स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण घुमफिर कि सिक्नका लागि ?  

स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण घुमफिर कि सिक्नका लागि ?  


शंकर तिमल्सिना
 
१९ भदौ, काठमाडौं । स्थानीय तहका पदाधिकारीहरुको विदेश भ्रमण बारम्बार भइरहेको छ । चालू आर्थिक वर्ष २०७५÷०७६ मा एक सय ६४ जना पदाधिकारीले विभिन्न देशको एक सय दुई पटक विदेश भ्रमण गरेको पाइएको थियो । भारतको औपचारिक-अनौपचारिक भ्रमणको त हिसाव किताव छैन ।
 
विदेश भ्रमणमा स्थानीय तहका पदाधिकारी तारन्तार जान थालेपछि संघीय मन्त्रालयले कडाइ गरेको थियो । संघको स्वीकृति विना विदेश जान नपाइने व्यवस्था गरिएको छ । नियम बनेपछि भने विदेश भ्रमणमा धेरै कमी आएको छैन । केही हदसम्म व्यवस्थित पनि बनेको देखिएको छ ।  
 
सबैभन्दा बढी वैदेशिक भ्रमणमा जानेमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्का, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन छन् । चीन, अमेरिका, अस्ट्रेलिया, मंगोलिया, भियतनामसहितका देश घुमेका छन् । उनीहरुको विदेश भ्रमणको औचित्यता सर्वत्र खोजेपछि नै मन्त्रालयले कडाइ गरेको हो । 
 
उनीहरुको हाराहारीमा नघुमे पनि विदेश भ्रमण बाक्लै गर्नेमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणा,  घोराही उपमहानगरपालिकाका प्रमुख निरुलाल चौधरी, धनगढी उपमहानगरका प्रमुख नृपबहादुर वड, धरान उपमहानगरका कार्यवाहक प्रमुख मञ्जु भण्डारी छन् ।
 
गत आर्थिक वर्षमा पदाधिकारीहरुले चीनमा १८ पटक, अमेरिकामा १५ पटक जापान र दक्षिण कोरियामा सात पटक भ्रमण गरेका छन्। मन्त्रालयले स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन ‘विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५’ र स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५ जारी गरेको छ।

निर्देशिकानुसार आयोजकले खर्च नबेहोर्ने तर स्थानीय तहका लागि अत्यावश्यक प्राविधिक, वस्तुगत सहायता उपलब्ध गराउने खालका कार्यक्रममा बढीमा दुई जनासम्मको टोली बनाएर भ्रमणका लागि मात्र सहमति दिने गरिएकोमा त्यसको कतिको पालना भएको छ भन्नेबारेमा अनुगमन भएको छैन ।
 
तर, जे भए पनि विगतमा जस्तो वेलगाम विदेश भ्रमण जान पाइने अवस्था छैन । निर्देशिका अनुसार भ्रमण जानुको आवश्यकता छ कि छैन, भ्रमणमा गएपछि स्थानीय तह र सरकारलाई के फाइदा हुन्छ त्यो हेरेर मात्र भ्रमण स्वीकृत गर्ने गरेकाले पनि भ्रमणले सकारात्मक काम गर्ने अपेक्षा गरिएको छ ।
 
पछिल्लो समयमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको विदेश भ्रमण मोह भन्दै बेस्सरी प्रचार भइरहेकोमा उनको सचिवालयले यसलाई पूर्वाग्रहपूर्ण प्रचार भएको बताएका छन् । उनले महानगरपालिको आर्थिक र सामाजिक रूपान्तरणमा प्रत्यक्ष सहयोग पुग्ने गरी वैदेशिक सहयोग परिचालनमा मद्दत पु¥याउने खालका अत्यावश्यक भ्रमण भएको बताए छन् ।
 
स्थानीय तहका पदाधिकारीले विदेश भ्रमण गर्नै हुँदैन भन्ने त होइन तर त्यसले कति उपलब्धि दियो भन्ने कुराको भने समीक्षा गर्नैपर्छ । केवल घुमफिरभन्दा पनि भ्रमणबाट स्थानीय तहको समृद्धिमा पु¥याउने योगदानको मापन गर्नुपर्छ ।