नोबेलमा जटिल शल्यक्रिया गरेर निकालियो अत्यन्तै दुर्लभ ट्युुमर

नोबेलमा जटिल शल्यक्रिया गरेर निकालियो अत्यन्तै दुर्लभ ट्युुमर

बिराटनगर, २१ भदौ । नोबेल शिक्षण अस्पतालमा जटिल शल्यक्रिया गरी अत्यन्तै दुर्लभ ट्युुमर सफलतापूर्वक निकालिएको छ । इलामको चुलाचुली गाउँपालिका–४ पेल्टिमारीकी ३६ बर्षीया लंकाशोभा राईको शरीरबाट दुर्लभ ट्युुमर निकालिएको हो ।

     
  नोबेल शिक्षण अस्पतालका यूरोलोजिष्ट डा।रामसागर शाह नेतृत्वको चिकित्सकहरुको टोलीले राईको दाहिने मृगौलामाथिको एडेनल ग्रन्थीमा पलाएको ट्युुमर सफलतापूर्वक निकालेको हो ।

 

डा .शाहका अनुसार सामान्यतया दश लाख मानिसमध्ये एक जना व्यक्तिमा मात्र यस्तो ट्युुमर पाइने गरेको छ । ‘यो अत्यन्तै दुर्लभ ट्युुमर हो,’ डा. शाहले भने ‘यसको अप्रेशन पनि धेरै जटिल हुन्छ ।’

       चिकित्सकहरुका अनुसार एडेनल ग्रन्थीमा ट्युुमर पलाएपछि यसले शरीरमा अनावश्यक हर्मन उत्पादन गर्छ । फलस्वरुप बिरामीको रक्तचाप अत्याधिक बढ्ने, मुटुको धड्कन अस्वाभाविक रुपमा बढी हुने, पसिना धेरै आउने जस्ता समस्या देखा पर्छन । अत्याधिक रुपमा रक्तचाप र मुटुको धड्कन बढ्दा बिरामीको मृत्युसमेत हुन सक्ने डा शाह बताउँछन् ।   

       यस्तै जोखिम र जटिल समस्याबाट ग्रसित राई दुई बर्ष अघिदेखि पीडा झेल्दै आएकी थिइन । उपचारका लागि पूर्वका विभिन्न अस्पताल पुगेकी उनी अन्तिममा नोबेल अस्पताल आएर अपरेशन गराइ निको भएकी छन् । ‘दुई बर्षदेखिको पीडाबाट मुक्ति मिलेको छ । अपरेशनपछि निको हुँदा धेरै सहज भएको छ,’ उनले भनिन् । 

       यस्ता बिरामीको अप्रेशन गर्ने क्रममा रक्तचाप ह्वात्तै बढ्ने र मुटुको चाल बन्द हुने संभावना बढी हुँदा शल्यक्रिया जोखिमपूर्ण हुने गरेको चिकित्सकहरुको भनाइ छ । यो समस्या टार्न राईलाई एक महिना अघिदेखि नै रक्तचाप नियन्त्रण गर्ने औषधि नियमित खुवाएर शल्यक्रिया गरिएको हो । शल्यक्रियापश्चात निको भएर उनी अहिले अस्पतालबाट घर फर्किएकी छन् ।

नोबेलले यसअघि पनि यस्ता धेरै जटिल एवं दुर्लभ शल्यक्रिया सफलतापूर्वक गर्दै आएको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सक भएका कारण नोबेलमा जटिल शल्यक्रिया पनि सफलतापूर्वक हुँदै आएको अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माको भनाइ छ ।