महोत्तरीमा एम्बुलेन्स दुर्घटना, एक जनाको ज्यान गयो
महोत्तरी, २२ भदौ । बर्दिवास नगरपालिका–३ मा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
बा २१ च ४४४१ नम्बरको एम्बुलेन्स बिरामी लिएर जनकपुरतर्फ जाँदै गर्दा आइतबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा स्थानीय ५० वर्षीया तारा वादीको ज्यान गएको छ ।
दुर्घटनामा बर्दिबासका एम्बुलेन्स चालक चित्रबहादुर बुढाथोकी, मृतकका छोरा उवेश वादी, छोरी गंगा वादी घाइते भएका छन् ।
यस्तै, दुर्घटनामा परेको एम्बुलेन्सले ठक्कर दिँदा पैदलयात्री धनुषाको मिथिला नगरपालिका—४ की रोशा बराइली पनि घाइते भएका छन् । उनको दाहिने खुट्टा भाँचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका ट्राफिक प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए ।
घरायसी विवादमा झगडा हुँदा तारा वादीका छोरा उवेश घाइते भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको खुल्न आएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको उपचार बर्दिबासको अस्पतालमा भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया