरुले गत जेठ ४ गते समितिको मुलगेटमै तालाबन्दी गरेका थिए ।
समितिका कोषाध्यक्षको हस्ताक्षरमा खाता सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि खेलकुद समितिका प्रमुख दिनेश भुजेल र अध्यक्ष अमर खवासले समितिका कोषाध्यक्ष राजेश चौधरीको हस्ताक्षर खाताबाट हटाएकोले बिवाद उत्पन्न भएको समितिका उपाध्यक्ष बर्माको कथन छ ।
ऐन, नियम र पद्धति विपरीत कार्यालयको खाता सञ्चालन गर्न खोजिएकाले तालाबन्दी गरिएको भन्दै उपाध्यक्ष बर्माले अध्यक्ष र कार्यालय प्रमुखबाट भएको कमजोरी सुधार नभएसम्म तालाबन्दी नखोलिने बताएका छन् ।
लामो समयदेखि तालाबन्दी नखुल्दाँ बिभिन्न खेलकुदका अभ्यासहरु हुन नसकिरहेको छैन् भने जिल्लाबाट अन्यत्रको जिल्लामा हुने महत्वपूर्ण प्रतियोगितामा सहभागी हुने खेलाडीहरु चन्दा संकलन गर्न बाध्य भएका छन् ।
कार्यालयनै बन्द रहेका कारण खर्च जुटाउन नसकेपछि आर्थिक सहयोग संकलन गरी खेलाडीहरु राजधानीमा भएको भारात्तोलन प्रतियोगितामा सहभागी भएका थिए ।
आगामी १५ मंसिरदेखी नेपालमा १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता हुने तय भइसकेको छ । भारोत्तोलनका खेलाडी सरिता यादवले सो प्रतियोगितामा स्वर्ण पदक जित्ने र ओलम्पिकमा सहभागी हुने लक्ष्य रहे पनि खेलकुद समितिमा देखिएको विवादका कारण निराश र दुःखी बनाएको बताउँछिन् ।
आवश्यक बजेट, खेलकुदमा राजनीति र खेलकुदका पदाधिकारीबीचको विवादका कारण खेलकुद गतिविधि ठप्प भएपछि खेलाडी नै पलायन हुने अवस्था आउन लागेको खेलकुदप्रेमीहरुको भनाइ छ ।
तीन महिना बित्न लाग्दा पनि ताला खोलाउनका लागि कतै कुनै निकायबाट ठोस पहल नभएका कारणले जिल्लामा खेलकुद गतिविधि ठप्प भएपछि खेलकुदप्रेमीहरु समेत निराश बनेका छन् ।
यता जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख दिनेश भुजेलले राष्ट्रिय खेलकुद परिषद्बाट नियुक्त भएका पदाधिकारीहरुले एक अर्कालाई विश्वास नगर्दा यस्तो अवस्था सृजना भएको भन्दै बिवाद समाधानका लागि राखेपलाई आग्रह गरेको बताएको छ । केही दिनभित्रै समस्या समाधान हुनेमा आफुहरु आशाबादी रहेको प्रमुख भुजेलको भनाइ छ ।
प्रतिक्रिया