अफगानिस्तानमा मारिएका दुई नेपालीको शव ल्याउन नेकपा अध्यक्ष प्रचण्डको पहल

अफगानिस्तानमा मारिएका दुई नेपालीको शव ल्याउन नेकपा अध्यक्ष  प्रचण्डको पहल

चितवन, २२ भदौ । अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरेका छन् ।

तीजका दिन राति अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनको बम विस्फोटमा परी मृत्यु भएको थियो । मृतककी बहिनी सावित्री अधिकारीका अनुसार शुक्रवार पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी ती शव नेपाल ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका हुन् । 

यस विषयमा दाहालले चासो दिएर नियमितरुपमा ती निकायमा सम्पर्क गरिरहेको उनले जानकारी दिए। उनको टेलिफोनलगत्तै शनिवार उनीहरूको मृत्युको प्रमाणपत्र आएको र सोमवार साँझसम्ममा शव आइसक्ने जानकारी प्राप्त भएको र मृतकका परिवारले पाउन सक्ने क्षतिपूर्तिका विषयमा पनि पहल भइरहेको बहिनी अधिकारीले बताइन् । 

ग्रीन भिलेज क्याम्प विदेशी बस्ने भवन हो । ‘गार्दा वल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा उनीहरु कार्यरत थिए । पैँतालिस दिनको बिदा सकेर काबुल फर्किएको नवौं दिनमा थापाको आत्मघाती आतङ्कवादीको हमलामा परी मृत्यु भएको थियो । 
विगत १० वर्षदेखि क्यानेडियन सुरक्षा कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत थापा अन्तिम पटकका लागि भन्दै काबुल गएको उनकी श्रीमती लक्ष्मीदेवीले बताइन्। मृतक थापाका बाबु, आमा, श्रीमती र दुई छोरा छन् ।