उपेन्द्रले राजपा फुटाउँदै

उपेन्द्रले राजपा फुटाउँदै

काठमाडौं  समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले अध्यक्ष मण्डलका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले एकीकरण गरे दुई जनालाई छोडेर भएपनि एकीकरण गर्ने निर्णयमा पुगेपछि राजपामा विवाद चर्किएको छ ।

भदौ महिना भित्रै एकीकरण गर्ने गरी राजपा अध्यक्ष मण्डलका नेताहरूले  छलफल बढाएपछि अध्यक्ष मण्डलका केही नेताहरूले  राजनीति चर्काउन लागि परेका हुन् ।

वार्ता समितिका संयोजक राजेन्द्र महतो निकट एक नेताले अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र सदस्य अनिल झाले पार्टी एकता गर्न तत्काल नहुने लाइनमा देखिएको बताएका छन् ।

पार्टी भित्रै त्यसै पनि एकीकरण महाधिवेशन अघि गर्ने वा महाधिवेशन पछि गर्ने विषयमा छलफल भइरहेको पार्टीका उपाध्यक्ष सत्यनारायण मण्डलले जनाएका छन् ।

उनले भने “पार्टीमा महाधिवेशन अघि वा पछि समाजवादी पार्टीसँगको एकता गर्ने समूह छ ।”

यो विवाद चर्किदै गएको र वार्ताबारे आफूहरूलाई जानकारी नगराएको अध्यक्ष मण्डलका संयोजक यादव पक्षधरहरूको रहेको छ ।

  महाधिवेशनको तयारीमा जुट्नुपर्नेमा अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव र अनिल झा छन् । तर महाधिवेशनअघि सके भदौ भित्रै एकीकरण गर्नुपर्ने पक्षमा महन्थ ठाकुर, राजेन्द्र महतो, महन्द्र यादव र शरतसिंह भण्डारी रहेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि एकता प्रक्रिया सक्दो चाँडो टुंग्याउन चाहेको त्यो पार्टीका नेताहरूको भनाइ छ । समाजवादी पार्टीका नेताहरूले पनि राजपाका नेताहरूसँग छलफल गरिरहेका छन् ।

संयोजक यादवले वार्ताबारे आफूलाई थाहा नभएको र संयोजकले वार्ताबारे अध्यक्ष मण्डललाई जानकारी नगराएको बताएका छन् । 

संयोजक यादवले यो वताइरहँदा समाजवादी पार्टीका महासचिव तथा सो पार्टीको तर्फबाट बनेको वार्ता समितिको सदस्य रामसहाय प्रसाद यादवले आफूले संयोजक यादवसँग उनकै कार्यकक्षमा वार्ता गरेको बताएका छन् ।

महतो पक्षीय नेताले संयोजक आफू पनि वार्ता प्रक्रियामा संलग्न रहेको अवस्थामा वार्ताबारे आफूलाई केही थाहा नभको भन्नु सुहाउँछ र भनी प्रतिप्रश्न गरेका छन् ।

पार्टीमा भइरहेको विवादबारे छलफल गराउन संयोजक यादवले अध्यक्ष मण्डलको बैठक बोलाउँदा बस्न सकेन् । अध्यक्ष मण्डलको बैठक नबसे पछि संयोजक यादवले शुक्रबार र शनिबार राजनीतिक समितिकिो बैठक बोलाएका छन् ।

राजनीतिक समितिको बैठक बोलाए पनि राजपामा अध्यक्ष मण्डलको संरचना बलियो रहेको छ । उसले गरेको निर्णयलाई राजनीतिक समितिको बैठकले चुनौती दिन सक्दैन् ।

यसअघि राजनीतिक समितिको बैठकले गरेको निर्णयलाइृ अध्यक्ष मण्डलले फेरेको धेरै नभएको उपाध्यक्ष मण्डलको भनाइ छ । पार्टी विधानमा अध्यक्ष मण्डलको संरचना राख्ने निर्णय गर्नु त्यस मध्ये एक हो ।

राजनीतिक समितिको बैठकमा अध्यक्ष मण्डलका नेताहरू आउने र कुनै निर्णय हुने सम्भावना क्षीण रहेको शरतसिंह भण्डारी निकट एक महासचिवले बताएका छन् ।

यसअघि भदौ २ गते राजपा अध्यक्षमण्डलको बैठक बोलाइएको थियो । विवादका कारण  सो बैठकमा अध्यक्षमण्डलका दुई सदस्य महतो र भण्डारी अनुपस्थित  हुन पुगे ।

सिंह काठमाडौ बाहिरबाट आएनन भने महतो राजधानीमै भएर नआएको पार्टी नेताहरूको भनाइ छ ।

साउन ६ गते देखि अध्यक्षमण्डलका संयोजकको जिम्मेवारी राजकिशोर यादवले पाएका हुन् ।

 उनले बोलाएको बैठकमा अनिल झा , महन्थ ठाकुर र महेन्द्र राय यादव उपस्थित भए ।

झा बाहेक सबै ढिला गरी पुगेकाले त्यो बैठक स्थगित गर्ने निर्णय गरिएको थियो ।

चक्रिय प्रणाली अन्तर्गतको संयोजक बन्ने पहिलो चरणको अन्तिम संयोजक यादव हुन् ।

असोज ६ गते फेरि ठाकुर संयोजक बन्ने भएका छन् । पार्टीको संयोजकबाट ठाकुरलाई हटाएयता पार्टी विवादमा रही आएको छ ।

एकता पक्षीयहरूका अनुसार भदौ महिना भित्र समाजवादी पार्टीको एकीकरणको टुंगो नलागे तत्काल एकीकरण हुन गाह्रो हुनेछ ।

पार्टी फुटाउने कुरो भन्दा पनि अध्यक्ष मण्डलका झा र यादवलाई कुनै हैसियतमा राख्ने भन्ने विषयमा विश्वासमा लिन नसक्दा यो गतिरोध रहन सक्ने देखिएको छ ।

पार्टी फुटाएर केही गर्न नसक्ने विषय झा र यादव दुबैले बुझेको पार्टी नेताहरू बताउँछन् ।

तर बाह्य शक्तिले फुटाउन खोजे र त्यो दबाब झेल्न नसके पार्टी फुटन सक्ने पार्टी नेताहरूको भनाइ रहेको छ ।

समाजवादी पार्टीका अध्यक्ष यादवले यो चार जना नेतासहितको राजपा मिल्न आए पार्टी एकीकरण गर्न सक्ने सुइँको पाएकाले यी दुई नेता तर्किएको पार्टी निकटहरूको बुझाइ रहेको छ ।