कार्वाही गर्नुपर्ने सचिव सूर्यप्रसाद गौतमलाई पुरस्कार

कार्वाही गर्नुपर्ने सचिव सूर्यप्रसाद गौतमलाई पुरस्कार

नेपाल कृषि प्रधान देश हो । कृषिको सम्बन्ध अनिवार्य रुपमा भूमिसँग जोडिन्छ । नेपालका कम्युनिस्टहरुले पार्टी स्थापनाकालदेखि नै ‘क्रान्तिकारी भूमि सुधार’, ‘जसको जोत उसको पोत’ जस्ता नारा लगाउँदै आएका छन् ।

नेपालमा पहिलो पटक दुई तिहाई हाराहारीमा कम्युनिस्ट पार्टी नेतृत्वको सरकार छ । यो सरकारले भूमिसम्बन्धी नीतिलाई बदल्न सक्छ । वास्तवमा भूमि नीति कुनै पनि देशको मुहार बदल्नका लागि आधारभूत विषय हो । यस्तो महत्वपूर्ण र संवेदनशील क्षेत्रलाई उपेक्षामात्र होइन, राज्यको स्थायी सरकार मानिने सचिव निकै विवादित लगिएको छ । 

भूमिको विषय दीर्घकालीन र अल्पकालीन दुबै दृष्टिले सम्बेदनशील महत्वपूर्ण छ । अल्पकालीन यस मानेमा कि पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसमेतको नाम जोडिएर चर्चामा आएको बालुवाटारस्थित ललिता निवास जग्गा–प्रकरण अझै सेलाएको छैन । सुकुम्बासीका नाममा पहुँचवालाले महत्वपूर्ण स्थानको जग्गा हडप्ने परम्परा नेपालमा जमानादेखि चल्दै आएको पेशा हो । मन्त्रीहरु आउँछन्–जान्छन् । कर्मचारी आफूलाई स्थायी सरकार मान्छन् । ‘मालदार’ मानिने भूमिव्यवस्थापनसम्बन्धी काम गर्ने मन्त्रालय चलाउने जिम्मा यतिबेला विवादास्पद छवि बनाएका सचिव सूर्यप्रसाद गौतमलाई दिइएको छ ।

जग्गाको हदबन्दी निर्धारण गर्ने लगायत भूमिव्यवस्थापनमा सुधार गर्ने घोषणा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको थियो । भूमि व्यवस्थापनसम्बन्धी विधेयक पास नहुञ्जेल जग्गाको प्लटिङ तथा जथाभावी हुँदै आएको कित्ताकाट रोक्न सरकारले निर्देशन दिए पनि यसबीचमा झनै बढी जग्गा कित्ताकाट भएको सार्वजनिक भएका छन् । सुकुम्बासी समस्या समाधान भएको छैन । सरकारी जग्गा अतिक्रमण गरेर सके व्यक्तिको बनाउने नसके लामो समयका लागि ‘लिज’मा लिने धन्दा रोकिएको छैन । सबैभन्दा बढी सेटिङमा धन्दा चल्नेमध्येको भूमि व्यवस्था मन्त्रालय हो । र, यस्तो मन्त्रालयको जिम्मा सेटिङमा ‘माहिर’ सचिवलाई दिइएकोमा आश्चर्य मानिएको छ ।

पदीय दुरुपयोग

महालेखा नियन्त्रकको कार्यालयबाट भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका यिनै विवादास्पद सचिव सूर्यप्रसाद गौतमले पदीय मर्यादाको कतिसम्म दुरुपयोग गरेका रहेछन् भन्ने फेहरिस्त प्राप्त भएको छ ।

लोकसेवाले लिएको विद्यालय निरीक्षक परीक्षाको लिखित परीक्षामा आफ्ना छोरीदेखि श्रीमतीसम्मलाई उत्तीर्ण गराउन पूर्व शिक्षा सचिव रामस्वरुप सिन्हा र शिक्षा मन्त्रालयका तत्कालीन सहसचिव सूर्यप्रसाद गौतम लागेको समाचार केही अघि बाहिर आएकै हो । 

