निजगढ विमानस्थलको सवालमा विवादित बन्दै प्रदेश २ सरकार
जनकपुर, १८ भदौ । एकपछि अर्काे विवादमा फस्दै आएका प्रदेश २ सरकार यतिबेला पुनः विवादमा फसेको छ ।
संघीय सरकारले बाराको निजजढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णयको विपक्षमा उभिएपछि प्रदेश २ सरकारको चौतर्फी विरोध मात्रै होइन स्थानीयहरुले प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको पुतला समेत जलाएका छन् ।
संघीय सरकारले राष्ट्रिय गौरवको योजनाको रुपमा बनाउन लागेको अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने गरी प्रदेश वन मन्त्री रायको अभिव्यक्ति आएको भन्दै बाराका स्थानीय सरकार प्रमुखहरुले समेत आपति जनाएका छन् ।
प्रस्तावित दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणका क्रममा बाराको निजगढमा रूखहरू काट्न नदिने प्रदेश वनमन्त्रीको अभिव्यक्तिका कारण संघीय र प्रदेश सरकारबीच पुनः असमझदारी उत्पन्न हुने संकेत देखिएको छ ।
मन्त्री रायको अभिव्यक्तिपछि बाराको निजगढकै स्थानीय सरकार प्रमुख र स्थानीय जनता विरोधमा उत्रेका छन् ।
विरोध कार्यक्रममा फास्ट ट्रयाक एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिका संयोजक रविराज दंगालले संघीय सरकारले अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्नै लागेका बेलामा प्रदेश सरकारका मन्त्रीले दिएको अभिव्यक्तिका कारण आफूूहरुमा निराशा छाएको बताए ।
विमानस्थल बनाउन जनस्तरबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
विमानस्थल बनाउन आवश्यक पर्ने रूखहरू काट्न नदिने र प्रदेशभित्रकै अरू खालि जमिन प्रयोग गरेर विमानस्थल बनाउनुपर्ने मन्त्री रायको अभिव्यक्ति खेदजनक रहेको बाराको कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत भण्डारीले विज्ञप्तिमार्फत बताएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले मुलुककै विकासमा टेवा पुग्ने र कायापलट गराउने खालको सो आयोजना भएकाले यो विमानस्थल बनाउनुपर्ने भन्दै प्रदेश मन्त्री रायको अभिव्यक्ति विकास विरोधी भएको टिप्पणी गरे ।
यस्तै निजगढ सरोकार समितिले समेत मन्त्री रायको अभिव्यक्ति गैरजिम्मेवार रहेको भन्दै फिर्ता लिन आग्रह गरेको छ ।
विमानस्थल निर्माण हुन नदिन विभिन्न चलखेल शुरु भएको भन्दै एयरपोर्ट निर्माण मूल समितिका संयोजक रविराज दंगालले नेपालीको भाग्य र भविष्यसँग जोडिएको आयोजना भएकाले सफलताको लागि सशक्त रूपमा दबाब अभियान सञ्चालन गर्नुपर्ने बताए ।
यसअघि संघीय सरकारले सर्लाही र महोतरीस्थित सागरनाथ वनलाई आफ्नो मातहत ल्याउन लागेको भन्दै प्रदेश २ सरकारले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेपछि संघीय सरकार र प्रदेश सरकारबीच अन्तरद्वन्द्व बढ्ेको छ ।
प्रतिक्रिया