प्रदेश २ सरकारले संविधान दिवस मनाउने निर्णय राजपालाई चुनौती

प्रदेश २ सरकारले संविधान दिवस मनाउने निर्णय राजपालाई चुनौती

काठमाडौ ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आगामी असोज ३ गते कालो दिनको रुपमा मनाउने निर्णय गरे लगत्तै  राजपा सहभागी प्रदेश २ सरकारले सो दिनलाई उत्सवको  रुपमा बनाउने निर्णय गरेको छ ।

प्रदेश–२ सरकार मन्त्रिपरिषद्को बुधबार  बसेको बैठकले आगामी असोज ३ गते संविधान दिवसको अवसरमा तीन दिने कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने निर्णय गरेको हो ।

संविधान दिवसको पहिलो दिन असोज २ गते डेंगु रोगबाट बच्न र ड्रग्स नियन्त्रणको लागि सचेतनामूलक कार्यक्रम गर्ने निर्णय प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिएका हुन् ।

त्यसैगरी दोस्रो दिन असोज ३ गते विभिन्न कार्यालयमा दिपावली गर्ने र अन्तिम दिन असोज ४ गते सरसफाई तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरिने मन्त्री यादवले खुलाए ।

यसअघिका वर्षहरुमा प्रदेश २ सरकारले संविधान दिवस मनाएको थिएन । यता राजपाले संविधान संशोधनको मुद्दा हालसम्म सम्बोधन नभएको भन्दै असोज ३ गतेलाई विरोध दिवसको रुपमा मनाउँने निर्णय गरेको हो ।

राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवको संयोजकत्वमा मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले सो दिन देशव्यापी रुपमा विरोध दिवस मनाउने निर्णय गरिएको राजपाले जनाएको छ ।