पूर्व शिक्षा सचिव सिन्हाकी छोरी अन्तिमा कुमारी सिन्हा र शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमकी श्रीमती इन्दिरा ढकाल गौतमलाई लिखित परीक्षामा उत्तीर्ण गराइएको थियो । मौखिक परीक्षामा जसरी पनि पास गराउन सम्बन्धित अधिकारीलाई प्रलोभन दिइएको थियो । 
शिक्षा मन्त्रालयसँग आबद्ध सिन्हा र गौतमलाई लोकसेवा आयोगले प्रश्नपत्र निर्माण र सोको उत्तरपुस्तिका चेकजाँच गर्ने कार्यमा बाहिरको विज्ञका रुपमा नियुक्ति गरेको थियो । सोही अवसरको फाइदा लिँदै सिन्हा र सहसचिव गौतमले प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका परीक्षणसम्मको कार्य आफैले गरी क्रमशः आफ्ना छोरी र श्रीमतीलार्ई परीक्षाअगावै प्रश्न चुहाउने काम मात्रै गरेनन्, कापी जाँच्ने नाममा आफ्नै हातले भटाभट नम्बर दिई उत्तीर्ण गराए  । कतिपय प्रश्नको उत्तर पछि बोलाएर लेखाइएको समेत आरोप लागेको थियो । 

०६८ सालमा निजामति सर्वोत्कृष्ट निजामति पुरस्कार विजेता तत्कालीन शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक गौतमले आफ्नो श्रीमतीको उत्तरपुस्तिका आफैले जाँचेर लोकसेवा पास गराए ।

अदालतबाट दोषी

महालेखा नियन्त्रक पदमा कार्यरत उनलाई अदालतले समेत दोषी ठहर्याएको थियो । तर, गौतमलाई कुनै कार्वाही भएन । शिक्षा मन्त्रालयको सचिवका लागि दौडधुप गरिरहेका गौतमलाई सरकारले भूमि व्यवस्था मन्त्रालयमा सचिव बनाएको छ । सामान्यतः पदीय दुरुपयोग गर्ने जोकोहीमाथि कार्वाही हुनु पर्नेमा गौतमलाई भने मालदार मन्त्रालयको जिम्मेवारी दिएर पुरस्कृत गरिएको महालेखा नियन्त्रण कार्यालयका उनी मातहत बसेर काम गरेका कर्मचारी बताउँछन् । कुनै दलको नेताको संरक्षणमा उनले नाजायज कर्म गर्दा पनि सजाय नपाएर उल्टो पुरस्कार पाएको कर्मचारी बताउँछन् । 

सुवास नेम्वाङ गौतमको पक्षमा

यो विषयमा अदालतमा मुद्दा हालेर वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ताहरू सुवासचन्द्र नेम्वाङ, हरिप्रसाद उप्रेती, हरिकृष्ण कार्की, विजय मिश्र, हरिराज भट्टराई र दीननाथ पराजुलीलाई उनले पक्षमा बहस गर्न लगाए । तर, अदालतले पनि उनी र उनको श्रीमतीलाई नै दोषी देखायो । राम्रै आर्थिक लाभ लिएर यस्तो विवादास्पद मुद्दा लडेका सुवास नेम्वाङसँग गौतमको सम्बन्ध अहिले पनि विशेष रहेको बताइन्छ । नेम्वाङको विशेष सम्बन्धको लाभ गौतमले पटकपटक भजाएको कर्मचारीवृत्तमा चर्चा छ ।

लोकसेवाबाट नतिजा रद्द

गौतम मात्रै होइन, सोही समय पूर्वशिक्षा सचिव रामस्वरूप सिन्हाले पनि आफैले उत्तरपुस्तिका परीक्षण गरी छोरीलाई परीक्षा उत्तीर्ण गराएका थिए । छानविनका क्रममा नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूहको विद्यालय निरीक्षक पदमा निवेदन दिएका अन्तिमाकुमारी (सिन्हाकी छोरी) र इन्दिरा ढकाल गौतम (गौतमकी पत्नी ) को उत्तरपुस्तिका उनीहरूकै आफन्तले परीक्षण गरेको पाइएपछि दुबै नतिजा लोकसेवाले रद्द गरेको थियो । 

अदालतको फैसला

२०६९ साल माघ १७ गते न्यान्याधीश दामोदर शर्माको आदेशमा गरिएको फैसलामा गौतम र सिन्हाले कानुन विपरीत काम गरेको स्पष्ट लेखिएको छ । उक्त फैसलामा भनिएको छ, ‘लोकसेवा आयोगको मिति २०६९/६/२४ को निर्णय हेर्दा आयोगको वि.नं. २५८८–२५९३/०६८–६९, नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूहको विद्यालय निरीक्षक पदका परीक्षार्थी श्री अन्तिमाकुमारी सिन्हा र श्री इन्दिरा ढकाल गौतम लिखित परीक्षाबाट उत्तीर्ण भएको सन्दर्भमा छानविन गर्दा उत्तीर्ण परीक्षार्थी श्री अन्तिमाकुमारी सिन्हा र श्री इन्दिरा ढकाल गौतमका आफ्नै नातेदार क्रमशः बाबु श्री रामस्वरूप सिन्हा र पति श्री सूर्यप्रसाद गौतमबाट लोकसेवा आयोग (कार्यसञ्चालन) निर्देशिका, २०६७ को अनुसूची १९ को उत्तरपुस्तिका परीक्षण गरी पठाउने अनुरोध पत्रको बुँदा नं. ८ मा ‘परीक्षणकर्ताको कुनै नातेदारले सो परीक्षा दिएको भए सिलबन्दी रूपमा नै उत्तरपुस्तिका परीक्षण नगरी फिर्ता गर्नुपर्नेछ’ भन्ने स्पष्टरूपमा उल्लेख भएको प्रावधानविपरीत आफ्नै नजिकका नातेदार क्रमशः छोरी र श्रीमतीले परीक्षा दिएको अवस्थामा समेत सो पदको उत्तरपुस्तिका परीक्षण गरेको देखिँदा नियतवश नै उत्तरपुस्तिका परीक्षण गरेको भन्ने अर्थ गर्न सकिने अवस्था रहेको र सो पदको परीक्षाको प्रश्नपत्र परिमार्जन कार्यमा समेत निजहरू संलग्न रहेबाट परिस्थितिजन्य प्रमाणबाट समेत उल्लिखित दक्षहरूको नियत सफा रहेको भन्न सकिने अवस्था नहुँदा उल्लिखित परीक्षार्थीहरूलाई सघाउ पुग्ने ढङ्गबाट आयोगको निष्पक्षतामा आँच आउने गरी भएको उक्त कार्यका आधारमा निज परीक्षार्थी क्रमशः श्री अन्तिमाकुमारी सिन्हा र श्री इन्दिरा ढकाल गौतमको उक्त परीक्षा रद्द गर्ने भनी निर्णय भएको पाइयो ।’

सो फैसलाको अर्को बुँदामा भनिएको छ, ‘लोकसेवा आयोगबाट प्राप्त फाइलको अध्ययनबाट निवेदिका इन्दिरा ढकाल गौतमका पति सूर्यप्रसाद गौतम र अर्की निवेदिका अन्तिमाकुमारी सिन्हाका पिता रामस्वरूप सिन्हाले यी निवेदिकाहरू प्रतियोगी भएको नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह निरीक्षण उपसमूहको विद्यालय निरीक्षक पदको प्रश्नपत्र तयार गर्ने, परिमार्जन गर्ने तथा उत्तरपुस्तिका परीक्षण गर्ने कार्यमा संलग्न रहेको भन्ने कुरामा विवाद देखिएन । समयबद्ध साप्ताहिकबाट