जनयुद्धका शहीद शेरमान कुँवरकी पत्नीको चित्कारः 'थाहा छ बाबा ? तिम्रा सहयोद्दा कमाण्डरहरु आलिसान महलमा सयन गरिरहेका छन्'
२२ भदौ । महान जनयुद्धका क्रममा २०६१ भदौ २० गते तत्कालिन शाही नेपाली सेनाले निर्ममतापूर्वक हत्या गरेका आफ्ना पतिको स्मरणमा नेकपा सिन्धुलीकी नेत्री तथा शहीद शेरमान कुँवर (विशाल) की पत्नी निरु दर्लामी भावुक बनेकी छिन् । उनले पतिको स्मरण गर्दै सामाजिक सञ्जालमा आफ्नो पति, अरु धेरै महान योद्धा र शहीदहरुले बोकेको सपना अझै पनि अधुरै रहेको उल्लेख गरेकी छिन् । तिनै शहीदका साथीहरु सत्ताको नवठेकेदार भएको बर्तमान सन्दर्भलाई स्मरण गर्दै नेकपा पूर्व सभासद्मसमेत रहेकी कुँवरले युद्धमा आफ्नो प्राणको आहुति दिने हजारौँ हजार साथीहरुलाई अझै पनि पार्टीले शहीदको सूचिमा नराखेको भन्दै पिडा व्यक्ति गरेकी छिन् । हेरौँ उनले सामाजिक सञ्जालमा लेखेको सन्देश जस्ताको तस्तैः
तिमीले छाडेर गएको पनि हिजो १४ बर्ष पूरा भयर १५ बर्ष लागेछ । तिम्रा ति साना साना नानीहरु पनि आज जवान भएर आफ्ना खुट्टामा उभिन सक्ने भईसके । यो खुसि सँगै वसेर साटासाट गर्ने अबसर त मिलेन नै, तर तिमीले वोकेको सपना धेरै अधुरा छन् । तिमीलाई थाहा पनि छैन, हिजो सँगै लडेका अनि तिमीले देख्दै नदेखेका तिम्रा साथीहरु आज सत्ताका नबठेकेदार बनेका छन् । विडम्बना तिमी लगायत जो युद्धमा आफ्नो प्राणको आहुति दिने हजाराँै हजार साथीहरुलाई शहीदको सूचिमा पनि समाबेश गर्न हिचकिचाइ रहेका छन् । कतै तिम्रो रगतको अवमुल्यन गर्ने परिपाटीको सुरुवात भइरहेको अनुभूति मैले गरिरहेकी छु ।
थाहा छ तिमिलाई तिम्रो नेता प्रचण्ड संघिय गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पनि भएनि त बाबा .. यो खुसियालिमा तिम्रो नेताले तिम्रो छोरा छोरीलाई अनि तिम्रा ती ८०–९० बर्षका बा,आमा लाई पुरै भरण पोषणको व्यबस्था गर्न त कता हो कता पुरै आफ्नो नाता कटुुम्वलाई सरकारी सेवामा चिल्लो कारमा भुईँ छाडेर उड्ने र गुड्ने ब्यबस्थाको ग्यारेण्टि गरे । साँच्चि भन्नु पर्दा तिमीसँगै लड्ने तिम्रा ती लडाकु सहयोद्दाहरु अयोग्य भनी विल्ला लगाए । तर थाहा छ ? बाबा, तिम्रा सहयोद्दा कमाण्डरहरु आलिसान महलमा सयन पनि गरिरहेका छन् ।
यो खुसि त तिमीले देख्न भोग्न परेन । र त तिमी आज महान भयौ भन्छन् । तर मलाई थाहा छैन तिम्रो महानतालाई भँजाएर अहिलेको गतिबिधि र नव सामान्तवादको उदय भईरहेको तितो यथार्थलाई नियाल्दा म धेरैपटक आँसुको नुनिलो घुट्को सँगै निदायकी छु ।
तिम्रो अभावमा कयौ रातहरु छर्लङ्ग बिताएकी छु । तर इतिहाँसले एकदिन समीक्षा गर्ने छ भन्ने आशा र अपेक्षामा दिनहरु विताइ रहेकी छु । आँशुको र रगतको मूल्य चर्को हुन्छ भन्ने गर्थ्यौ तिमीले सायद .....। तिमी लगायत तिमीसँगै उच्च शाहदत प्राप्त गर्ने आदरणीय दाइ क.कुमार लगाएत सिराहाको धन्छवारमा उच्च शाहदात प्राप्त गर्ने सम्पुर्ण शहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली ।।
प्रतिक्रिया